+
+

‘उपहार’ले थाल्यो डायस्पोरा प्रदर्शन, ‘हिफाजत’ जोडी देखिए एकसाथ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १२:१३

काठमाडौं । रेखा थापा स्टारर ‘उपहार : द जर्नी लाइफ’ले पहिलो अन्तर्राष्ट्रिय रिलिजको यात्रा अमेरिकाको कोलोराडोबाट थालेको छ । घरमा दोस्रो सातामा चलिरहेको फिल्मले डायस्पोरा प्रदर्शनको थालनी गरेको हो ।

कोलोराडो प्रदर्शनमा दर्शकको ‘ओभरफ्लो’ भएको निर्मात्री समेत रहेकी रेखाले जानकारी दिइन् । दर्शकको मागको कारण सोमबार अर्को शोको आयोजना गरिएको कार्यकारी निर्माता बलराम ठकुरीले जनाए ।

अन्य अमेरिकी राज्यबाट पनि फिल्मको माग भएको उनले बताए । ‘बेबी प्लान’सहित अमेरिका उडेकी रेखाले गत महिना त्यहाँ सन्तानलाई जन्म दिएकी थिइन् । उनकै अग्रसरतामा कोलोराडोमा फिल्म रिलिज गरिएको हो ।

‘उपहार’ हेर्न अभिनेता आयुष रिजाल पनि हलमा पुगेका थिए । रेखा स्टारर ‘हिफाजत’बाट अभिनय करिअर थालेका रिजालले रेखासँगको तस्वीर सेयर गर्दै समसामयिक विषयवस्तुमा फिल्म निर्माण भएको भन्दै प्रशंसा गरेका छन् ।

‘हिफाजत’को यो चर्चित जोडी पुनः एकसाथ देखिएपछि फ्यानले उत्साह व्यक्त गरिरहेका छन् । २०६६ सालमा रिलिज भएको ‘हिफाजत’ त्यतिबेला व्यावसायिक हिट फिल्म थियो ।

यो फिल्म यतिबेला नेपालमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । फिल्ममा रेखाको शीर्ष भूमिका छ, जहाँ उनले सडक व्यवसायीको भूमिका निर्वाह गरेकी छिन् । सडक किनारमा व्यवसाय गर्नेको कथावस्तुमा बनेको यो फिल्मले घरमा सन्तोषजनक कमाइ गरिरहेको वितरक छविराज ओझाले जनाए ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखासहित बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल लगायतको अभिनय छ । केही वर्षको ग्यापपछि रेखा फिल्म्स निर्माणमा फर्किएको हो । निर्माणमा कपनगढी सिनेमासँग रेखा फिल्म्सले सहकार्य गरेको छ ।

अमेरिका प्रदर्शनपछि वैशाखमा बच्चा र श्रीमानसहित रेखा नेपाल फर्किने तयारीमा छिन् । त्यसपछि अर्को एक फिल्ममा जुट्ने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?