+
+
सिंहदरबार :

मन्त्रीलाई बधाई थाप्नै भ्याई–नभ्याई

सिंहदरबारमा मिठाइ र खादामाला लिएका कार्यकर्ताको भीड

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० फागुन २७ गते २३:५९

२७ फागुन, काठमाडौं । आइतबार मध्यान्ह सिंहदरबारस्थित शहरी विकास मन्त्रालय बाहिर मान्छेहरुको बाक्लो चहलपहल थियो । दोस्रो तलामा रहेको शहरी विकास मन्त्रीको कार्यकक्ष पुग्ने भर्‍याङमा चढ्ने र ओर्लिनेको घुइँचो थियो ।

शुक्रबार शहरी विकास मन्त्री धनबहादुर बुढाको कार्यकक्षसँगै कोठाका कुर्सी भरिभराउ थिए । मन्त्रीका सचिवालयमा रहेकाहरुलाई एक मिनेट फुर्सद थिएन । उनीहरु समूह समूह छुट्याएर मन्त्री भेटाउन भित्र पठाउने र ‘धेरै समय नलिऔं’ भन्दै बाहिर निकाल्ने काममा ब्यस्त थिए । मन्त्री भेट्न आएकाहरु कसैको हातमा फूलका गुच्छा थिए भने कसैसँग खादा र माला ।

मन्त्री बुढा कार्यकक्षमा कुर्सीमै बस्नै पाएका थिएनन् । भेट्न आएकाहरुबाट खादा माला पहिरिएपछि फोटो खिच्दै बधाई लिइरहेका थिए । यत्तिकैमा एक महिला र पुरुष पार्टी कार्यकर्ताको पालो आयो । महिलाले बधाई दिएपछि एउटा निवेदनमा तोक लगाउन आग्रह गरिन् ।

मन्त्री बुढा सरुमा अनकनाए, ‘कामै सुरु गर्न पाएको छैन मैले, पछि हेर्छु, ।’ भन्दै पन्छिन खोजे । तर, उनले सचिवालयमा दर्ता गरेर जान्छु भनेर फेरि आग्रह गरिन् ।

मन्त्रीले निवेदन समातेर तोक लगाइदिए । ‘तपाईंकै पत्रमा हो ल मैले मन्त्री भएपछि पहिलोपटक तोक लगाएको’, मन्त्री बुढाले भने । कार्यकर्ताहरु दङ्ग गर्दै बिदा भए । मन्त्रीलाई कसैले पार्टीको फलानो नेता/कार्याकर्ताको आफन्त भन्दै परिचय दिएर खादा लगाइदिंदै थिए भने कसैले पहिला सँगै काम गरेको स्मरण गराउँदै थिए । थप गफगाफ गर्न खोज्नेहरुलाई मन्त्री बुढा पछि आउनुहोला भन्दै बिदा गरिरहेका थिए ।

मन्त्री बुढालाई भेट्ने लाममा पार्टीका नेता कार्यकर्ता, आफन्त, ठेकेदार, पत्रकार, कर्मचारीदेखि डोल्पाली गाउँलेसम्म लामबद्ध थिए । त्यही लाममा लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा समेत मिसिएका थिए ।

२३ फागुनमा १७ मन्त्रालयमा नयाँ मन्त्री भित्रिएका थिए । आइतबार स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयमा पनि मन्त्रीहरु आए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाहेक सबैमा नयाँ मन्त्रीहरु छन् ।

तर, मन्त्रालयमा आएको चार दिनसम्म मिठाइ र खादामाला लिएर बधाई दिन आउनेहरुको उत्तिकै घुइँचो छ । नेता, कार्यकर्ता र आफन्तहरुलाई मन्त्रीले ‘नाइँ’ भन्न सकेका छैनन् । भेटघाटमै बढी समय बिताएका मन्त्रीहरुले नियमित काम सुरु गर्न सकेका छैनन् ।

तस्वीरः सन्तोष बिष्ट

आइतबार दिउँसो अर्थमन्त्रालय अगाडि मन्त्री भेट्न आउनेहरुको उस्तै चहलपहल थियो । वर्षमान पुन बैठकमा व्यस्त थिए, तर उनलाई बधाई दिन आउनेहरु तीनवटा कोठामा भरिभराउ थिए । मान्छे धेरै आएपछि मन्त्रालयमा सुरक्षा गार्डले मन्त्रीको कक्षतर्फ भिड नगर्न र अरु कक्षतिर गएर बस्न भनिरहेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि त्यस्तै दृश्य थियो । पार्टी कार्यकर्तासँगै यातायात व्यवसायी र निर्माण व्यवसायीहरु लाम लागेर उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भेट्न पर्खिरहेका थिए । कसैलाई बैठक कक्षमा बस्न भनिएको थियो भने कोही सचिवालयकै कक्षमा पर्खिरहेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयसिंह स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला लगायत विभिन्न यातायात कम्पनीका सञ्चालकहरुले एकसाथ मन्त्री महासेठलाई भेटे । त्यही मौकामा उनीहरुले विगतमा नवीकरण नगर्ने निर्णय भएका यातायात समितिहरु ब्यूँताउनुपर्नेसहितका विभिन्न माग राख्दै ज्ञापनपत्र समेत बुझाए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि मन्त्री भानुभक्त जोशी भेटघाटमा व्यस्त हुँदा बाहिर भेट्न आएकाहरु प्रतिक्षामा देखिन्थे ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भेट्न आएकाहरु कार्यकक्षबाहिरको कक्षमा खादामाला हातमै लिएर कुरिरहकै थिए ।

परराष्ट्रमन्त्री नारायणकजी श्रेष्ठलाई भेट्न पुग्नेहरु पनि मन्त्री व्यस्त भएको भन्दै निराश हुँदै मन्त्रालय बाहिर जम्मा भइरहेका थिए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी मन्त्रालयमा नै नभेटिएपछि बधाई दिन पुगेकाहरु निराश भएर फर्किरहेका थिए ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको कार्यकक्ष बाहिर भने कर्मचारीबाहेक कोही देखिएनन् । मन्त्री श्रेष्ठ पनि बैठकमा व्यस्त थिइन् ।

वन तथा वातावरण मन्त्रालयमा भने छुट्टै रौनक थियो । आइतबार मात्रै शपथग्रहण गरेका वनमन्त्री नवलकिशोर साह सुडीको कार्यकक्षमात्रै हैन, उनका सचिवालयले प्रयोग गर्ने कक्षहरु समेत बधाई दिन आउनेहरुले भरिएका थिए ।

पालैपालो मन्त्री भेट्दै फोटो खिचाउने क्रममा मात्रै चलिरहेको थिएन, मन्त्रीको सचिवालयमा खादा माला बोकेर आएकाहरुलाई मिठाइका प्याकेट समेत बाँडिएको थियो ।

मन्त्रीको कार्यकक्षमै पनि बसेकाहरु ‘बधाई छ मन्त्रीज्यू’ भन्दै खाजाका प्याकेट खोलिरहेका थिए । मन्त्री सुडी भने बधाई दिन आएकहरुबाट खादा माला थाप्न उठ्दै बस्दै गरिरहेका थिए ।

वन मन्त्रालयका एक अधिकारी अझै एकहप्तासम्म सिंहदरबारमा यस्तो भिडभाड रहिरहने बताउँछन् । ‘उहाँ त आज मात्रै मन्त्रालयमा आउनुभएको हो, काठमाडौंमा भएका मन्त्रीज्यूका नेता कार्यकर्ता सबै आइपुग्न नै पाएका छैनन्’,उनी भन्छन्, ‘यस्तो बेलामा मन्त्रीका गाउँबाट समेत मान्छेहरु आउँछन्, यहाँ २–४ दिन त होहल्ला मात्रै हुन्छ ।’

 
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?