+
+
प्रतिनिधि सभा बैठक :

आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ६:४७

२१ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ ।

गत सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए ।

लगत्तै सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी गराएका थिए । उनका अनुसार छलफल फागुन २१, २२, २३ र ३० गते तथा चैत १, २ र ४ गते हुने छ ।

सभामुख घिमिरेले छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित दलका पदाधिकारीले आफ्ना सांसदहरूको नाम बैठक बस्नुभन्दा एक घण्टा अगाडि नै टिपाउन भनेका थिए ।

साथै छलफलका क्रममा सांसदहरूले उठाएका विषयवस्तु टिपोट गर्न अर्थ मन्त्रालय र संघीय संसद् सचिवालयलाई निर्देशन पनि दिएका थिए ।

आजैको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) समिति सभापति किरण कुमार साहले पेश गर्ने सम्भावित कार्यसूची समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?