+

किन रातमा भन्दा दिनमा शरीर फूर्तिलो हुन्छ ?

२०८० फागुन  २९ गते १६:२२ २०८० फागुन २९ गते १६:२२
किन रातमा भन्दा दिनमा शरीर फूर्तिलो हुन्छ ?

मानौं, हाम्रो शरीर एक यन्त्र (मेसिन) हो । जस्तो कि यन्त्रलाई पूर्ण रुपले उत्पादनशील बनाउन केही समय विश्राम दिनुपर्ने हुन्छ । हाम्रो शरीरले पनि ठीक यसैगरी काम गर्छ । अर्थात् शरीरलाई चलायमान र जीवित राखिरहनका लागि केही समयका विश्राम जरुरी हुन्छ ।

जस्तो, तपाईंले आज पर्याप्त निद्रा लिनुभएन भने भोलिपल्ट तपाईं उत्तिकै ताजा र स्फूर्ति महसुस गर्न सक्नुहुन्न । अल्छी लाग्छ, शिथिल महसुस हुन्छ । यसले तपाईंको भोक लाग्ने प्रक्रियालाई पनि असर गर्छ । यसरी शरीरको आन्तरिक प्रणालीलाई नियमन र व्यवस्थित गर्ने एक अदृश्य तत्व हुन्छ, जसलाई सर्केडियन रिदम भनिन्छ ।

राति निद्रा लाग्नु, बिहान निद्रा खुल्नु, शरीरको तापमान कायम राख्नु, भोक लाग्नु, खाना पच्नु, जाँगर चल्नु, अल्छी लाग्नु, फूर्ति हुनु, शिथिल हुनु आदिमा यसैको भूमिका हुन्छ । यो मस्तिष्कको आन्तरिक घडी हो, जसले २४ घण्टाको चक्रमा शरीरलाई एउटा प्रक्रियामा डोर्‍याउन सूचित गरिरहेको हुन्छ ।

सर्केडियम शब्द ल्याटिन फ्रेज ‘सर्का दीम’बाट लिइएको हो । यसको अर्थ हुन्छ, ‘लगभग एक दिनमा ।’ सर्केडियम रिदम वा जैविक घडी त्यही हो, जो बाहिरी वातावरणको प्रतिक्रियामा कुनै जीवको सुत्ने र उठ्ने चक्र, अन्तस्रावी र पाचन मार्ग (मेटाबोलिक पथ)लाई नियन्त्रण गर्ने एक प्रक्रिया हो ।

यसलाई अझ सरल भाषामा बुझौं । एक रात र एक दिनको जुन समय चक्र हुन्छ, त्यही अनुसार हाम्रो शरीरले पनि तालमेल मिलाउने गर्छ । बिहान, दिउसो, साँझ, रातको समय अनुसार हाम्रो शरीरमा फरक फरक प्रतिक्रिया हुन्छ । सर्केडियन रिदमले हाम्रो मस्तिष्कलाई दिनको समयमा सर्तक रहन सूचित गर्छ । त्यही कारण हामी दिनभर चुस्त र फूर्तिलो महसुस गर्छौं । जबकि रातको समय वा अँध्यारोमा हाम्रो मस्तिष्कले शरीरलाई विश्रामको संकेत गर्छ । तब हामी सुस्त र सिथिल हुँदै जान्छौं ।

यसको गडबडीले स्वस्थ्यमा प्रभाव

जब सर्केडियन रिदममा गडबडी हुन्छ, त्यसले शरीरको विभिन्न भागमा असर गर्छ । मानौं तपाईं राम्ररी सुत्न पाउनुभएन वा शरीरलाई पूर्ण विश्राम दिनुभएन भने त्यसले तपाईंको मनस्थितिमा असर गर्छ । मुड खराब गर्छ । पाचन प्रक्रियामा बाधा गर्छ । खाएको कुरा राम्ररी पच्दैन ।

सर्केडियन रिदम गडबड हुनासाथ हाम्रो मेटाबोलिज्ममा त्यसको सोझो असर गर्छ । मेटाबोलिज्म भनेको शरीरको खाना पचाउने प्रक्रिया हो ।

सर्केडियन रिदमले हाम्रो शरीरिक क्रियाहरुको आफ्नै तालिका बनाएको हुन्छ । त्यसैले यसको गडबड हुनासाथ शरीरमा विभिन्न अवरोध देखापर्छ । जस्तो, कसैले आफूले नियमित खाइरहेको तालिकाभन्दा फरक समयमा खाना खाँदा रगतमा रहेको ग्लुकोजको चक्रलाई परिवर्तन गर्न सक्छ । रात्रिकालीन काम गर्नेहरुमा तौल बढ्नुको कारणमध्ये यो पनि एक हो ।

सर्केडियन रिदमलाई असर गर्ने कारक

बिहान सही समयमा उठ्ने, राति सही समयमा सुत्ने क्रममा अनियमित हुँदा शरीरको सर्केडियन रिदममा गडबड हुन्छ । यसले हृदयसम्बन्धी विकार पनि पैदा गर्छ । त्यस्तै अनियमित दिनचर्या, खानपान, खराब जीवनशैलीले पनि यसलाई असर गर्छ ।

औसत सात घण्टाभन्दा कम सुत्ने मानिसमा भिटामिन ए, डी र बी १, साथै म्याग्नेसियम, क्याल्सियम, जिङ्क र फस्फोरसको कमी हुन्छ । साथै भोक लाग्ने स्थिति वा पाचन क्रिया, मानसिक सतर्कता, हृदय नियन्त्रण, प्रतिरक्षा जस्ता कुराहरु गडबड हुन्छ । शरीरको प्राकृतिक सामान्य चक्रमा बाधा पुग्दा विभिन्न स्वास्थ्य समस्या आउँछ ।

सर्केडियन रिदम राम्रो बनाउने उपाय

-दैनिक सातदेखि आठ घण्टासम्म गहिरो निद्रा लिने ।

-व्यायाम गर्ने ।

-नियमित तलिकाअनुसार खाना खाने ।

-राति अबेर खाना खाने वा ढिलो सुत्ने बानी त्याग्ने ।

-प्रत्येक दिन ३० मिनेट घाम ताप्ने र सक्रिय रहने प्रयास गर्ने ।

-सुत्नुभन्दा दुई वा तीन घण्टा अघि नै खाना खाने ।

एजेन्सीको सहयोगमा

दिनरात शरीर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय