+
+

कम्युनिष्ट पार्टीबीच तत्काल कार्यगत एकताको सम्भावना छ : झलनाथ खनाल

‘अहिले चाहिँ यो कार्यगत एकता हो हेर्नुस् । कार्यगत एकता आफैंमा एउटा महत्वपूर्ण स्टेप हो,’ खनालले भने, ‘त्यो स्टेपबाट अगाडि बढदै गएपछि कम्युनिष्टहरुको बीचमा, वामपन्थी समूहहरुको बीचमा पार्टी एकीकरणका सम्भावनाहरु बढ्छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १२:३४

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच तत्कालका लागि कार्यगत एकताको सम्भावना रहेको बताएका छन् । कार्यगत एकताबाट वामपन्थी पार्टीहरुबीच एकीकरणको सम्भावना पनि बढ्ने उनले विश्लेषण छ ।

विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि शक्तिशाली पार्टी नेकपा बने पनि पछि विभाजन भएको भन्दै उनले त्यसको सिंहावलोकन गर्न र विगतका कुराहरुको मत भिन्नतामा अल्झेर नबस्न आह्वान गरे ।

‘आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहावलोकनका विषयहरु हुन् । प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ । म त्यो सबैलाई आह्वान गर्छु,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले भनेका छन्, ‘कमजोरी सबैका भएका छन् । ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो । तर विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न ।’

वामपन्थी एकताको पक्षमा वकालत गर्दै खनालले नेकपा एमाले र एकीकृत समाजवादीका नेताहरु बीचको आग्रह पूर्वाग्रह अन्त्य गर्नुपर्ने समेत बताए ।

‘नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको बीचमा एकता कहिल्यै हुनुहँुदैन भन्ने छैन । नेताहरुमा भएका जुन आग्रह हुन्, पूर्वाग्रह हुन्, इगोहरु हुन् । यी चिजहरुलाई अन्त्य गर्नुपर्छ,’ खनालले भनेका छन्, ‘इगो, आग्रह र पूर्वाग्रह भनेको मार्क्सवाद होइन । त्यो निम्न पूँजीवाद हो । निम्न पूँजीवादलाई निर्ममतापूर्वक उखेलेर फ्याँक्ने हो भने हामीसँग एउटा निष्पक्ष क्रान्तिकारी दृष्टिकोण, मार्क्सवादी दृष्टिकोण मात्र बाँकी रहन्छ ।’

खनालले थप भनेका छन्, ‘अनि त्यो दृष्टिकोणले एकले अर्काको कमजोरीलाई राम्रोसँग देख्न सक्छन् । त्यसले एकले अर्कोलाई रचनात्मक ढंगले आलोचना गर्नसक्छ र त्यसलाई हटाउनका लागि आग्रह गर्नसक्छ । हरेक पार्टीले पनि त्यसलाई हटाउन कुनै गाह्रो हुँदैन । अनि त्यस्तो अवस्थामा पुगेर विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र ।’

तर एकता भनेको अंकमाल गरेरमात्र नहुने भन्दै खनालले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्नेमा जोड दिए । ती कुरा मिले एकता हुने उनको भनाइ छ । तर तत्काललाई भने कार्यगत एकता मात्र हुनसक्ने खनालले बताए ।

‘अहिले चाहिँ यो कार्यगत एकता हो हेर्नुस् । कार्यगत एकता आफैंमा एउटा महत्वपूर्ण स्टेप हो,’ खनालले भने, ‘त्यो स्टेपबाट अगाडि बढदै गएपछि कम्युनिष्टहरुको बीचमा, वामपन्थी समूहहरुको बीचमा पार्टी एकीकरणका सम्भावनाहरु बढ्छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?