+
+
विचार :

कांग्रेसले पाएको ऐतिहासिक अवसर 

आजसम्म गरिएको राजनीतिक लसपसबाट आफूलाई मुक्त राख्नुपर्छ। बारम्बार सत्तामा चोबलिंदै आहाल बसेर निस्किएको गुजराती भैंसी जस्तो भएको कांग्रेसका लागि आफूलाई धोइपखाली गर्ने सुअवसर हो यो।  

गुरुराज घिमिरे  गुरुराज घिमिरे 
२०८० फागुन २९ गते ९:०३

५५ वर्षअघि सन् १९६९ जुलाई २० मा चन्द्रमाको सतहमा प्रथम पटक अवतरण भएको चन्द्रयान एपोलो ११ मा तीनजना यात्री थिए, बज एल्ड्रिन, निल आर्मस्ट्रङ र माइकल कोलिन्स। जब यान अवतरण भयो, तीनै जनालाई चन्द्रमाको सतहमा सबभन्दा पहिले उत्रिने अर्थात् पाइला राख्ने मौका थियो र संसारमा पहिलो पाइला राख्ने यात्री बन्ने दुर्लभ अवसर। यो अवसर निलले छोपे र विश्व विख्यात भए। विश्वमा आज उनको छुट्टै नाम छ।

निलले चन्द्रमाको सतहमा पाइला टेक्दा के होला, कसो होला, चिन्ता गरेनन्, जोखिम उठाए र ख्याति कमाए। निलपछि मात्र सँगै यात्रा गरेका र उत्तिकै योगदान भएका बज र कोलिन्सको नाम लिइन्छ। यसबाट के स्पष्ट हुन्छ भने समयले सबैलाई मौका दिन्छ तर हामीले त्यो थाहा पाउन सक्नुपर्छ।

दुनियाँमा उच्च चेतना भएका व्यक्ति, समाज, राष्ट्र वा संस्थाहरूले आफ्नो अगाडि मौका उपलब्ध भएको वा आएको थाहा पाए र त्यसको सदुपयोग गरे। परिणामत: उनीहरूले आफूलाई अरुभन्दा माथि उठाए, धन–यश कमाए, इतिहासमा नाममा लेखाए। यो प्रसंग किन उठाइएको हो भने नेपाली राजनीतिको सर्वाधिक ज्येष्ठ प्रजातान्त्रिक दल नेपाली कांग्रेसलाई इतिहासले पुनः सुनौलो मौका दिएको छ। यस्तो मौका सितिमिति आउँदैन।

नेपालको राजनीतिमा आफूलाई अब्बल साबित गर्न, पुराना गल्ती सच्याउन, पार्टीलाई संस्थागत रूपमा चलाउन र आफ्नो सम्पूर्ण क्षमता र शक्ति देश, जनता र लोकतन्त्रको पक्षमा लगाउन यस्ता मौका विरलै आउँछन्। बारम्बार सत्तामा चोबलिंदै आहाल बसेर निस्किएको गुजराती भैंसी जस्तो भएको कांग्रेसका लागि आफूलाई धोइपखाली गर्ने सुअवसर हो यो। अझ राजनीतिमा दार्शनिक जात, गोत्र केही पनि नमिल्ने दलसँग अङ्कमाल गरेर वर्णसंकर हुन लागेको कांग्रेसले आफ्नै मौलिक स्वरूपमा एक्लै हिंड्न र उभिन पाउनु खुशीको अपूर्व क्षण हो।

४० वर्ष उमेर पुगेको चिलले थप ४० वर्ष बाँच्न डाँडामा गएर चट्टानमा रगतपच्छे भई चुच्चो उद्याए जस्तो आफ्नो सुदूर भविष्यका लागि अब कांग्रेसले एक्लै उभिएर चुच्चो उद्याउनुपर्छ। र आजसम्म गरिएको राजनीतिक लसपसबाट आफूलाई मुक्त राख्नुपर्छ।

गत संसदीय निर्वाचनमा निर्मित दलीय गठबन्धन दोस्रोपटक भत्किएर भर्खरै एमाले सहितको नयाँ गठबन्धनको सरकार बनेको छ। पहिलोपटक भत्किंदा राष्ट्रपति निर्वाचनताका पुनः ब्युँताइएको थियो र यो लगभग ११ महिना चल्यो। र अन्ततः यो भङ्ग भएको छ।

गठबन्धनमा सामेल दलभित्र ठूलो द्वन्द्व नदेखिइकनै र बाहिर ज्यादा खलबल नभइकनै सत्ता समीकरण फेरिएको छ। तर यसको कसरत महिनौं पुरानो थियो र छापामार शैलीमा हुँदैथियो, जसको बारेमा जानकारहरूले निकै पहिले नै अनुमान र संकेत गरेका थिए। गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले यसको छनकसम्म नपाउनु निकै उदेकलाग्दो छ। यसलाई कांग्रेसको हुस्सुपना वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गरिएको नजरअन्दाज मान्न सकिन्छ।

यस खेलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तहको कसरत पर्याप्त देखिन्छ। यसपटक बडो होसियारी साथ काम फत्ते गरेर परिणाम निकालिएको छ। राजनीतिमा यस्तो होसियारीको छुट्टै महत्त्व रहन्छ। एउटै सरकारमा रहेर पनि गठबन्धन तोडिंदासम्म बेखबर रहनु असली बुद्धुपना नै हो। कांग्रेस पहिले पनि पटक–पटक प्रचण्डको छलछाममा परिसकेको हो। यसपटक पनि त्यसको हेक्का राखेको देखिएन।

नेपाल र दक्षिण एशियाली राजनीतिमा यस्ता प्रपञ्चहरूलाई सामान्य मानिने प्रचलन र परम्परा नै छ। कांग्रेसले कम्युनिस्ट पार्टीको लामो संगत गरेपछि धेरै कुरा बुझ्दै गएको हुनुपर्छ भन्ने विश्वास यसपटक पुनः टुटेको छ। अब त झुक्किन धेरै बाँकी नहुनुपर्ने हो भन्ने लागेको हो तर होइन रहेछ। त्यसैले फेरि एकपटक कांग्रेस नराम्ररी झुक्किएको छ। कहिलेकाहीं यस्ता राजनीतिक घटनाहरूले गम्भीर पाठ सिकाउँछ र भविष्यमा काम पनि लाग्छ।

यस पङ्तिकारसँग लगभग तीन महिनाअघि एक सार्वजनिक कार्यक्रममा भेट हुँदा एमाले र माओवादीका दोस्रो तहका नेताहरूले वर्षदिन भित्रै गठबन्धन तोडिने संकेत गरेका थिए। पार्टीका सबै नेता, कार्यकर्तासँग खुला अन्तरक्रिया र समान व्यवहार नगर्ने अनुदार नेतृत्वका कारण कांग्रेसका सदस्यहरूले आफूले प्राप्त सूचना सुनाउने ठाउँ नै थिएन। कहाँ सुनाउने र कसलाई सुनाउने ? तथापि अहिले जुन राजनीतिक परिस्थिति सृजना भएको छ, नेपाली राजनीतिमा यसको गम्भीर तथा दूरगामी प्रभाव पर्नेछ। हामीले जान्दा र सक्दा बिग्रिएको राजनीति सही बाटोमा फर्कन्छ, आत्मविश्वास गुमाएर बस्दा अब नेपाल अँध्यारो सुरुङमा प्रवेश गर्छ।

आम नेपाली जनता यतिबेला देश र जनताप्रति समर्पण भएको गतिलो र भरपर्दो लोकतान्त्रिक नेतृत्वको खोजीमा छन्, जसको आपूर्ति कांग्रेसबाट मात्र सम्भव छ। यस वास्तविकतालाई कांग्रेसले आत्मसात् गर्न नसक्ने हो भने जनताले अन्यत्र आँखा लगाउने छन्।

नेपालको इतिहासलाई २००७ सालको ऐतिहासिक जनक्रान्तिले अद्वितीय मोड दिएको थियो। जसको नेतृत्व कांग्रेसले गरेको हो। तत्पश्चात् बागमतीमा धेरै पानी बगिसकेको छ। त्यसयताको झण्डै साढे सात दशक लामो कालखण्ड राजनीतिक उतारचढावले भरिएको छ। राजनीतिक अस्थिरता, निरंकुशता, प्रजातन्त्र, तानाशाही, हिंसा, सशस्त्र द्वन्द्व जस्ता सबै प्रकारका कटु अनुभव हामीसँग छन्। राजा र राजनीतिक दलहरूका बीच चलेको द्वन्द्वले देशको उन्नति रोकिएको तितो अनुभव पनि छ। जननिर्वाचित सरकारलाई अपदस्थ गरिएका राजनीतिक घटनालाई हामीले बिर्सेका छैनौं।

लामो संघर्षबाट प्राप्त प्रजातन्त्रलाई दलहरूभित्रको आन्तरिक द्वन्द्वले सफल हुन नदिएको घटना हाम्रो स्मृतिपटलमा ताजै छ। निर्वाचनमा प्राप्त जनादेशलाई दुई–दुई पटक भत्काउने हामी नै हौं। न राजाले देश चलाउन जाने, न हामीले जान्यौं, मुलुक र जनताको बहुमूल्य समय त्यसै खेर गयो।

शासक बन्ने लालसा भएको व्यक्तिसँग देश चलाउने ढंग हुनुपर्थ्यो। महाथिर र ली क्वानलाई तानाशाहको आरोप नलागेको होइन। पार्क चुङ त तानाशाह नै हुन्। तर देश त बनाए। आज त्यहाँका जनता उनीहरूलाई पूजा गर्छन्। त्यसैगरी चिनियाँ जनता देङ सियाओ पिङलाई आधुनिक चीनका निर्माता मान्छन्। देश उँभो लगाउन उत्तम राजनीतिक प्रणाली पनि नचाहिंदोरहेछ। गतिलो आर्थिक प्रणाली भए त पुग्दोरहेछ। तसर्थ यस विषयमा कांग्रेसले गम्भीर बन्नुपर्छ।

पार्टीभित्र गुट चलाएर प्राविधिक नेता बन्न त सकिएला तर देशको सच्चा नेता बन्न सकिंदैन। दुई चारपटक चुनाव जित्दैमा, ठूलो पार्टीको ठूलो पदमा पुग्दैमा नेतृत्व कुशलता, योग्यता, अठोट, कार्ययोजना र इमान नभइकन देश त नबन्दो रहेछ तथा जनताले सुख त नपाउँदा रहेछन्।

यसको ‘रियलाइजेशन’ अर्थात् आत्मबोध कहिले हुने? जबसम्म अवसरको सदुपयोग गर्न नसकेका नेताबाट हामीले गर्न जानेनछौं या सकेनछौं भन्ने आत्मबोध हुँदैन, तबसम्म सुधारको गुञ्जायस सम्भव छैन।

सुदृढ आन्तरिक एकता 

कांग्रेस गहिरो निद्राबाट अविलम्ब ब्युँझनुपर्छ। नेपालको ऐतिहासिक विकासक्रममा उत्तरआधुनिक नेपालको सबैभन्दा विश्वसनीय राजनीतिक दल नेपाली कांग्रेसले आफूलाई चिन्न नसक्दा वर्तमान राजनीतिक दुर्दशामा हामी पुगेका हौं। नेपाली जनताले कांग्रेस बाहेक कसैलाई पनि आजसम्म बहुमत दिएका छैनन्। २०१५ सालमा दुई तिहाइ, २०४८ र २०५६ मा बहुमत प्राप्त दल कांग्रेस मात्र हो।

२०७० र २०७९ को आमनिर्वाचनमा सबैभन्दा ठूलो दल कांग्रेस नै बन्यो। यो जनताको अपूर्व विश्वास हो। २०७९ मा मात्र गठबन्धन भएको हो, त्यसअघि थिएन। गठबन्धन नहुँदा त दुई तिहाइ र बहुमत प्राप्त गरेको दलले २०७० मा पनि गठबन्धन विना नै सबैभन्दा ठूलो दलको हैसियत बनाएको हो। त्यसैले बहुमत ल्याउन र ठूलो दल बन्न गठबन्धन चाहिंदैन। गठबन्धन विना चुनाव नलड्ने मानसिकता आत्मविश्वास गुमाएको लक्षण हो।

निर्वाचन प्रणाली बदल्नुपर्ला तर मौजुदा निर्वाचन प्रणालीमा बहुमत आउनै सक्तैन भन्ने कुरा तर्कसंगत छैन। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १०० स्थान र समानुपातिकतर्फ ३८ स्थान सहजै ल्याउन सकिन्छ। यसका लागि जनविश्वास बढाउनुपर्छ। के गर्दा जनविश्वास बढ्छ भन्ने थाहा पाउनुपर्छ। यसका लागि राज्यको भूमिकामा जाँदा जनउत्तरदायी बन्न सक्नुपर्छ।

राजनीतिको लक्ष्य नै जनताको सुख हो। त्यसैले दलका खास नेताहरूलाई आफू चुनाव जित्न र सत्तामा पुग्न मात्र गठबन्धन चाहिएको हो भन्ने कुरामा दुईमत छैन। कथंकदाचित चुनावमा बहुमत नआएको खण्डमा सत्तामा जानका लागि संसद्मा बहुमतको समीकरण बनाउँदा भइहाल्छ। तसर्थ विगतमा अख्तियार गरेको नीति र बाटो कांग्रेसका लागि आत्मघाती साबित भएको छ। र, अबका चुनावमा कांग्रेस उच्च आत्मविश्वासका साथ एक्लै उभिनुपर्छ।

यसका लागि पार्टीभित्र पारस्परिक विश्वास र सुदृढ एकता हुनुपर्छ। भाँडिएको घरको जस्तो दलको आन्तरिक अवस्था हुनुहुँदैन। सुदृढ आन्तरिक व्यवस्थापनको सूत्र भनेकै पार्टी सदस्यलाई न्याय र उचित मूल्यांकन हो। कुनै पनि संस्थाले आफ्ना सदस्यलाई न्यायपूर्ण व्यवहार गर्दैन र मिहिनेत एवं क्षमताको कदर गर्दै योगदानको आधारमा भूमिकाको वितरण गर्दैन भने त्यो संस्थाको दिगो भविष्य हुँदैन। कांग्रेसमा अहिलेको प्रमुख समस्या यही हो।

गल्ती कमजोरी नभएको संस्था या व्यक्ति हुँदैन। आजसम्म प्राप्त अवसरका आधारमा मूल्यांकन गर्दा कांग्रेसबाट राम्रा काम र कमजोरी दुवै भएका छन्। यसको वस्तुनिष्ठ मूल्यांकन गर्नुपर्छ। आजभन्दा पहिले भएका कमजोरी स्वीकार्दै जनसमक्ष कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुपर्दछ। इतिहासको पाठशालामा सिकेका, समयका घटनाक्रमले सिकाएका र युगीन चेतनाले निर्देश गरेका पाठ बमोजिम अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो। लाग्छ, अहिले यो समय आएको छ। नियतिले कांग्रेसका लागि मूलढोका खोलेर अवसर उपलब्ध गराएको छ।

नेतृत्व हस्तान्तरण र सदस्यहरूको व्यवस्थापन

आजैदेखि र अहिल्यैबाट गठबन्धनको धङधङीबाट मुक्त भएर २०८४ को यात्रा तय गरौं, हामीलाई समयले पर्खंदैन। निल आर्मस्ट्रङ दोधारमा परेका भए अन्तरिक्ष यात्राको इतिहासमा उनको भन्दा पहिला अरुकै नाम लेखिने थियो।

लोकतान्त्रिक विधि, इमान र राष्ट्रिय आवश्यकता बमोजिम कुनै पनि संस्थाले नेतृत्व हस्तान्तरण गर्दै लैजान्छ। कांग्रेसले नेतृत्व हस्तान्तरणको विश्वसनीय पद्धति बसाल्नुपर्छ। ऊर्जाशील र पुस्तागत एवं प्रतिभासम्पन्न नेतृत्व समयको आवश्यकता हो। पार्टीले भोलिको नेता को होला भन्ने अन्योल राख्नुहुँदैन। मूलतः यस विषयलाई सुझबुझपूर्वक र उत्साहजनक रूपले अघि बढाउने समय आएको छ। प्रतिपक्षी दलको हैसियतमा रहेका बेला पार्टीको आन्तरिक जीवनलाई एकपल्ट सूक्ष्म रूपले झाँक्नुपर्दछ। कमजोरी कहाँ छ ? संरचनामा, नेतृत्व चयन प्रक्रियामा, उम्मेदवार छान्ने प्रणालीमा, मूल्यांकन प्रणालीमा र अरु के–केमा सुधार आवश्यक छ? निर्क्योलमा पुगिहाल्नुपर्छ।

पार्टीको अव्यवस्था, निर्वाचन पद्धति र समग्र सुधारका निम्ति आवश्यक परे विदेशी विशेषज्ञ समेत झिकाउनुपर्दछ। पार्टीभित्रका यस विषयमा रुचि राख्ने व्यक्तिहरूलाई ६ महिनाका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययनका लागि पठाउन सकिन्छ। जसले नेपाल जस्तै लोकतान्त्रिक देशका राजनीतिक दलहरूको आन्तरिक अवस्थाको अध्ययन र सञ्चालनको विधि एवं आमनिर्वाचनमा सहभागिताको पद्धति अध्ययन गरी नेपाल फर्केर तदनुसार योगदान पुर्‍याउन सकोस्।

सबैभन्दा बढी त दलको केन्द्रीय कार्यालय व्यवस्थित हुनुपर्छ। कार्यालयमा पार्टीको गुट समाउन जान्ने व्यक्ति होइन युगानुकूल कार्यालय सञ्चालन गर्न सक्ने योग्यतम व्यक्ति खुला प्रतिस्पर्धाबाट छान्नुपर्छ र समय–समयमा स्तरोन्नतिका गुणस्तरीय तालिम दिनुपर्छ।

जस्तो कि कार्यालयको सूचना अधिकारीले दैनिक रूपमा राजनीतिसँग सम्बन्धित सूचनाहरू कसरी प्राप्त गर्ने, त्यसका लागि आफ्नो निजी सांगठनिक माध्यम के, सार्वजनिक माध्यम के, त्यसको अध्ययन र प्रतिक्रिया के? स्पष्ट हुनुपर्छ। तर आजसम्म न कुनै छलफल, न अध्ययन, न विश्लेषण केही पनि हुँदैन, किन ? के पार्टीभित्र योग्य र गतिला व्यक्ति छैनन् ? अहिलेसम्म यसको पद्धति नै शास्त्रीय छ र नेताले मनोगत रूपमा बुझ्ने, व्याख्या गर्ने र सम्प्रेषण गर्ने परम्परा छ। यसबाट दललाई ठूलो क्षति पुगेको छ।

अर्को कुरा दलका सदस्यहरूको व्यवस्थापन नै छैन किन? तीन करोड जनसंख्या भएको देशमा कति संख्यालाई पार्टीको क्रियाशील सदस्य बनाउने ? यसको सीमा कति ? अन्धाधुन्ध सदस्य बनाउने तर व्यवस्थापन नगर्ने, अनि भाँडभैलो नभएर के हुन्छ? मिहिनेती, योग्य, निष्ठावान् र क्रियाशील सदस्यहरूलाई किनारामा धकेलेर अर्थात् योग्यतन्त्रलाई निस्तेज गरेर हिंड्दा चाप्लुसबाज, कामचोर र दास मनोवृत्ति भएका सदस्यको भरमा अपेक्षित सफलता प्राप्त गर्न सकिंदैन भन्ने कुरा पार्टी नेतृत्वले बुझ्ने कि नबुझ्ने?

अनि आफू कमजोर रहेको महसुस भएपछि गठबन्धनको आवश्यकता महसुस गर्ने र विचार, सिद्धान्त केही नमिल्ने दलसँग तालमेल गरेर केही स्थान सुरक्षित गर्ने प्रवृत्तिले दलीय चरित्रलाई कहाँ पुर्‍याउँछ? कांग्रेसका लागि कुनै राजनीतिक दल शत्रु होइन तर गैर–लोकतान्त्रिक चरित्र राष्ट्र र जनताको हितमा छैन भन्ने विषयमा कांग्रेस स्पष्ट हुने कि नहुने?

जोखिम उठाउने क्षमता 

सपना, योजना, अठोट र अग्रसरताले कुनै पनि व्यक्ति वा संस्थालाई सफल बनाउँछ। यसैका उदाहरण हुन् भारतीय राष्ट्रिय कंग्रेस र भाजपा। आजादीको संघर्षमा गान्धी, नेहरूको नेतृत्वले सिंगो भारतलाई स्वतन्त्रताको मार्गमा अग्रसर गरायो र अन्ततः सफलता दिलायो। अहिले मोदीको नेतृत्वमा भारत तीव्र गतिमा अघि बढिरहेको छ। जर्ज वाशिंगटन, थोमस जेफर्सन, मण्डेला, सनयात्सेन सबैले आ-आफ्नो देशको सन्दर्भमा स्वतन्त्रता र जनअधिकारको दुरुह लडाइँ लडेर सफलता पाएका हुन्।

ती लडाइँ भन्दा कम वा सानो लडाइँ हामीले लडेका होइनौं। राणातन्त्र, पञ्चायत र निरंकुश राजतन्त्र विरुद्धको लडाइँ चानचुने थिएन। त्यसको गौरवशाली विगत कांग्रेससँग छ। तसर्थ तात्कालिक स्वार्थ अर्थात् सत्ताको क्षुद्र स्वार्थका खातिर देश, जनता, लोकतान्त्रिक अधिकारको बृहत्तर स्वार्थलाई तिलाञ्जली दिनुहुँदैन।

आम नेपाली जनता यतिबेला देश र जनताप्रति समर्पण भएको गतिलो र भरपर्दो लोकतान्त्रिक नेतृत्वको खोजीमा छन्, जसको आपूर्ति कांग्रेसबाट मात्र सम्भव छ। यस वास्तविकतालाई कांग्रेसले आत्मसात् गर्न नसक्ने हो भने जनताले अन्यत्र आँखा लगाउने छन्। लोकतान्त्रिक शासन प्रणालीमा जनताले नै नेता पैदा गर्ने हो, जहाँ पाइन्छ, त्यसैलाई वरण गर्ने हो। यसको हेक्का हामीले राख्न सक्नुपर्छ।

ऐतिहासिक घटनाक्रमहरूले अहिले कांग्रेसलाई राजनीतिको सुनौलो मोडमा उभ्याएको छ। तसर्थ समयको पदचाप, राष्ट्रिय आवश्यकता र आम जनताको चाहनालाई बुझेर मुलुकको आधारभूत तहदेखि नै कांग्रेसको संगठनलाई नयाँ शिराबाट पुनर्निर्माण र बीपी विचारको समयानुकूल व्याख्या सहित अघि बढ्नु आजको प्राथमिक आवश्यकता हो। सहज त केही पनि छैन तर असम्भव पनि केही छैन। खाँचो छ केवल संकल्प अर्थात् दृढ इच्छाशक्तिको।

अहिलेको ताल र कार्यशैलीले हामी कहीं पनि पुग्देनौं। जिम्मेवारीको भारी बोकेर गतिहीन हुँदा देशप्रतिको अभिभारा पूरा हुँदैन। यस्तो प्रवृत्तिलाई जनताले विश्वास गर्दैनन्, न त नयाँ पुस्ताले काँध हाल्न सक्छ।

त्यसैले आजैदेखि र अहिल्यैबाट गठबन्धनको धङधङीबाट मुक्त भएर २०८४ को यात्रा तय गरौं, हामीलाई समयले पर्खंदैन। निल आर्मस्ट्रङ दोधारमा परेका भए अन्तरिक्ष यात्राको इतिहासमा उनको भन्दा पहिला अरुकै नाम लेखिने थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?