२८ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले सोमबार नागरिक उन्मुक्ति पार्टी (नउपा)का प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका शाहले शुक्रबार मात्र नाउपाका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए ।
नाउपाका कैलाश चौधरीलाई राज्यमन्त्रीबाट हटाएका उनले घनश्याम चौधरीलाई आर्थिक मामिला र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए ।
नाउपाकै रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । सोमबार लक्ष्मणकिशोरले मन्त्रीको सपथ लिएपछि नाउपाका ७ मध्ये ५ सांसद सरकारमा पुगेका छन् ।
कैलाश चौधरी र टीका थापा मात्र सरकारबाहिर छन् । त्यसमा पनि कैलाश त शुक्रबारसम्म राज्यमन्त्री थिए ।
नाउपाका एकपछि अर्को सांसदलाई मन्त्री बनाएका मुख्यमन्त्री शाहले बहुमत जुटाउन छलफल भइरहेको बताएका छन् ।
राप्रपाकी खेमादेवी विष्ट, स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीलाई पनि मन्त्री नियुक्त गर्ने उनको तयारी छ । ‘उहाँहरु (राप्रपा र स्वतन्त्र) सँग संवाद भइरहेको छ । हामीलाई समर्थन गर्नुहुन्छ भन्नेमा विश्वस्त छौं’, शाहले भने, ‘चाँडै सरकारले विश्वासको मत पाउँछ ।’
२१ फागुनमा केन्द्रमा सरकारको नेतृत्व गरेको माओवादीले एमालेसँग नयाँ गठबन्धन बनाएसँगै मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादीका तीन जना मन्त्रीलाई बर्खास्त गरेका थिए । एकीकृत समाजवादीले पनि मन्त्रीलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाह बहुमत जुटाउने कसरतमा छन् ।
५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८ र नाउपाका ७ सांसद छन् । राप्रपा र एक स्वतन्त्र सांसदको समर्थन जुटाउने हो भने मुख्यमन्त्री शाहलाई टुप्लुक्क (२७) मत पुग्छ ।
नाउपाको विवाद पनि मिल्यो !
शुक्रबार मन्त्री हेरफेरसँग नाउपामा विवाद देखिएको थियो । संरक्षकको भूमिकामा रहेका रेशम चौधरी मुख्यमन्त्री शाहका पक्षमा उभिए ।
उनकै जोडबलमा मन्त्री हेरफेर भएको थियो । तर अध्यक्ष रञ्जिता चौधरीले सल्लाह नगरी सरकारमा गएको भन्दै फिर्ता हुन निर्देशन दिएपछि नाउपा मात्र होइन, मुख्यमन्त्री शाह समेत अठ्यारोमा परेका थिए ।
तर सोमबार लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेसँगै नाउपाको विवाद पनि मिलेको नेताहरुको दाबी छ ।
मन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै चौधरीले पार्टीभित्र भएको समझदारीअनुसार आफू सरकारमा गएको बताए ।
‘पार्टीभित्र समझदारी कायम भएर नै अहिलेको सरकारलाई सहयोग गर्नका लागि यो निर्णय गरेका हौं’ उनले भने, ‘सतहमा देखिएको विवादलाई राजनीतिक रुपमै समाधान गर्ने प्रयास गरेका छौं ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4