+
+

विद्यार्थीलाई अमानवीय व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १७:४५
मधु रेग्मी

३० फागुन,  विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि विद्यार्थीका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी रेग्मी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा मधुले एउटा कोठाभित्र बसेका छात्राहरुसँग तीन–तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’ भन्दै जाइलागेको देखिन्छ । त्यही कोठाभित्र रहेका अन्य दुई छात्राले रोक्न खोजेको देखिन्छ, तर सक्दैनन् ।

उक्त भिडियो मंगलबार बेलुकाको हो । सो होस्टेलको कोठामा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका तीन जना विद्यार्थीहरु यही फागुन ३ गतेदेखि बसिरहेका थिए ।

उनीहरुले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए ।

३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन–तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन् । पीडितको जाहेरीपछि सञ्चालकलाई पक्राउ गरेर कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?