+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अर्थमन्त्री पुनसँग निजी क्षेत्रको भेट, निरुत्साहित हुन नदिने प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १४:४५

२५ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेट गर्दै उनले उच्च मनोबल साथ ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

अर्थतन्त्रका विद्यमान समस्या समाधानमा निजी क्षेत्र, सरकार र जनताबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । उनले नीतिगत र व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको समेत बताए ।

धितोपत्र बजार, घरजग्गा कारोबार तथा सहकारीमा आएका समस्याका कारण निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिरेको उल्लेख गर्दै पुनले समस्या समाधानका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने विश्वास दिलाए ।

अर्थतन्त्रमा परेको दबाबमा आन्तरिक र वाह्य दुवै कारणले भूमिका खेलेको भन्दै मन्त्री पुनले २०७२ सालको विनाशकारी भूकम्म र कोरोना महामारीपछि तंग्रिँदै गरेको अर्थतन्त्र रुस–युक्रेन र इजरायल–हमास युद्धका कारण फेरि दबाबमा परेको बताए ।

‘उद्योगी–व्यवसायी र समग्र निजी क्षेत्रलाई निरुत्साहित हुन दिन्नँ । यो मेरो जिम्मेवारी हो,’ पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी नीतिगत व्यवस्था र व्यावहारिक सहजीकरण गर्छ । सरकार, निजी क्षेत्र र जनताको हातेमालोमा अर्थतन्त्रका समस्या समाधान भएर जान्छ भन्ने आत्मविश्वास साथ १२ वर्षपछि दोस्रोेपटक मन्त्रालय आएको छु ।’

पुनले कानुन पूर्णपालना गरेर व्यवसाय गर्न निजी क्षेत्रलाई अपिल गर्दै गल्ती नगर्ने कोही पनि सरकार र नियामक निकायसँग तर्सिनु नपर्ने बताए ।

तर, नियामक निकायले पनि सहजीकरण गर्नुपर्नेमा अनावश्यक समस्या सिर्जना गर्न नहुने उनको भनाइ थियो । एउटा क्षेत्रका कसैले गल्ती गर्दैमा त्योे क्षेत्रका सबैलाई उत्तिकै दोषी देख्ने प्रवृत्ति समाजमा देखापर्न थालेको चर्चा गर्दै पुनले सबै मिलेर त्यस्तो प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

‘एउटा राजनीतिज्ञले गल्ती गर्दा राजनीतिमा लागेका सबै खराब, एउटा व्यवसायीले गल्ती गर्दा व्यवसायीजति सबै खराब, सुरक्षा निकायको एउटा व्यक्तिले गल्ती गर्दा सिंगो सुरक्षा संयन्त्र नै खराब भन्नेजस्तो प्रवृत्ति समाजमा देखिन थालेको छ,’ पुनले भने, ‘आफूमाथि सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ सबैले दिनुपर्छ । तर, कुनै एक जनाले गल्ती गर्दा पूरै सेक्टर नै गलत भन्ने प्रवृत्ति सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।’

मन्त्री पुनले ‘पहिला सुन्ने, अनि थुन्ने’ भन्ने उद्योगी–व्यवसायीका मागमा आफ्नो समर्थन रहेको स्पष्ट पारे । राज्य नागरिकको अभिभावक भएकाले सबै नागरिकले आफू, परिवार र निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति गर्न पाउनुपर्नेमा आफू अडिग रहने पनि पुनले बताए ।

राज्य जनताको अभिभावक भएकाले एउटा सेक्टरको कसैले गल्ती गर्दैमा त्यस सेक्टरका सबैलाई ठिक पार्छु भनेर तर्साउन नमिल्ने तर्क उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?