+
+

बागलुङ दुर्घटनाका घाइतेलाई विमानले काठमाडौं लैजान मानेन

थप उपचारका लागि काठमाडौं जान नपाएपछि मणिपालमा भर्ना गरियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १९:४४

६ चैत, पोखरा । बागलुङको निसीखोलामा भएको बस दुर्घटनाका दुई जना घाइतेलाई यती एयरलाइन्सको विमानले काठमाडौं लैजान अस्वीकार गरेको छ ।

पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१-००६ ख ३७९ नम्बरको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका थिए भने २६ जना घाइते भएका थिए। त्यसमध्ये रुकुम पश्चिमकी लक्ष्मी पुन र सविना पुनलाई थप उपचारका लागि काठमाडौं लैजान धौलागिरी प्रादेशिक अस्पतालले रिफर गरेको थियो ।

दुई जना घाइते र उनीहरुका दुई जना आफन्तले पोखराबाट काठमाडौं उड्ने यती एयरलाइन्सको २ः ५५ बजेको उडानको टिकट काटेका थिए । तर एयरलाइन्सले बिरामीको अवस्था गम्भीर रहेको भन्दै लैजान नसक्ने जानकारी गराएको घाइतेका आफन्त नवचन्द्र वलीले बताए ।

‘घाइतेको अवस्था टिकट काट्ने बेलामै भनेका हौं । बस दुर्घटनाको बिरामी हो भनेकै हो तर बिरामी लैजान नसकिने भन्दै फर्काइदिएपछि अलपत्र परियो,’ आफन्त वलीले भने ।

काठमाडौं जाने प्रतीक्षामा घाइते र उनीहरुका आफन्त दुईवटा एम्बुलेन्समा ३ घण्टासम्म पोखरा विमानस्थल बाहिर बसेका थिए । पोखराबाट यती एयरको एउटा विमानले घाइतेलाई छाडेर उडेपछि काठमाडौंबाट आउने अर्को विमान पनि कुरेका थिए । तर यतीकै दोस्रो विमानले पनि काठमाडौं लैजान नमानेपछि घाइतेहरुलाई पोखराकै मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

‘मणिपालमा ल्याउँदा डाक्टरले घाइतेको अवस्था र सडकका कारण एम्बुलेन्समा काठमाडौं लैजान सक्ने अवस्था छैन भन्नुभयो’,  आफन्त बेबिना पुनमगरले भनिन् । घाइतेहरुको मेरुदण्डमा समस्या छ ।

यती एयरलाइन्सका पोखरा प्रतिनिधि राम लामिछानेले घाइतेका आफन्त र टिकट काट्ने कर्मचारीबीच सही समन्वय नभएका कारण अप्ठेरो परेको बताए । ह्वीलचेयरमा समेत राख्न नसकिने र स्ट्रेचर नै चाहिने बिरामी भएकाले काठमाडौं लैजान नसकिएको उनको भनाइ छ ।

बिरामीका आफन्तले भने पहिले अर्को जहाजमा लैजानुस्, हाम्रोमा सिट छैन भनेर फर्काएको बताए । ‘४ जनाको टिकट काटिसकेपछि अर्को जहाजमै भए पनि घाइतेलाई काठमाडौं लैजाने जिम्मेवारी हो कि होइन’, घाइतेका एक आफन्तले भने, ‘३ घण्टासम्म विमानस्थल बाहिर अलपत्र हुँदा घाइते तलमाथि भएको भए को जिम्मेवार हुन्थ्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?