+
+

कोशी सरकारबारे कांग्रेस आन्तरिक छलफलमा, मुख्यमन्त्री कार्कीसहितका नेता देउवा निवासमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते ९:१६

१ चैत, काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बिहान दुई उपसभापति, दुई महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् ।

देउवा निवास बुढानीलकण्ठमा भएको छलफल कोशी प्रदेश सरकारको सन्दर्भमा के गर्ने भन्ने विषयमा केन्दि्रत रहेको एक नेताले जानकारी दिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् । त्यसैले कोशीमा एमाले-माओवादीसहितको गठबन्धनको सरकार सजिलै बन्नसक्छ ।

कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले विश्वासको मत दिएका थिए । उनीहरुको विश्वासको मत अहिले पनि कायमै छ ।

गणितीय रुपमा कार्की संकटमा परेको जस्तो देखिए पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार देखिएको छैन । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि अहिलेसम्म अर्को सरकारको विकल्प नदेखिएकाले विश्वासको मत फिर्ता लिने र अस्थीरता सिर्जना गर्ने काममा माओवादी केन्द्र नलाग्ने बताउँछन् ।

‘संवैधानिक र कानुनी आधारमा वैकल्पिक सरकार गठन हुने निश्चित हुने भएपछि मात्र हामीले आवश्यक निर्णय लिन्छौं । अहिले नै स्थीरता र अन्यौलता सिर्जना गर्ने भूमिका हामीबाट हुँदैन,’ आङ्बोले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म मुख्यमन्र्त्री कार्कीलाई हाम्रो समर्थन कायमै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?