+
+

सीआईबीमा कागज गरेर छुटेका आरोपी भन्छन् : डीएसपीले नै ६० लाख मागे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १७:५०
एसपी सञ्जय सिंह थापा र डीएसपी दुर्गा दाहाल ।

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका एक अभियुक्तले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपीले आफूसँग ६० लाख रुपैयाँ मागेको आरोप लगाएका छन् ।

अनलाइनखबरसँग सम्पर्कमा आएका सुन तस्करी प्रकरणका फरार जीवन चलाउनेले बयान दिएर निस्किएको ३ दिनपछि डीएसपी दुर्गा दाहालले ६० लाख रुपैयाँ मागेको दाबी गरेका हुन् । ‘एक जना डीएसपी दुर्गा दाहाल भन्ने आउनुभएको थियो, उहाँले मलाई बाजेको सेकुवामा भेट्नुभयो र उहाँले ६० लाख रुपैयाँको अफर गर्नुभयो ।’

त्यसबेला सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेको एसपी सञ्जयसिंह थापा पनि साथमै रहेको उनले बताए ।

‘सञ्जय थापाको घर बन्दैछ भन्नुभयो, अनि मैले मसँग त पैसा छैन भनेको थिएँ’, उनले भने, ‘मैले कहाँबाट पैसा दिनेभन्दा अनि ३० लाख त दिनुस् भन्नुभयो, मैले ३० पनि दिइनँ ।’

यसपछि आफूलाई प्रतिवादी बनाइएको उनले दाबी गरे । आयोगले कारबाही सिफारिस गरेपछि डीसपी दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै दाहालले आफूले जीवन चलाउनेको विषय नै नहेरेको दाबी गरे । ‘यो फटाहा हो, त्यतिबेला तपाईंहरुसँग बोल्ने फुर्सद समेत थिएन, राति १२, १, २ बजेसम्म काम गरेर बिहान आँखा मिच्दै आएर काम गरेको हो’, उनले भने, ‘चलाउनेको विषय मसँग सरोकारको विषय नै थिएन । यो पाटो मैले हेरेको पनि होइन ।’

उनले आफूले चिनियाँ तस्कर समूहलाई मात्र खोजी गरेको बताए । ‘समितिमा त सबै थियौं, तर त्यसबेला सबैले छुट्टाएर काम गरेका थियौं’, उनले भने, ‘मेरो ऊसँग सम्पर्क हुनु न केही हुनु, अपराधीले भनेको के भनेको हो थाहा छैन ।’

हाल नुवाकोटका प्रहरी प्रमुख रहेका एसपी सञ्जयसिंह थापाले भने आफूले यो विषयको जवाफ प्रहरी प्रधान कार्यालयसमक्ष दिने बताए । ‘मैले भेटेको छैन, जे भनेको छ, त्यो लेख्नुस् मैले यो कुरामा केही भनिनँ’, उनले अनलाइनखबरसँग भने, ‘तर भेट भएको होइन ।’

आयोगले गरेको जाँचका क्रममा एसपी सञ्जय थापाले उनको कार्यकक्षमा राखेर कागज गराएर छाडेको देखिएको छ । यसका लागि आयोगले सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्य, एसपी थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको छ ।

यसपछि गृह मन्त्रालयले ब्रजाचार्यलाई ब्यूरोको प्रमुखबाट हटाउने तयारी गरेको छ भने दाहाल र कुँवरलाई जिम्मेवारविहीन बनाएर हेडक्वार्टर तानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?