+
+

शान्ति प्रक्रिया टुंग्याउन नयाँ गठबन्धन बनाउनुपर्‍यो: माओवादी केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १२:२६

२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनुपरेको जनाएको छ । नयाँ गठबन्धनले वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउँदै ध्रुवीकरणको दिशामा लैजान मद्दत मिल्ने माओवादीको विश्वास छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले कांग्रेसहितको पुरानो गठबन्धन भत्काउँदै एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाउने निर्णय गरेको थियो ।

बैठकपछि नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘कयौं चुनौती त छन् तर त्यसको बाबजुद पनि नेपालको वामपन्थी आन्दोलनलाई फेरी नयाँ शिराबाट अगाडि बढाउनको निम्ति सरकारको प्रसंगलाई जोड्दै वामपन्थीहरुको ध्रुवीकरणको दिशामा लैजाने उद्देश्यसहित नयाँ समीकरण बनाउने निर्णय गर्यौं हामीले ।’

सचिव पौडेलले अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुरुप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको बताए । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, कांग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि कांग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको उनले बताए ।

उनले नयाँ गठबन्धनमार्फत् शान्ति प्रक्रिया टुंगो लगाउने र बजेटमार्फत् जनताका अपेक्षा पूरा गर्ने बताए । ‘नयाँ गठबन्धनतिर जाने, शान्ति प्रक्रिया टुंग्याउने, बजेट, नीति, कार्यक्रममार्फत जनताका डेलिभरीका कामहरुमा नयाँपन दिने,’ उनले भने, ‘त्यसको साथसाथै धर्म निरपेक्षता, समावेशी, समानुपातिकजस्ता विषयहरुको बारेमा जो नेपाली कांग्रेसभित्र छलफल चल्यो त्यसले संविधान प्रतिकुल हुने प्रकारका संकेत देखिएको र कोशी प्रदेशमा देखिएका कतिपय परिघटनाहरुको पनि समीक्षा गर्दै नयाँ गठबन्धनमा जाने निर्णय हामीले गर्यौं ।’

नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने नसमेट्ने तर एकीकृत समाजवादीलाई भने गठबन्धनमा ल्याउन प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?