+
+

सांसदले सुरु गरेको घर निर्माण अभियानमा मुख्यमन्त्रीको श्रमदान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १६:०६

१९ माघ, विराटनगर । विराटनगरमा सुकुम्बासीको घर निर्माणमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमदान गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको विराटनगर– १६ दरैयाका सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् ।

आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो । उनका लागि शुक्रबार जस्तापाताले छाएको अस्थायी घर निर्माण भएको छ ।

घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो । घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल,भाडावर्तन र खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका थिए ।

जाडो मौसममा पाँच जनाको परिवार कष्टकर रुपमा बसिरहेको गुनासो आएपछि घर निर्माण गरिएको सांसद मण्डलले बताए । ‘यहाँ आएर हेर्दा अवस्था दयनीय थियो, १० दिनअघि डस्ना र सिरक उपलब्ध गराइएको थियो,’ मण्डलले भने, ‘विभिन्न क्षेत्रको समन्वयमा आज श्रमदान गरेर अस्थायी घर निर्माण गरेका छौं ।’ उनले श्रमदानको अभियान निरन्तर चल्ने बताए ।

मुख्यमन्त्री कार्कीले गरीब, दलित, सुकुम्वासीको साथमा सरकार छ भन्ने सन्देश दिनका लागि घर निर्माणमा श्रमदान गरेको बताए । विपन्नलाई सरकारको अनुभूति गराउने गरी काम गरिरहेको उनले बताए ।

‘निर्वाचनका बेलामा गरेको बाचा पूरा गर्न श्रमदान गरिरहेको छु,’ उनले भने,‘ गरीबका दुःख समाजका सबैले बुझेर एक अर्कालाई सहयोगको भावना विकास गराउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?