+
+

विदेशबाट फर्केर सूर्यमुखी फूल खेतीमा तल्लीन

फूल हेर्न चितवन आसपासका मानिस अहिले खेतमै पुगेर मनोरम दृश्य हेरिरहेका छन् । नेपालमा खासै सुरु नभएको सूर्यमुखी फूलको व्यावसायिक खेती लगाउने चितवनका सञ्जीव गिरी हुन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० चैत ८ गते १७:५६

८ चैत, काठमाडौं । चितवन कालिका नगरपालिका र रत्ननगर नगरपालिका सीमामा अहिले सूर्यमुखी फूल ढकमक्क फुलेको छ । पाँच हेक्टर जग्गामा चार जना मिलेर गरेको यो खेतीमा अहिले सूर्यमुखी फूलको दाना लाग्ने बेला भएको छ ।

फूल हेर्न चितवन आसपासका मानिस अहिले खेतमै पुगेर मनोरम दृश्य हेरिरहेका छन् । नेपालमा खासै सुरु नभएको सूर्यमुखी फूलको व्यावसायिक खेती लगाउने चितवनका सञ्जीव गिरी हुन् ।

इजरायलको कृषि क्षेत्रमा काम गरेर आएका गिरी तीन वर्षदेखि व्यावसायिक खेती गरिरहेका छन् । उनले अन्य तीन साथीसँग मिलेर व्यावसायिक सूर्यमुखी फूल खेती पहिलोचोटि गरेका हुन् ।

गिरीले एक बिघाभन्दा धेरै जमिनमा तरकारी खेती लगाएका छन् । आगामी साता १० कठ्ठा जमिनमा मेवा रोप्ने योजना पनि गिरीको छ ।

सञ्जीव गिरी

‘पाँच हेक्टरमा हामी चार जना मिलेर सूर्यमुखी फूल खेती सुरु गरेका छौं । अघिल्लो पटक दुई जनाले भरतपुर महानगरपालिकामा लगाएका थिए,’ गिरीले अनलाइनखबरसँग भने, ‘अहिले मसहित दुई जना मिलेर कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको बोर्डरमा लगाएका हौं । जग्गाबाहेक ७ लाख रुपैयाँ लगानी गरेका छौं । पाँच महिनामा प्रतिफल सहित नाफा निकाल्ने हाम्रो योजना छ ।’

गिरीले बागमती प्रदेश अन्तर्गत कृषि ज्ञान केन्द्र चितवनले तेलहन खेतीमा ५० प्रतिशत अनुदान दिने थाहा पाएपछि खेती गर्न आँट आएको बताए ।

‘अनुदानमा तोरी र सूर्यमुखी लगाउन पाइने थियो, हामीले सूर्यमुखी खेती गर्‍यौं । नयाँ भएकाले पहिलो पटक थोरै लगानी गरेका हौं,’ उनले भने ।

एक किलो दाना उत्पादन गर्न सके आधा लिटर तेल निकाल्न सकिने उनले बताए । ‘हामीले ६ हजार किलो सूर्यमुखी फूलको दाना निकाल्ने अनुमान गरेका छौं । यहाँबाट ३ हजार लिटर तेल उत्पादन हुन सक्छ,’ उनले भने ।

के हो चुनौती ?

किसान गिरीका अनुसार रोपेको पाँच महिनाभित्र पूरै प्रतिफल दिने भए पनि उचित हेरचाह हुनुपर्ने बताए । उनले खेतीका लागि पानी जम्न दिन नहुने बताए ।

‘सूर्यमुखी फूलमा रोग किरा त्यति लाग्दैन, केही गरी लागिहाले निमको तेल र झोल मल प्रयोग गरे हट्छ । फूलमा दाना लाग्न थालेपछि भने सुगा एकदम नै लाग्छ,’ गिरीले भने, ‘सूर्यमुखीको दाना सुगालाई एकदमै मनपर्ने खाना पनि हो । यति जोगाउन सके खासै खेर जाँदैन ।’

उनका अनुसार सूर्यमुखी खेती गर्न राम्रोसँग जोतेर प्रांगारिक मल हालेपछि मकै जसरी नै रोप्नुपर्छ । यो फूलमा प्रशस्त मात्रामा प्रांगारिक मल प्रयोग गर्नुपर्ने हुन्छ । खेती सुरु गर्नु अगाडि खेतलाई राम्ररी जोत्नुपर्छ । माटो एकदम धुलो बनाउनुपर्छ ।

यो खेतीको लागि सुरुदेखि नै जमिन चिस्यान भइरहनुपर्ने उनको भनाइ छ । ‘सुक्खा लाग्ने अवस्थामा सिँचाइको व्यवस्था मिलाउनुपर्छ । यसको तेल निकाल्न तोरी पेल्ने मेसिन प्रयोग गर्दा पनि हुन्छ,’ उनले भने ।

के छ बजार ?

किसान गिरीका अनुसार सूर्यमुखी तेल प्रयोग गर्ने नेपालमा धेरै उपभोक्ता भए पनि आफ्नै उत्पादन भने कम हुने गरेको छ ।

‘आजभन्दा पहिले नेपालमा व्यावसायिक तरिकाले उत्पादन नभएका कारण स्थानीय समुदायमा यसको तेलबारे व्यापक प्रचार भए बजार राम्रो हुने थियो,’ उनले भने, ‘तेलसँगै सूर्यमुखीको दानाबाट पिना पनि निकाल्न सकिन्छ । पिनाको प्रयोग गाइभैंसीको दाना बनाउन पनि सकिन्छ । बहुउपयोगी हुन्छ ।’

गिरीले भनेजस्तै नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ फागुन मसान्तसम्म ११ अर्ब ९१ करोड रुपैयाँ बराबरको ८ करोड ८५ लाख ९५ हजार लिटर सूर्यमुखी तेल आयात भएको छ ।

चितवनमा जस्तै मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पनि सूर्यमुखी फूल खेती पहिलोचोटि भएको छ । मकवानपुरगढी गाउँपालिका–३ को धमिले फाँटमा किसान गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा सूर्यमुखी लगाएका हुन् । गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीका अनुसार परीक्षणको रूपमा लगाएको खेतीमा केही दिनदेखि चलेको हावाले भने असर गरेको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?