+
+

संसद सचिवालय पुग्यो सांसद सापकोटालाई हटाउने पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १०:४२

३० फागुन, काठमाडौं । जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको भन्दै संसद सचिवालयमा पत्र पठाएको छ ।

पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भनी जनमत पार्टीको संसदीय दलले यही फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो ।

पत्र अनुसार सापकोटा पार्टीको कारबाहीमा परेको सूचना संसदमा जानकारी गराएको खण्डमा सांसद पद रिक्त हुन्छ । तर, यस सम्बन्धमा संसद सचिवालयले निर्णय लिइसकेको छैन ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद सचिवालय प्राप्त पत्रमाथि अध्ययनमा छ । ‘राजनीतिक दल सम्बन्धी व्यवस्था उल्लेख गरेर पत्र आएको छ । प्राप्त पत्रमाथि अध्ययन भइरहेको छ,’ उनले भनेका छन् ।

यसअघि, जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अनुशासन उल्लंघन गरेको भन्दै सापकोटालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो । त्यस निर्णयका आधारमा जनमत पार्टीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ उल्लेख गरेर संसद सचिवालयलाई पत्र पठाएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ मा दल त्याग गरेको सम्बन्धी सूचना दिनुपर्ने व्यवस्था छ ।

‘संघीय संसद वा प्रदेश सभाको सदस्य रहेको दलको सदस्यले यस ऐन बमोजिम दल त्याग गरेमा वा निजलाइई दलबाट निष्कासन गरिएमा त्यसको निर्णय सहितको सूचना सम्बन्धित संसदीय दलले सम्बन्धित सभाको सचिवालयलाई दिनुपर्नेछ’ दफा ३४ को उपदफा (१) मा छ । प्राप्त सूचना संसद सचिवालयले सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्ष समक्ष पेश गर्छ ।

पत्र प्राप्त भएको १५ दिन भित्र सदनमा पेश गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सदन नरहेको अवस्थामा भने सूचना टाँस गर्न सकिन्छ । सदनमा जानकारी गराएपछि वा सूचना टाँस भएपछि कारबाहीमा परेको सदस्यको पद रिक्त हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?