+
+

त्रिभुवन विश्वविद्यालय पुनर्संरचनाका सम्भावित ३ मोडल

बिदुरप्रसाद दाहाल बिदुरप्रसाद दाहाल
२०८० चैत १२ गते ७:४८

त्रिभुवन विश्वविद्यालय नियन्त्रण र ब्यवस्थापन गर्न नसक्दा भद्रगोल भयो । आफ्नै भीमकाय संरचना भद्दा र अस्तव्यस्त भए । शिक्षक-कर्मचारी-विद्यार्थीको राजनीति अती भयो । राजनीतिले यसलाई थिल्थिलो बनायो । गुणात्मकभन्दा संख्यात्मक जनशक्ति उत्पादन गर्ने कारखाना भयो । विद्यार्थीको परीक्षाफल एक वर्षमा पनि दिन नसक्ने भयो । पास भएको प्रमाणपत्र लिने हैरानीको कुरा गरी साध्य छैन । आˆनै शिक्षक/कर्मचारीलाई परिचालन गर्न महाभारत भयो । त्यति मात्र होइन यो भौगोलिक रुपमा अति ठूलो भयो ।

त्यसैले अब त्रिभुवन विश्वविद्यालयलाई एउटा जीवन्त र कृयाशील बनाउन हालको अवस्थालाई पुनर्संरचना गर्नु पर्छ । यो अपरिहार्य छ । पुनर्संरचनाबाट रुपान्तरणको आशा गर्न सकिन्छ । अन्यथा यो मृत विश्वविद्यालय बन्ने भो । अहिलेकै अवस्थामा विश्वविद्यालय अगाडि बढ्नै सक्दैन । दिनानुदिन यसले साख गुमाउँदै छ । साख बचाउन पनि पुनर्संरचना नगरी हुन्न ।

देशमा सत्रवटा विश्वविद्यालय स्थापना भए तापनि विद्यार्थीको बोझ भाग लगाउने हो भने झन्डै ८० प्रतिशत भार त्रि. वि. कै छ । गौरवमय इतिहास बोकेको यो विश्वविद्यालयलाई जीवन्त राख्नु सबैको दायित्व हो । यसमा राज्यको भूमिका अझै बढी हुन्छ । राज्यले वास्ता गरेन भने पनि त्रि. वि.आफैंले आफ्नो भीमकाय स्वरुपलाई चुस्त दुरुस्त बनाई दुनियाँलाई एउटा असल पाठ सिकाउनु पर्छ । विश्वविद्यालयका लागि यो चुनौती हो ।

कसरी गर्ने पुनर्संरचना ?

पुनर्संरचनाका धेरै मोडलहरु छन् । नेपालको परिवेश र विश्वका अरु अनुभवलाई हेरेर पनि पुनर्संरचना गर्न सकिन्छ । यसका लागि विज्ञहरुसँग व्यापक छलफल गर्नु पर्छ । केही सम्भावित मोडल यस्ता छन् –

मोडल नम्बर १

अहिलेको प्रदेशलाई आधार बनाएर पुनर्संरचना गर्न सकिन्छ । जस्तोÙ पूर्वको भूगोललाई समेटेर त्रिभुवन विश्वविद्यालय कोशी, मधेशको भूगोल तथा आˆना क्याम्पस/कलेज समावेश गरी त्रिभुवन विश्वविद्यालय मधेश बनाउन सकिन्छ । एवं रितले हरेक प्रदेशको भूभाग र त्यसमा संचालित आफ्ना क्याम्पस/कलेजलाई समेटेर प्रदेशगत विश्वविद्यालय बनाउन सकिन्छ । नामको पछाडि प्रदेश जोड्न सकिन्छ । यसरी बनेका विश्वविद्यालयले अहिलेकै जस्ता विषय र फ्याकल्टीहरु राखेर आफ्ना शैक्षिक कार्यक्रम नियमित सन्चालन गर्न सक्छन् । वर्तमानकै जनशक्ति र स्रोत साधनबाट कामको शुरुवात गर्न सकिन्छ ।

मोडल नम्बर २

विधागत विश्वविद्यालय बनाउन सकिन्छ । एउटै विश्वविद्यालयले फरक-फरक विषय अध्ययन/अध्यापन नगराई विशिष्टिकृत विषय अध्ययन/अध्यापन गराउने विश्वविद्यालय बनाउन सकिन्छ । जस्तो- इन्जिनियरिङ विश्वविद्यालय, कानुन विश्वविद्यालय, मेडिसिन विश्वविद्यालय, कला -मानविकी) विश्वविद्यालय, व्यवस्थापन विश्वविद्यालय, साइन्स एण्ड टेक्नोलोजी विश्वविद्यालय आदि । यसको पछाडि त्रिभुवन विश्वविद्यालय जोड्न पनि सकिन्छ । नजोडी अलग विधाका विशिस्टिकृत विश्वविद्यालय बनाउन पनि सकिन्छ । यसो गर्दा विश्वविद्यालयको प्रभावकारिता बढ्छ । यस्तो अभ्यास पनि छ । दुनियाँमा परिचित भएको नाताले त्रिभुवन विश्वविद्यालयकै नाम जोडेर अलग-अलग विधाका विशिष्टिकृत विश्वविद्यालय बनाई पुनर्संरचना गर्न सकिन्छ ।

मोडेल नम्बर ३

त्रिभुवन विश्वविद्यालयसग मात्र सरोकार नराखी अहिले स्थापना भएका अरु विश्वविद्यालय जस्तै पोखरा, पूर्वाञ्चल, राजषर्ी, बौद्ध, मध्यपश्चिम जस्ता विश्वविद्यालयका नजिक हुने सबै क्याम्पस/कलेजलाई ती विश्वविद्यालयमा समावेश गरी क्षेत्रगत रुपमा विश्वविद्यालय बनाउन सकिन्छ । यो प्रदेशगत विश्वविद्यालय भन्दा केही भिन्न हुन सक्छ । अहिलेकै जस्ता फरक-फरक विधाका विषय अध्ययन/अध्यापन गराउन सकिन्छ ।

तेस्रो मोडेलको पुनर्संरचना जटिल छ । अरु विश्वविद्यालयसँग पनि तालमेल मिलाउनुपर्ने हुँदा केन्द्र सरकार तथा प्रदेश सरकारहरुले सहयोग र सहजीकरण गर्नुपर्छ, जुन त्यति सजिलो छैन ।

पुनर्संरचनामा समस्या के आउन सक्छन् ?

पुनर्संरचना गरिरहँदा पुरानो मनोवृत्तिका शिक्षक कर्मचारीलाई तह त्यति सजिलो छैन । राजनीतिले गिजोलगाजोल गर्न सक्छ । एकै पटक देशभर छरिएका त्रि.वि. को सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कामलाई ब्यवस्थित गर्न कठिन हुन सक्छ । आर्थिक समस्या आउन सक्छ । जनशक्ति र स्रोत साधन व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ । केन्द्र सरकार र प्रदेश सरकारको सहयोग अपरिहार्य हुन्छ । जुन त्यति सजिलो छैन । यद्यपि त्रिभुवन विश्वविद्यालय आफैंले सक्रिय र नेतृत्वदायी भूमिका खेलेर सरकारहरुलाई सहयोग गर्न बाध्य बनाउन सक्छ । यो कुरा त्रिभुवन विश्वविद्यालय नेतृत्वको क्षमतामा भर पर्छ ।

पुनर्संरचनाको उपलब्धि के हुन्छ ?

यसरी पुनर्संरचना गर्न सकिए त्रिभुवन विश्वविद्यालयको पहिलेकै हैसियत वा साख कायम हुन्छ । शैक्षिक कभरेज देशभर कायम भइरहन्छ । भीमकाय संरचनाको कारण अस्तव्यस्त भनेको विश्वविद्यालय चुस्त हुन्छ । सानो नै राम्रो तथा सानो नै ब्यवस्थित भन्ने कुरा कार्यान्वयनमा आउँछ । शैक्षिक गुणस्तरमा अभिवृद्धि हुन्छ । त्रिभुवन विश्वविद्यालयमा देखिएको भद्रगोल अवस्था सुधार हुन सक्छ । यसो गर्न सके त्रिभुवन विश्वविद्यालयले देशको आवश्यकता अनुरुप सबै खालका जनशक्ति उत्पादन गरेर राज्यलाई सहयोग गर्न सक्छ । आवश्यकताविना नै नयाँ विश्वविद्यालय खोलिएका छन् । त्यस्ता विश्वविद्यालय खोल्न यसले निरुत्साहित गर्छ ।

जे जसरी गरे पनि हुन्छ तर गर्नुपर्छ । पुनर्संरचनाका मोडेलहरुमा बहस र छलफल चलाउन हतारो भयो । त्रिभुवन विश्वविद्यालयलाई एउटा जीवन्त र कृयाशील विश्वविद्यालय बनाइरहन यो काम नगरी हुन्न, गर्नैपर्छ । सरकार यसमा सहयोगी हुनुपर्छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?