+
+
साहित्य :

शीर्षक एक, कथा तीन

ढाकामोहन बराल ढाकामोहन बराल
२०८० चैत १० गते १२:५८

माया–१

‘माइला आज काम सकेपछि मैले भन्या ठाउँमा जाऊँ है’, पूर्णेले भन्यो ।

‘म त जान्नँ । सीधै कोठामा जान्छु’, हातको सिमेन्ट पखाल्दै माइलाले भन्यो ।

‘के भाको हो यो माइला, भनेको त पटक्कै मान्दैन’, पूर्णेले भन्यो ।

‘सधैं भनेको मान्न कहाँ पाउँछु र’ अघि आफूलाई दिएको खाजा पोको पार्दै माइलाले भन्यो ।

‘माइला तिम्रो जस्तो श्रीमती र छोराछोरी सबैका हुन्छन् । कति माया गर्छौ र हो ?’ पूर्णेले भन्यो । ‘अरू जस्तो हो र ? मेरो जहानलाई बेथा पनि पूरै लाग्यो । सबै बेथा पनि लागिसक्यो त्यसपछि बल्ल अपरेशन गर्नुपर्छ भन्छ डाक्टरले पनि । मेरो बुढीले त डबल दुःख पायो’, माइलाले भन्यो ।

अघिदेखि अघिल्लो दिन प्लास्टर गरेको भित्तामा पानी राखेर भिजाउँदै थिएँ, उसको मायाले मन छोयो । ‘लौ आज हजार रुपैयाँको मासु किनेर लैजाऊ, माइला’ भन्दै पैसा दिएँ । आफ्नो जहानलाई माया गर्न थालेपछि सबैले माया गर्दोरहेछ भन्दै उसले खुसी भएर हात थाप्यो ।

माया–२

‘तेरो पनि बानी लाग्यो कि कसो ?’ माइतबाट आएकी बैनीले सोधी । ‘केको बानी लाग्नु हो र ?’ साहिंलीले भनी । ‘के हो त यो घरमै ?’ खाटमुनिबाट रक्सीको बोत्तल निकाल्दै भनी । ‘हैन, तेरा भिनाजुलाई ल्याइदिएको हो नि !’ साहिंलीले भनी ।

‘भिनाजुले बाहिरै पिएर आउँथे नि, घरमै ल्याउनुपर्छ ?’ बैनीले भनी । ‘तल बेंसीको भट्टीबाट पिएर आउँदा भीरको बाटोमा लडे भने के गर्ने ? नखाई छोड्दैनन् तेरा भिनाजुले !’ साहिंलीले भनी । ढोका बाहिरबाट दिदी–बहिनीको संवाद सुनेको साहिंलोले घरक्क ढोका खोल्यो र भन्यो– ‘अब म रक्सी खान्न साहिंली ।’

माया–३

‘जतिसुकै भने पनि नलाग्ने । पहिला पुरानो बाँकी तिरेर मात्र लैजालास्’ साहुले कराउँदै थियो । ‘दिन्छु नि काममा लागेपछि । अहिलेलाई देऊ न साहु बा ! कति हेप्छौ तिमी पनि ?’ जुठेले भन्यो । ‘मेरा पनि घरमा उम्रेको होइन क्यारे ! बजारबाट खरिद गरेर ल्याएको हो । के गर्छस् ?’ साहुले भन्यो ।

सुन्तली त्यही बाटो खेतमा जाँदै थिई । साहुजीको अगाडि जुठे अनेक अनुरोध गर्दैथियो । सुन्तली दिउँसो खेतबाट फर्कंदा ठाँटी बजारको पसल बाहिर सुनसान थियो । पसल भित्र बसेर साहुजी बहीखाता हेर्दै थियो । ‘साहुजी जुठेको पुरानो कति छ ?’ सुन्तलीले सोधी । साहुजीले चश्मा माथिबाट सुन्तलीलाई हेरे ।

‘तिरिदिन्छेस् ? लौ हेर नौ सय भएको छ’ साहुजीले सोध्यो । उसले मजेत्रोको छेउको गाँठो फुकाएर गुट्मुटिएको हजारको नोट निकालेर साहुजीलाई दिई । साहुजीको अनुहारमा चमक देखियो । ‘साहुजी जुठेलाई राशन नरोक है, उसले सके तिर्छ नभए मै तिरौंला । बरु यो कुरा कसैलाई नभन्नु’, सुन्तलीले भनी ।

‘किन यस्तो गर्छेस् सुन्तली ?’ साहुजीले सोधे । ‘भातै भात खाउँला भनेर पोइला गए पनि माया मर्दो रहेनछ । के गरौं ?’ सुन्तलीले भनी ।

पोखरा–७ मासबार, कास्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?