+
+
संस्मरण :

रूसमा युद्ध मात्रै हैन, शान्त सोची पनि रहेछ !

हामी युद्धग्रस्त युक्रेनबाट नजिकै पर्ने ठाउँमा थियौं । यहाँ आइपुग्नुभन्दा पहिले लागेको थियो, ‘यहाँ युद्धको जर्जरता छ । बाँचेर हिंड्ने, धेरै नघुम्ने !’

सन्तोष न्यौपाने सन्तोष न्यौपाने
२०८० चैत १ गते ७:२३

आँखाले देखेका कुरा रेटिना हुँदै मस्तिष्कसम्म पुग्छन्, मनले देखेका कुराले सायद हृदयमै छाप छोड्छन् । रूसको दक्षिण पूर्वी शहर सोचीले मेरो हृदयमा त्यस्तै अमिट छाप छाप्दैछ ।

अस्तव्यस्त एउटा जीवन, अनेक व्यस्तताको मारमा प्रफुल्लित हुन तड्पिरहेको हृदय र काम, डिजिटल संसारको चेपुवामा परेको एउटा पात्र खुल्ला आकाशमा बेपर्वाह घुम्न सोची पुगेको छ ।

अन्तर्राष्ट्रिय युवा महोत्सवमा तीनमध्ये आफ्नो प्राथमिकताका आधारमा जुनसुकै हलमा छिर्न सुविधा दिइएको छ । त्यो मेरो जीवनकालकै सबैभन्दा महत्वपूर्ण र सबैभन्दा ठूलो सिकाइको थलो भयो ।

महोत्सव प्रतिनिधिले हामीलाई विमानस्थलमा स्वागत गरेपछि होटल अल्फा सोरोस पुर्याइयो । त्यसपछि हाम्रो आंशिक समूहका १५ जनालाई घुमाउन स्वयंसेवक सोफिया भेट्न आइपुगिन् । उनको पहिलो निर्देशन सुनेपछि नै म उनको नेतृत्व क्षमताबाट प्रभावित भएँ ।

त्यहाँ मैले भेटेका मध्ये उनी अलि प्रष्ट अंग्रेजी बोल्न सक्ने थिइन् ।

‘तिमीलाई राम्रो अंग्रेजी आउँदो रहेछ नि ? यो वार्तालापका लागि राम्रो भयो । अरू भाषा पनि जान्दछ्यौ ?’ मैले भनें ।

उनी गौरवका साथ आफ्नोबारे सुनाउन तम्सिइन् । भनिन्, ‘अब म चाइनिज भाषा सिक्दैछु !’

‘निहाओ !’ शिर झुकाउँदै उनलाई सम्मान प्रकट गरें ।

‘निहाओमा !’ सोफियाले पनि शिर झुकाउँदै सम्मान प्रकट गरिन् । त्यहाँ रहेका सबै एकफेर हामीलाई हेर्दै गलल्ल हाँसे । हाँसोको यस्तो माहोल बन्यो कि पहिलो भेटमै सोफियाले हामीलाई ‘कति रमाइला मान्छेहरू’ भन्दै सम्बोधन गरिन् ।

सुरुमा हामीलाई लिन आउँदा भाषाको समस्या, व्यावहारिक कठिनाइ हुनसक्ने कुराले त्रसित रहेको सोफियाले सुनाइन् । ‘निर्धक्क हुनू, तिमीसँग हामी सबै सम्मानपूर्वक पेश हुनेछौं र असहज हुन दिनेछैनौं’, मैले प्रतिबद्धता जनाएँ ।

‘तिमीलाई थाहा छ ? हामी यहाँ जति छौं, सबै जना नै नेपालमा केन्द्रीय तहमा बसेर युवाको सन्दर्भमा काम गरिरहेका पात्र हौं नि !’ सोफियाले प्रसंग बढाउँदै भनिन्, ‘मैले सबैको प्रोफाइल हेरेकी छु । ज्यादै प्रभावित भएँ ।’ उनको कुरा सुनेर नेपालबाट गएका सबै प्रतिनिधि मख्ख पर्यौं ।

‘सोफिया म नेपालमा तिमी जस्तै विद्यार्थीलाई पढाउँछु नि !’ भनें । तर, उनले शंकाको दृष्टिले हेरिन् । हुनत उत्रै र उस्तै उमेर अनि मेरो अल्लारेपनले ‘यो मान्छेले पनि विश्वविद्यालयमा पढाउँछ होला र ?’ भन्ने लाग्नु स्वाभाविक होला !

उनको अनुहारमा असहजता देखेपछि खल्तीबाट पर्स निकाल्दै भिजिटिङ कार्ड दिंदै भनें, ‘हो म गण्डकी विश्वविद्यालयमा कानुनका विद्यार्थीलाई राजनीतिशास्त्र पढाउँछु ।’

‘यो त जटिल काम भएन र ?’ सोफियाले सोधिन् ।

‘म त्यही जटिल काम गर्न त जन्मिएको !’ उनको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिएँ ।

सोफिया मज्जाले हाँसिन् । र, फेरि एकपटक माहोल हाँसोमय हुन पुग्यो ।

****

रूस सरकारको प्रत्यक्ष आयोजना र व्यवस्थापनमा भइरहेको पब्लिक डिप्लोमेसीको एक नमूना कार्यक्रम विश्वभरिका युवा नेतृत्वकर्ताको प्रतिनिधित्व हुने महत्वपूर्ण कार्यक्रम रहेछ । त्यहाँ हुने कार्यक्रम, छलफल र सत्रहरू यति ओझिला थिए कि आजको विश्वका उम्दा पात्रहरू त्यहाँ छ्यापछ्याप्ती भेटिएका थिए । महत्वपूर्ण छलफलमा उनीहरूसँग प्रत्यक्ष वार्तालाप र बहस साँच्चिकै अविस्मरणीय बन्यो ।

१७८ देशबाट आ–आफ्नो देशमा युवा विकासमा काम गरिरहेका युवा नेताहरू आएको अन्तर्राष्ट्रिय युवा महोत्सवमा करिब १ हजार ५०० जना रूसी विद्यार्थीले स्वयंसेवकको रूपमा काम गरिरहेका थिए । कार्यक्रमको उद्घाटन समारोह ‘विन्टर ओलम्पिक्स २०१४’ भएको स्टेडियममा भएको थियो । कुनै औपचारिकता विना नै कार्यक्रम सञ्चालन गरिएको थियो ।

करिब ३०० जना कलाकार एउटा स्टेजमा पालैपालो यसरी प्रस्तुत भइरहेका थिए कि एकातिर हेर्दा अर्कोतिर छुटिरहेको भान हुन्थ्यो । रूसी भाषामा बोलेको कुरा पर्दामा अंग्रेजीमा अनुवाद गरेर प्रस्तुत गरिएको थियो । म बल गरी–गरी पढिरहेको थिएँ । तर, एउटा वाक्य सक्न नपाउँदै अर्को वाक्य सुरु भइसकेको हुन्थ्यो ।

उद्घाटन सत्रमा पृथ्वीले पाइरहेको मानवीय चोटबारे देखाइएको थियो । कलात्मक प्रदर्शनी गरेर प्रतिनिधिहरूलाई आफ्नो जीवनप्रति समर्पित हुन पृथ्वीले मानिससामु गिडगिडाएको सुन्दर, उत्तरआधुनिक र कलात्मक प्रदर्शन गरिएको थियो ।

घुम्ने र अन्तर्राष्ट्रियस्तरमा आफ्नो कुराहरू राख्न अन्तर्राष्ट्रिय युवा महोत्सव ज्यादै महत्वपूर्ण ठाउँ रहेछ । हामीले हाम्रो कला, संस्कृति, पोशाक र गीतहरू विश्वभरिका युवालाई सुनाउँदै, नचाउँदै रमाइलो गरिरह्यौं । यात्राहरूमा जति आँखाले देखिन्छ, त्यति क्यामेरामा कैद हुँदैन । जति क्यामेरामा कैद हुन्छ, त्यति लेख्न सकिंदैन । तर, सोचीको सुन्दर यात्राले मलाई कलम उठाउन सिकाएको छ ।

अनेकथरी कला साहित्यले भरिएको यो महत्वपूर्ण स्थानमा १२२ देशले आफ्नो कला कृति, साहित्य र संस्कृति देखाइरहेका थिए । भव्य हलको भित्र भइरहेको देश अनुसारको छुट्टै स्टल भएको प्रदर्शनी क्रमिक रूपमा दृश्य हेर्दै जाँदा एक ठाउँमा सानो डमी घरको छतलाई क्यानभास मानेर केही मान्छेहरू रंगहरूले आकृति बनाउने स्थान पनि रहेछ । मलाई पनि मेरो देशको गौरव सर्वोच्च शिखर सगरमाथा क्यानभासमा उतार्न इच्छा भयो ।

स्टलमा बसेकी स्वयंसेवकलाई सोधें, ‘के म पनि आफ्नो देशको कुनै आकृति बनाउन सक्छु ?’

उनले मुस्काउँदै सहमति जनाइन् र पञ्जा, एप्रोन, रङ र घर भएको क्यानभास थमाइदिइन् । म कुर्सीमा आकृति बनाउन आकृति कोर्न थालें, नीलो आकाशमा सेतो बादल, हिमालको चुचुरो गाडा सेतो रङ र अन्य दृश्यहरू ।

मैले बनाएको आकृति सुरुमै चुचुरोबाट सुरु भयो । म हुर्केको शहर, मैले काम गर्ने र मैले नेपाल छोड्दा सम्झिरहेको चुचुरो ! यसरी नजानिंदो तरिकाले मेरो क्यानभासमा देखियो कि सायद म त्यो आकृति बनाउन पोख्त थिएँ ।

तर, चित्र सर्वोच्च सगरमाथाको होइन, माछापुच्छ्रेको पो बनेछ !

सगरमाथा बनाउन बसेको थिएँ, कसरी माछापुच्छ्रे बनाउन पुगें ? मलाई नै थाहा भएन । र पनि चित्र कोर्दै गएँ, माछापुच्छ्रे, अन्नपूर्ण हिमचुली र झर्दै गए तल मर्दी हुँदै बतासेडाँडा र वनजंगल ।

सायद मेरो हृदयले पोखरा चाहन्थ्यो र क्यानभास पनि त्यही उत्रियो । चित्र यस्तो बन्यो कि अब फेवाताल पनि चाहिने भयो, लोभ नगरी फराकिलो फेवाताल थपिदिएँ । जस्तो सुन्दर सोचीसँग ‘ब्ल्याक सी’ छ, त्यस्तै पोखरासँग पनि अनुपम फेवाताल छ ।

एउटा चित्र बनाइसकेपछि सोचें, हामी सोचीभन्दा पनि धनी रहेछौं ।

सोचीसँग हिमाल छ, अग्ला चुचुरा छैनन् । सोचीसँग वन छ, गुराँस छैन । सोचीसँग फराकिलो काख छ, लुक्ने गुफा छैन, सोचीसँग सानो काली खोला छ, सेती नदी छैन ।

फेरि सोचें, सोचीसँग के छ जो पोखरासँग छैन ?

पोखरामा छुकछुके रेल छैन । सोचीसँग ओलम्पिक स्टेडियम छन् । १० हजार जना अटाउने स्तरीय होटल छन् । सयौं जहाजलाई स्थान दिन सक्ने विशाल विमानस्थल छ । सोचीसँग सुरक्षाको यस्तो प्रबन्ध छ कि जो कोही पनि निर्धक्क चौबीसै घन्टा निसंकोच हिंड्न सक्छ ।

सोचीसँग के छैन ? फराकिला बाटो, धुवाँ नफाल्ने गाडी, ट्राफिक लाइट र जेब्राक्रस, प्लास्टिक र बोतल विनाको खोला ! सायद सोचीले पोखराले जस्तो प्रदूषण भोग्नुपरेको छैन । विकास निर्माण गर्दा पनि प्रकृतिलाई कति श्रद्धा गरिएको !

गाडीको बाटोभन्दा मान्छे हिंड्ने बाटो फराकिलो र आकर्षक बनाइएको छ । केही घरहरू बन्दै पनि गरेका भेटिए । घर बनाउनेदेखि सानोभन्दा सानो कामका लागि पनि प्रायः विद्युतीय मेसिनको प्रयोग गरिने रहेछ । हथौडा हिर्काउन छोडेको पनि शताब्दी नै भएछ ।

सोचीमा मान्छेहरू हिंड्ने गति नै भिन्न छ । हुनत उनीहरू हाम्रो औसत उचाइभन्दा धेरै नै अग्ला छन् । सही आहारले होला हृष्टपुष्ट शरीर र गति सहित दिनभर हिंड्न सक्ने क्षमता विकास भएको । परिवारदेखि व्यक्तिगत आनीबानीसम्म बुझ्न लालायित भएको मेरो लागि सामाजिक विज्ञान अंग्रेजीमा व्याख्या गरिदिने पात्रको खोजी सुरु दिनबाटै रह्यो ।

शहरको किनारमा भीमकाय समुद्र छ । टायल बिछ्याएको हिंड्ने स्ट्रिटमा सानै उमेर र कदका देखिने बच्चाहरू मजाले साइकल चलाएर खेलिरहेका थिए । उनीहरू खेलिरहेको दृश्यले आफ्नै बालापनतिर फर्र्किएँ । जहाँ हामी खेल्न जाँदा पनि भरपूर गाली खान्थ्यौं । हामीलाई हाम्रो परिवेश, हिम्मत र जाँगरले केही रोकेको रहेछ कि ! जस्तो महसुस भयो । बस्ती वरपर सारै खुल्ला स्थानहरू जसले गर्दा यिनीहरूको दिमाग नै खुल्ला तरिकाले चल्छ जस्तो लाग्यो ।

राजधानी मस्कोबाट ५ घन्टा उडेपछि थाकेको शरीर सोची एयरपोर्टमा झर्नासाथ सबैको मुहारमा उमंग थपिएको थियो । हामी युद्धग्रस्त युक्रेनबाट नजिकै पर्ने ठाउँमा थियौं । यहाँ आइपुग्नुभन्दा पहिले लागेको थियो, ‘यहाँ युद्धको जर्जरता छ । बाँचेर हिंड्ने, धेरै नघुम्ने !’

सामाजिक सञ्जालमा भेटिएका र विभिन्न माध्यममा पाइएका सूचनाले रूस–युक्रेन युद्ध आज पनि मिसाइल र बम गोलाका आवाजले त्रसित छ भन्ने थियो । युद्धको प्रभावबारे बुझ्न र युद्धको अवस्था देख्न मनभित्र एउटा बेग्लै आकांक्षा पनि थियो । आकाशमा उडिरहँदा कालो बादल देख्दा पनि ‘ती सब मुस्लो मिसाइलका त होलान् नि !’ भन्ने थियो ।

तर, सोची झरेपछि सबै भ्रम यसरी चिरियो कि जसरी अँध्यारोलाई उज्यालो दीपकले चिर्छ । त्यहाँ यस्तो शान्त छ कि कुनै धक विना, कुनै विशेष सुरक्षा विना नै स्वयं राष्ट्रपति पुटिन पनि कार्यक्रम सम्बोधन गरेर फर्किए ।

अनेकन् आसनग्रहण, औपचारिकताका अनेक सिंढी, चाप्लुसीको अनेक भाषा र कला सायद हाम्रो जस्तो देशका नागरिकका लागि मात्र हो जस्तो महसुस भयो । नेपालमा त्यस्ता गतिविधि आज पनि सामान्य नै छ । त्यसैले त नेपालमा ‘नेपाली समय’ सधैं चर्चामै रहन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बेला हाम्रो कार्यक्रममा पुटिन आउने भएपछि मनमा अनेक प्रश्न उठेको थियो, ‘हामीलाई कार्यक्रममा कसरी सहभागी गराउलान् ? युद्धरत रहेको भनिएको देशको सुप्रिमो आउँदा सुरक्षा चेकजाँच कस्तो होला ?’ तर, अपेक्षाभन्दा धेरै धेरै नै फरक लाग्यो रूसको राजनीति ।

विदेशी मुलुकमा मान्छे एकअर्कालाई मतलब नै गर्दैनन्, परिवारहरू विग्रहतिर जाँदैछन् भनेर सुनेको थिएँ । तर, रूसले भिन्न तरिकाले आफूलाई विकास गर्दै रहेछ । नाटो र अमेरिकी मिडिया जगतले जे सूचना हाम्रो लागि पठाएका छन्, ती गलत पो हुन् कि ? भन्ने भान पनि भयो ।

रूसको विकासमा प्रकृति प्रेम सहजै महसुस गर्न सकिने तहमै रहेछ । खोलाहरू साना भए पनि कञ्चन छन् । रूखहरू होचा भए पनि पूर्ण छन् । हिमालहरू शहर नजिकै छन् । तर, सफा छन् । मान्छेहरू व्यस्त भए पनि प्रेमिल छन् । मलाई मेरो देश किन पछाडि परेको रहेछ भन्ने अनेक उत्तरहरू टिपेर अरूलाई पनि भन्न लागिरहेको छ । हो, रूसमा युद्ध मात्रै छैन, शान्त र सिक्नलायक सोची पनि रहेछ ।

कुरै कुरामा सोफियालाई सोधें, ‘के तिमी आफ्नो देशमा सन्तुष्ट छौ ?’ उनको जवाफले म अवाक् भएँ ।

‘वास्तवमा म मेरो देश छोडेर स्वतन्त्रताको एक अलग अनुभूति गर्न चाहन्छु । मलाई रूसमा जन्मिएकोमा कुनै ग्लानि छैन’ सोफियाले भनिन्, ‘तर हामीलाई सधैं एकै किसिमको इतिहास पढाइयो, स्कुलिङ गरियो । अब अर्को देश पुगेर विश्वको नजरबाट मेरो रूस पढ्न मन छ ।’

(न्यौपाने मार्च १ देखि ७ सम्म रूसको सोचीमा भएको अन्तर्राष्ट्रिय युवा महोत्सवमा नेपाल प्रतिनिधिको रूपमा सहभागी थिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?