+
+

दाँते भनेर लगाइएको ओखर हाँडे निस्किएपछि…

रासस रासस
२०८० चैत २ गते २०:०७

२ चैत, डोटी । कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ ।
हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाएका छन् ।

दाँते भनी लगाएका ओखर हाडे निस्किएको जनाउँदै किसानले गुनासो गर्न थालेपछि केन्द्रले ‘टप ओर्किङ’ गर्न सुरूवात गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए ।

उहाँले परीक्षण स्वरुप ५० टप ओर्किङ गरिएको निमित्त प्रमुख अवस्थीले बताए । सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीमा कार्यरत प्राविधिक हरिस पाण्डेको सहयोगमा ओखरमा टप ओर्किङ गरिएको हो ।

दिपायल सिलगढी नगरपालिका सहित आदर्श र सायल गाउँपालिकामा टप ओर्किङ कार्य गरिएको ज्ञान केन्द्रले जनाएको छ । सो कार्य सफल भएमा ज्ञान केन्द्रले आफ्नो वार्षिक कार्यक्रममा समेटी जिल्लामा यो कार्य विस्तार गरिने कार्यालय प्रमुख अवस्थीले बताए ।

यसरी टप ओर्किङ गरिएको सफल भएमा दुई हप्तासम्ममा जोडिएको हाँगामा पालुवा पलाउने पाण्डेको भनाइ छ । यस्तो कार्य गर्न ओखरको बिरुवाको मोटाइ दुई हातले समात्न मिल्ने हुनुपर्छ । धेरै मोटाइ भएको ओखरमा यो कार्य गर्न सम्भव हुँदैन ।

नब्बे एमएम सम्म मोटाइ भएको ओखरमा टप ओर्किङ गर्न सकिने कृषि प्राविधिक बताउँछन् । टप ओर्किङ परीक्षण कार्य सफल भएमा किसान लाभान्वित हुने छन् । यस्तो कार्य बैतडी, मुस्ताङलगायतका जिल्लामा सफल भएको पाइएको छ ।

नेपालमा ओखरको खेती समुद्री सतहबाट ९०० मिटरदेखि तीन हजार ५०० मिटरसम्म गर्न सकिन्छ । बिजु ओखरको बिरुवाले पाँचदेखि छ वर्षबाट उत्पादन दिन सुरु गर्दछ भने कलमीले एक–दुई वर्षमै फल दिन सुरु गर्छ ।

प्रतिकेजी ६०० देखि ७०० पर्ने ओखरको बोटले सामान्यतया ५०–६० वर्षसम्म फल दिन्छ । लगाएपछि धेरै मिहिनेत गर्नु नपर्ने र बजार मूल्य राम्रो भएका कारण पनि ओखर खेतीप्रति किसानको आकर्षण बढ्दो छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?