+
+

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडेनको भिडन्त पक्का

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते २०:५५

३० फागुन । आगामी नोभेम्बर ५ मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटबाट बहालवाला राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पको भिडन्त पक्का भएको छ ।

पार्टीभित्र हुने प्रारम्भिक निर्वाचनमा आवश्यक थ्रेसहोल्ड दुवैले पार गरेसँगै राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति ट्रम्पबीच नै प्रतिस्पर्धा हुने पक्का भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाइडेन र ट्रम्प दुवैले आफ्नो ध्यान चुनावी रणनीतितर्फ केन्द्रित गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । प्रारम्भिक निर्वाचनमा पार्टीभित्र कुनै पनि चुनौतीको सामना नगरेका बाइडेनले राष्ट्रपतीय निर्वाचनमा ट्रम्पबाट चुनौती महसुस गरेका छन् ।

उनले आफ्नो मन्तव्यमा भनेको कुरा उद्धृत गर्दै न्यूयोर्क टाइम्सले भनेको छ, ‘ट्रम्पबाट निकै चुनौती रहेको अवस्थामा मलाई फेरि एकपटक विश्वास गरेकोमा मेरो दल र मुलुकप्रति निकै आभारी छु ।’

यता ट्रम्पले पनि पार्टीभित्रको प्रारम्भिक निर्वाचनको विजयलाई महत्वपूर्ण दिनको रुपमा लिएको बताएका छन् । आफ्नो ध्यान बाइडेनलाई हराउन केन्द्रित हुने उद्घोष उनको छ । ट्रम्पको भनाइ उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, ‘यो विजयको दिन मेरा लागि निकै महत्वपूर्ण दिन हो । म सबैलाई धन्यवाद दिन चाहन्छु । नोभेम्बरको निर्वाचनमा बाइडेनलाई पराजित गर्नका निम्ति तत्कालै ध्यान केन्द्रित गर्नुपर्नेछ । हाम्रो सम्पूर्ण तागत र कर्म बाइडेनलाई हराउनका निम्ति केन्द्रित गर्नुपर्छ ।’

पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा विजयी दुवैलाई उम्मेदवारीको औपचारिकता भने ग्रीष्मयामको विशेष सम्मेलन मार्फत दिइनेछ । यद्यपि बाइडेन र ट्रम्प दुवैले पार्टीभित्रको आन्तरिक समितिलाई परिचालन गर्न थालिसकेका छन् ।

पार्टीभित्रको पुरातन धारमा पकड जमाउन सफल भएकै कारण ट्रम्पले प्रारम्भिक निर्वाचन जित्न सफल भए । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजय, संसदीय चुनावमा ट्रम्पले समर्थन गरेका उम्मेदवारको पराजय तथा चार प्रकृतिका फौजदारी अभियोगमा ९१ वटा मुद्दाका बाबजुद पनि ट्रम्पलाई रिपब्लिकनले पत्याएको छ ।

पार्टीभित्रको आन्तरिक निर्वाचनमा सहजै जित हात पारेका बाइडेन र ट्रम्पलाई नोभेम्बर चुनाव भने त्यति सहज हुनेवाला छैन । सन् २०२० को निर्वाचनमा पनि यी दुई प्रतिस्पर्धीबीच कडा टक्कर भएको थियो । मझदारमा रहेका वा स्वतन्त्र रहेका मतदातालाई रिझाउनका निम्ति ट्रम्पका निम्ति त्यति सहज हुनेछैन । यता, बाइडेनले पनि गाजाको युद्धलाई राम्रोसँग सम्हाल्न नसकेको, निकै बुढो भएको, आर्थिक सूचकांक सुधार गर्न नसकेको भन्दै युवा मतदाताहरुले आलोचना गरिरहेका छन् ।

बाइडेनलाई पत्याउन अप्ठेरो मानेका र ट्रम्पलाई विश्वास गर्न नसकेका अमेरिकीहरु धेरै छन् ।  यद्यपि सन् २०२० को भिडन्तको सिक्वेल यसपटक पनि निश्चित भएको छ ।

उनीहरुको आमनेसमाने निश्चित भएसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ६८ वर्षपछि रिम्याच हुने भएको छ । सन् १९५६ मा रिपब्लिकनका उम्मेदवार वेट इसेनवुभरले डेमोक्रेटिकका एड्ली स्टेभेनसनलाई हराएका थिए । दोस्रो कार्यकालका लागि इसेनवुभर थप भारी मत सहित फेरि चुनिएका थिए । सन् १८९६ मा रिपब्लिकनका विलियम किनलेले डेमोक्र्याटका विलियम जेनिङ्सलाई पराजित गरेका थिए । सन् १९०० मा पनि उनीहरुबीच नै भिडन्त भयो जसमा विलियमले नै बाजी मारे । त्यसअघि सन् १८३६ मा डेमोक्र्याटका मार्टिन बुरिनले विलियम हेनरीलाई पराजित गरे । उनीहरुबीच फेरि प्रतिस्पर्धा हुँदा हेरिसनले बाजी मारे ।

त्यसअघि सन् १८२४ मा जोन क्विन्सी एडम्स र एड्रु ज्याक्सन आमनेसाममने भए । १८२४ मा एडम्सले बाजी मार्दा सन् १८२८ ज्याक्सनले एडम्सलाई हराए ।

ह्वाइटहाउसमा फेरि फर्कन सफल पूर्वराष्ट्रपति एक जना मात्र छन् । उनी ग्रुभर क्लिभलेन्ड हुन् । सन् १८८४ मा उनी पहिलोपटक झिनो मत सहित राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसपछिको निर्वाचनमा उनी बेन्जामिन हेरिसनसँग पराजित हुन पुगे ।

सन् १८९२ मा उनी फेरि उम्मेदवार चयन भएर निर्वाचित हुन सफल भए । अन्य पूर्व राष्ट्रपतिले पनि फेरि ह्वाइटहाउस फर्किने कोशिश गरे पनि क्लिभलेन्डको त्यो रेकर्ड कसैले तोड्न भने सकेका छैनन् । यो रेकर्ड तोड्नका निम्ति यसपटक ट्रम्प मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?