+
+

गरिब परिचय पत्रको म्याद थपिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १३:४५

६ चैत, काठमाडौं । सरकारले यसअघि वितरण गरेको गरिब परिचयपत्रको म्याद थप्ने भएको छ । २०७४ सालमा २५ जिल्लामा गरिब परिचय पत्र वितरण भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार विगत भएका गरिब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा यसलाई विस्तार गरिँदैछ । यो अभियान मार्फत सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरी स्वास्थ्य बीमा गर्ने उनको प्रतिवद्धता छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य बीमा र स्वास्थ्यको मौलिक हकको कार्यान्वयनको विषयमा प्रश्न गरेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिए ।

नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म ३३ दशमलव २ प्रतिशत  घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य बीमाको पहुँच पुगेको बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य पनि भइरहेको उनले बताए ।

स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानी अनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्नेलगायतका कार्यक्रम अगाडि बढाइने उनले बताए ।

‘सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?