 
																						८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । पार्टीमा गुटगत राजनीति मौलाएको र कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
‘पार्टी एक प्रकारले गुटहरूको महासंघजस्तो भयो । नेताहरूलाई आफू निकटलाई मात्रै जिम्मेवारी दिने र अरूलाई पाखा लगाउने प्रवृत्ति बढेपछि मैले त्यो पार्टीमा बसेर हुँदैन भन्ने निष्कर्ष निकालेको छु’, शर्माले अनलाइखबरसँग भने, ‘यस विषयमा मैले पार्टी अध्यक्षलगायत जिम्मेवारी पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको थिएँ । तर भेटमा उहाँहरू तपाईंले उठाएको कुरा गम्भीर हो भन्छन्, छुटेपछि बिर्सिन्छन् । यहाँ बस्नु समय बर्बाद गर्नु मात्रै हो भन्ने लागेपछि मैले पार्टी छाड्ने निर्णय गरेको हुँ ।’
शर्माले अब के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको, तर राजनीतिमा नै रहने बताए । त्यसका लागि तराई मधेशका एजेन्डा बोक्ने राजनीतिक दलसँग सहकार्य गर्ने र आफ्नो भूमिका स्पष्ट भएपछि नयाँ वर्षअघि नै निर्णय लिने उनको भनाइ छ ।
आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘अन्तिम समयमा गत २८ फागुनमा मैले अध्यक्ष कमरेडसँग लामो समय बसेर समस्याबारे छलफल गरेँ । उहाँले निकै गम्भीर भएको जस्तो गर्नुभयो’, उनले भने, ‘तर त्यसपछि कार्यविभाजन गर्दा पुरानै समस्या दोहार्याउनु भयो ।’
उनले आफू पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएर नाम मात्रैको नेता बनाएको उनको भनाइ छ । साथै, मधेसमा जिम्मेवारी पाएर आउने हरेक नेताले गुटलाई मात्रै केन्द्रमा राख्ने गरेको र वास्तविक समस्यालाई सुन्ने नचाहेको बताए ।
पछिल्लो समय जनतासँग जाँदा पार्टीका पदाधिकारी तहकै नेताहरूमाथि प्रश्न उठ्ने गरेको, तर आफूले उनीहरूलाई दिने जवाफ पनि नभएकाले अब यो पार्टी नैतिक हिसाबले पूर्णरूपमा संकटग्रस्त भयो भन्ने निष्कर्षमा आफू पुगेको उनको भनाइ छ ।
शर्माको राजीनामा पत्र यस्तो छ–
आदरणीय अध्यक्ष क.प्रचण्ड
नेकपा (माओवादी केन्द्र)
विषय– राजीनामा
३ वर्षको भूमिगत जीवन र १५ वर्षको खुल्ला (संसदीय) राजनीतिमा आदरणीय अध्यक्ष क. प्रचण्डसँग केन्द्रीय समितिमा रही काम गर्ने अवसर प्राप्त भयो । यो अवधिमा वहाँ लगायतका नेताहरूसँग सहकार्य गर्दा अमूल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अवसर मिल्यो । यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यावाद दिन चाहन्छु ।
नेकपा माओवादी पार्टीको असल नीति र क्रान्तिकारी नेतृत्वकै कारण मैले सरकारी सेवाबाट विद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरें । जनयुद्धको दौरान आफू सौभाग्यवश पटक–पटक बाँच्न सफल भए पनि आफ्नो परिवारको सदस्यले शहादत प्राप्त गरे । म निर्वाचित संविधान सभा सदस्य पद माओवादीकै कारण राजीनामा नै दिएँ । म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमान्दारीपूर्वक देश र जनताको पक्षमा दुई दशकसम्म योगदान गर्ने अवसर प्राप्त गरेँ ।
माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश पातालको फरक पाएको अनुभूति हुन्छ । माओवादी पार्टीले लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचान सहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पूर्ण समानुपातिक समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, निःशुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको साथै रोजगारीको ग्यारेन्टी सहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन, महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन, १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु ।
सम्मानित प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिकजसो अभिव्यक्तिमा सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरू बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु, माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासङ्घको रूपमा रूपान्तरण हुनु । १० वर्षे जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत विदेशी शक्तिको आड भरोसामा सरकारमा रहनकै लागि पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अन्तत अँध्यारो दिशा तर्फ धकेलेको महसुस गरेको छु । यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन । तसर्थ आजकै मितिबाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4