+
+

मन्त्री बन्नासाथ अमेरिका भ्रमण तय

'ब्रिफिङ' सुरू नगर्दै विदेश भ्रमणको मोह

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते २३:५९

२४ फागुन, काठमाडौं । मन्त्री नियुक्त भएलगत्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी अमेरिका जाने भएकी छिन् । यसअघि तत्कालीन महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जाने तय भएको थियो ।

तर, सोमबार नयाँ मन्त्रीमण्डल गठन भएर आचार्य बाहिरिएपछि बुधबार चौधरीले नवनियुक्त महिला बालबालिकामन्त्रीका रुपमा पदभार ग्रहण गरेकी थिइन् । मन्त्रालय स्रोतका अनुसार चौधरी मन्त्रालयमा आउनासाथै यसअघिका मन्त्रीसहित सरकारी टोली अमेरिका जान गरिएको तयारीबारे जानकारी दिइएको थियो । मन्त्रालय  अन्तरगतको कामकाजको ‘ब्रिफिङ’ पनि लिइनसक्दै चौधरी अमेरिका जान तयार भएकी हुन् ।

मन्त्रालयमा जिम्मेवारी सम्हालेपछि करिब एक हप्तासम्म मन्त्रीहरुले चालु कार्यक्रमहरुको अवस्था, नीति, योजना, कार्यक्रमहरुको जानकारी लिने प्रचलन रहेको मन्त्रालय स्रोतले जानकारी दियो । मन्त्रालयगत कार्यजिम्मेवारी पूरा गर्न महत्वपूर्ण मानिने ‘ब्रिफिङ’ लिन सुरु नगर्दै मन्त्री चौधरीले अमेरिका जाने ‘अफर’लाई त्याग्न सकिनन् ।

बुधबार साँझ पदभार ग्रहण गरेलगत्तै उनले अमेरिका जान बिहीबार विहानको मन्त्रिपरिषद बैठकमा आफ्नो नाम मनोनयनका लागि प्रस्ताव पठाउन लगाएकी थिइन् । पहिलोपटक नयाँ मन्त्रीहरुसहित बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई मन्त्रीका रुपमा अमेरिका जान स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्राललयले जानकारी दिएको छ ।

मन्त्रीसहितको जम्बो टोली २६ फागुन (शनिबार) मा अमेरिका प्रस्थान गर्ने कार्यतालिका छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेकी हुन् ।

मन्त्रालयबाट सचिव सुमनराज अर्याल र २ सहसचिवसहित ७ जनाको टोली त्यता जाने तय छ भने महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना पनि प्रतिनिधिमण्डलमा छन् । राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाजकल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु पनि टोलीमा रहनेछन् ।

यो कार्यक्रममा सहभागी हुन विभिन्न अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु जान लागेका छन् । सरकारी टोली करिब २ हप्तापछि फर्किने र मन्त्री चौधरी र सचिव अर्याल भने एक हप्तापछि फर्किनेछन् ।
मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकास्थित दूतावासबाट ३ जना सहभागी हुनेछन् । मन्त्रालयका अधिकारीहरु मन्त्री र सचिवको मात्रै भ्रमण खर्च सरकारले ब्यहोर्ने दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?