+
+

इटहरीमा भैँसी प्रतियोगिता, चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम

रासस रासस
२०८० चैत १२ गते २०:२४

१२ चैत, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । वर्षेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो ।

भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता गरिएको आयोजक संस्थाका सचिव राजन धमलाले जानकारी दिए ।

इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनमा सुनसरी र मोरङमा भैँसीपालन गर्दै आएका किसानबीच प्रतिस्पर्धा गरिएको हो । दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव धमलाले जानकारी दिए ।

प्रतियोगितामा सुन्दरहरैँचाका ३० किसानका ५० भैँसी प्रतियोगितामा सहभागी गरिएका थिए ।

प्रतियोगितामा इटहरी उपमहानगरपालिका–३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ । त्यसैगरी सुन्दरहरैँचा–५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको धमलाले बताए ।

त्यसैगरी सुन्दरहरैँचा–५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना पुरस्कार पाउन सफल भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव धमलाले जानकारी दिए ।

भैँसी प्रतियोगिताका निर्णायकमा भेटेरीनरी अस्पताल सुनसरीका प्रमुख कुमारसिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपक्षी शाखाका प्रमुख डा दुर्गाबहादुर श्रेष्ठ र इलारी संस्थाका कार्यक्रम संयोजक एकमणि नेपाल रहेका थिए । भैँसीको स्वास्थ्य, रूप, जिउ डाल, जात, दूधको उत्पादनलगायत गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गरेका थिए ।

प्रतियोगिताका विजेता भैँसी धनी किसानलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक धमलाले जानकारी दिए ।

पछिल्लो समय किसानले भैँसी पाल्न छाड्न थालेकाले यसको महत्व बुझाउन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिए । भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि बर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताए ।

विगतका वर्षभन्दा यस वर्ष किसानकै घरदैलोमा पुगेर प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

दुग्ध उत्पादक सहकारी संस्थाले किसानबाट उत्पादन भएको दूध सङ्कलन, बिक्रीवितरण गर्दै आएको छ भने आवश्यक ऋणसहितको सुविधा दिँदै आएको व्यवस्थापक कोइरालाले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?