+
+

सडकमा कमजोर नियमन : मालवाहक सवारीले यात्रु बोक्दा ठूलो मानवीय क्षति

दुर्गम भेग र प्रहरीको आँखा छल्दै स्थानीय भेगमा मालवाहक सवारीसाधनले यात्रुसमेत बोक्दा ठूलो मानवीय क्षति दोहोरिने गरेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० चैत १२ गते १८:५९
Photo Credit : RSS
अछामको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटना ।

१२ चैत, काठमाडौं । सोमबार अछाम मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भयो, तीन घाइते भए ।

जिल्लाको षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको सुपप्र ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुन साउदले जानकारी दिए ।

गत ५ पुसमा रुकुम पश्चिममा ट्याक्टर दुर्घटना भयो । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ नजिकै भएको दुर्घटनामा पाँचको मुत्यु र नौ घाइते भए । रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

गत १ पुसमा बाजुरामा ट्याक्टर दुर्घटनामा पर्‍यो । जिल्लाको बडीमालिका–२ खडीगाडमा भएको दुर्घटनामा चार जनाले ज्यान गुमाए । मार्तडीबाट गौमुल जाँदै गरेको सुपप्र ०१ ००२ त ४१०५ नम्बरको ट्याक्टर दुर्घटनामा चारको मृत्यु भएको थियो । उक्त घटनामा दुई ट्याक्टर सडकमा एकअर्कालाई उछिन्न प्रतिस्पर्धा गर्दा दुर्घटनामा परेको खबर सार्वजनिक भएको थियो ।

गत १८ मंसिरमा मकवानपुर हेटौंडा नगरपालिकामा ट्याक्टर दुर्घटनामा पर्‍यो । पानीस्वारामा भएको मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भयो । पार्किङ गर्न ब्याक गर्ने क्रममा ट्याक्टर भीरबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको थियो ।

यी सबै पछिल्लो केही महिनायता भएका ठूला ट्याक्टर दुर्घटनाका खबर हुन् । हरेक दिनजसो मुलुकका विभिन्न स्थानबाट आउने दुर्घटनाको शृङ्खला अझ डरलाग्दो छ । जहाँ अमूल्य जीवनको अकाल क्षति भइरहेको छ ।

यसमा पनि अझ डरलाग्दो पक्ष मानिसले मालवाहक सवारीसाधनका कारण ज्यान गुमाइरहेका छन् । यसले नेपालका सडकमा हुने कमजोर नियमनको पाटोलाई छारस्ट पारिदिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०५ मा कुनै पनि यात्रु आफूले यात्रा गर्ने गन्तव्यसम्म तोकिएको भाडा तिरी लिएको टिकट साथमा नलिई यात्रा गर्न नहुने उल्लेख छ । टिकट काटेर यात्रा गर्ने यात्रुको मात्र बीमा र क्षतिपूर्ति हुने गर्छ ।

ऐनअनुसार यात्रुवाहक सवारीसाधनले यात्रुको झिटीगुन्टा बाहेक अन्य सामान बोक्न पाइँदैन । साथै, मालवाहक सवारीसाधनले यात्रु बोक्न पाइँदैन । पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्रु बोक्न र निजी सवारीले यातायात सेवा दिन नपाउने नियम ऐनमा छ ।

‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइने छैन,’ ऐनमा छ । तर, नेपालमा भने ‘बाध्यता’ का नाममा जोखिम उठाउने गरेको पाइन्छ ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकाल प्रहरीको उपस्थिति हुने स्थानसम्म चुस्त नियमन हुने तर दूरदराजका पहाडी भूभागमा भने मालवाहक सवारीले समेत यात्रु बोक्ने गरेको देखिने बताउँछन् ।

‘हाम्रो निगरानी रहने स्थानसम्म नियम अनुसार कडाइ भइरहेको छ,’ उनले भने, ‘तर, पहाडी र हिमाली क्षेत्रमा पर्याप्त यात्रुवाहक सवारीसाधन नचल्ने र ट्याक्टरमा यात्रा गर्नु बाध्यता समेत देखिन्छ ।’

दुर्गम भेग र प्रहरीको आँखा छल्दै स्थानीय भेगमा मालवाहक सवारीसाधनले यात्रुसमेत बोक्दा ठूलो मानवीय क्षति दोहोरिने गरेको छ ।

सामान्यतया सामान बोक्ने साधनमा यात्रु बोक्दा स्वाभाविक रूपमा बढी जोखिम हुने भन्दै कानुनतः यसमा रोक लगाइएको प्रवक्ता ढकालले बताए ।

यस्तो सवारीसाधनमा जोखिम छ भन्नेबारे यात्रु आफैंसमेत जागरुक हुने, बढी यात्रुको चाप हुने स्थानमा पर्याप्त यात्रुवाहक सवारीसाधन व्यवस्थापन गर्न सके यस्तो जोखिम कम हुन्छ ।

कम छैन दुर्घटना दर

नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा मालवाहक सवारीसाधन दुर्घटनाको दरसमेत भयावह देखिन्छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो त्रैमास (साउन–असोज) मा देशभरि ४ सय ५७ ट्रक/ट्यांकर दुर्घटनामा परेको वा दुर्घटनामा संलग्न छन् ।

तीन महिनामा ९९ टिपर दुर्घटनामा परेको वा दुर्घटना गराएको तथ्यांक छ । तीन महिनामा १ सय ७ ट्याक्टर दुर्घटनामा परेको वा दुर्घटनामा संलग्न रहेको प्रहरी तथ्यांक छ ।

चालु आवकै दोस्रो त्रैमास अर्थात् असोज–पुस तीन महिनामा देशभरि दुर्घटनामा ट्रक र ट्यांकरको संलग्नता ४ सय १७ छ । टिपर संख्या १ सय १४ छ । ट्याक्टर दुर्घटना र दुर्घटनामा यसको संलग्नता दर २ सय १७ देखिन्छ । यसले पछिल्लो समय ट्याक्टर दुर्घटना दर अझ बढेको देखिन्छ ।

उता, सवारी धनीसमेत सवारी ऐन विपरीत यात्रा गर्ने–गराउने व्यवस्थाको भने विरोधमा छन् । गत माघ दोस्रो साता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रहरी प्रधान कार्यालयमा यातायात सम्बन्धी विभिन्न समस्या समाधानका उपायसहितको पत्र बुझाएको थियो ।

जसमा दुर्घटना न्यूनीकरणका लागि मापदण्ड विपरीत रुट इजाजतपत्र विना सञ्चालनमा आएका सवारीसाधन सञ्चालनमा रोकदेखि सवारी ऐन विपरीत दर्ता भएका तर प्रयोजन विपरीत सवारीसाधन सरह यात्रु र मालसामान ओसारपसार गर्ने गराउने काममा रोक लगाउन माग गरिएको थियो ।

भारतीय मालवाहक सवारीसाधनले देशभरि निर्वाध यात्रु तथा मालसामान ढुवानी गरिरहेको भन्दै त्यसलाई पूर्णतः रोक लगाउन समेत माग गरिएको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?