+
+

संकटमा सत्ता गठबन्धन, रोकियो परराष्ट्रमन्त्रीको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते २२:५८

२० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनसँगै विपक्षी नेताहरुसँग भेटवार्ता गरेका छन् ।

आइतबार विहानै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । साँझ पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लिएर पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँग पनि भेट गरेका थिए ।

प्रधानमन्त्रीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् । नेताहरुले भेटवार्ता संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा केन्द्रित भएको दाबी गरेका छन् । ‘टीआरसी विधेयकका विषयमा कुराकानी भएको हो, जुन सकारात्मक छ’ माओवादीका एक नेताले भने ।

संसदको कानुन न्याय तथा मानवअधिकार समितिको आइतबार बसेको बैठकमा पनि टीआरसी विधेयकमै छलफल भएको थियो, जसमा एमालेले लचिलो रुपमा प्रस्तुत भयो । कानुनमन्त्री धनराज गुरुङले समय मागेका कारण आइतबार निर्णय हुन सकेन । भोलि सोमबार विहान बैठक बोलाइएको छ । यो बैठकले विधेयक अगाडि बढाउनसक्ने नेताहरुले दाबी गरेका छन् ।

तर प्रधानमन्त्रीले एमाले नेताहरुसँग गरिरहेको भेटवार्ता यत्तिमा मात्र सीमित नभएको नेताहरु बताउँछन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पछिल्ला दिनमा कांग्रेसले निकै गाह्रो बनाएको गुनासो गर्ने गरेका छन् ।

उनको असन्तुष्टि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छ । ‘अर्थमन्त्रीले केही पनि गर्न दिएनन् भन्ने उहाँको गुनासो छ’, स्रोतले भन्यो, ‘अर्थमा जो पठाएपनि हुन्छ समेत भन्नु भएको थियो, तर देउवाले महतलाई हटाउन चाहनु भएन ।’

सत्ता गठबन्धनका एक नेताका अनुसार मन्त्रिपरिषद् पुनगर्ठन गर्न कांग्रेसले सहमति दिए गठबन्धनलाई कामय राख्न सकिने उनको संकेत थियो । त्यो संकेत पाएपछि कांग्रेसका केही नेताले अर्थमन्त्रीका लागि लबिइङ पनि थालेका थिए ।

तर कांग्रेस सभापति देउवाले डा. महतलाई निरन्तरता दिने प्रष्ट संकेत गरे ।

त्यसपछि प्रधानमन्त्रीले राजनीतिक भेटवार्ता तीव्र बनाए । उनले आइतबार विहान एमाले अध्यक्ष ओली र रास्वपा सभापति रवि लामिछानेलाई भेटे । साँझ फेरि एमाले र माओवादी नेताहरुको बैठक भएको छ ।

गठबन्धनमै संकट देखेपछि कांग्रेस सभापति देउवा मन्त्री हेरफेरका लागि तयार भएका छन् । कांग्रेस संस्थापन नेताहरुले त्यो सन्देश प्रधानमन्त्री मात्र होइन, सत्ता गठबन्धनका अरु नेताहरुसम्म पुर्‍याएका छन् ।

आइतबार साँझ नै कांग्रेसबाट सरकारमा गएका परराष्ट्रमन्त्री एनपी साउदले फिनल्याण्ड भ्रमण स्थगित गरेका छन् । पूर्व निर्धारित तालिकाअनुसार उनी आइतबार साँझ त्यसतर्फ उड्नुपर्ने थियो । तर अन्तिम समयमा उनले आफ्नो भ्रमण स्थगित गरेका छन् ।

तर कांग्रेस र माओवादी गठबन्धनको संकट टरेको छैन । ‘राष्ट्रियसभा अध्यक्षको पनि बिषय छ’ माओवादी केन्द्रका एक नेता भन्छन्, ‘मन्त्रिपरिषद् पुनर्गठन गर्न कांग्रेस तयार भएपनि गठबन्धन के हुन्छ यसै भन्न सकिन्न ।’

कांग्रेसका एक नेताले पनि गठबन्धन संकटमा देखिएको बताए । ती नेताको दाबी छ, ‘भोलि नै गठबन्धनमा केही नभएपनि राष्ट्रियसभा निर्वाचनमा पुगेर केही हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?