
८ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अगामी आर्थिक वर्षमा पहुँचको आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा उनले १६५ वटै निर्वाचन क्षेत्रमा सन्तुलित किसिमले बजेट छुट्याउनुपर्ने बताएका हुन् ।
‘मुलुकलाई सन्तुलित विकासको आवश्यकता छ । १६५ निर्वाचन क्षेत्रले अपनत्व ग्रहण गर्ने हिसाबले पहुँचको आधारले होइन आवश्यकताको आधारमा योजनाहरु तर्जुमा गर्नुपर्ने छ । पूर्वाधारको व्यापक विकास नै अहिलेको आवश्यकता हो’, उनले भने ।
सूचना प्रविधि क्षेत्रबाट धेरै आम्दानी र रोजगारी सिर्जना गर्न सकिने भन्दै कार्कीले सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘आईटीलाई इन्करेज गर्ने किसिमको नीति निर्माण गर्न सकेका छैनौं । रातो किताबमा योजना समावेश हुन्छ । बजेट विनियोजन पनि हुन्छ । तर कार्यान्वयन हुँदैनन्’, उनले भने ।
सरकारले अधुरा आयोजनालाई पूरा गर्न बजेट विनियोजन गर्नुपर्ने सांसद कार्कीले बताए ।
प्रतिक्रिया 4