+
+

छानबिनका नाममा कानुनको दुरुपयोग नहोस्ः जीवन परियार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १३:४०

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य जीवन परियारले छानबिनका नाममा कानुनको दुरुपयोग हुन नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा कानुनको प्रयोग गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘छानबिनका नाममा राजनीतिक आग्रह र पूर्वाग्रहमा कानुनको प्रयोग नहोस् । हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं, सचेत गराउन चाहन्छौं ।’

सुन तस्करी छानबिन गर्न बनेको उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उनको सुझाव छ । यो प्रकरणमा आयोगले मुद्दा दर्ताका लागि सिफारिस गरेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेको उल्लेख गर्दै उनले भने, ‘यसमा धेरै व्यक्ति कारबाहीका लागि सिफारिसमा परेका छन् । जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ।’

सुन तस्करीमा संलग्न भनिएका जीवन चलाउनेले भारतको दिल्लीबाट सार्वजनिक गरेको भिडियो र अडियोका सन्दर्भमा समेत छानबिन हुनुपर्ने उनको माग छ । ‘जीवन चलाउने नाम गरेका व्यक्तिको दिल्लीबाट भिडियो र अडियो सार्वजनिक भएको छ । चलाउनेले भनेको विषयमा छानबिन गर्नुपर्छ,’ उनले भनेका छन्, ‘सीआईबीकै पदाधिकारीहरूले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे ? आईजीपी बनाउँदा दुई करोड/एक करोड चाहिन्छ भनेर एउटा व्यापारीसँग बार्गेनिङ कसरी हुँदैछ ? यसरी सीआईबीजस्तो भरपर्दो निकायबाट फरार अभियुक्तसँग मोलमोलाइ गर्न थालियो भने जनताले न्याय पाउने अवस्था रहँदैन ।’

जीवन चलाउनेले रुँदै छोरीले स्कुल जाने वातावरण नभएको र भागेर बस्नुपरेको जस्ता अभिव्यक्ति आएको सांसद परियारले बताए । ‘यदि निर्दोष व्यक्तिलाई सरकारबाट दुःख दिने काम भएको छ भने म भन्न चाहन्छु– सरकारले विधिको शासन र लोकतन्त्रको प्रत्याभूत गराउन सक्दैन ।’

कानुनको अगाडि सबै बराबर हुने परियारले बताए । ‘पञ्चायतमा समेत अन्यायमा परेको छ भने अदालतबाट न्याय पाउने अनुभूति हुन्थ्यो । तर आज शक्तिका भरमा, कानुन हातमा लिएको भरमा तर्साउने काम हुन्छ भने त्यो कदापी हामीलाई स्वीकार्य हुँदैन’ उनले भने ।

सहकारीका ठगीहरूका सम्बन्धमा निष्पक्ष छानबिन हुन्छ की हुँदैन भन्ने चासो आमरुपमा रहेको परियारले बताए । उनले भने, ‘जुनसुकै व्यक्तिले ठगी गरेको भए पनि कारबाहीको भागीदार हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?