+
+
सम्झना :

नेपाली आख्यानका धरोहरमा शब्द श्रद्धाञ्जली

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८० चैत १७ गते १८:३५

वि.सं.  २०८० चैत ५ बजे राति साहित्यकार परशु प्रधानले धरतीबाट बिदा लिएपछि नेपाली आख्यानका एक धरोहर ढलेको अनुभव भयो । २००० साल माघ ३० गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेका उनी ८० वर्षका थिए ।

निरन्तर सम्पर्कमा रहन रुचाउने उनीसँग पछिल्ला केही महिना मेरो सम्पर्क थिएन। पछिल्लोपल्ट मेरो छोटो नेपाल बसाइमा कुनै सम्पर्क भएन। त्यसअघिको नेपाल बसाइका क्रममा उनका छोरा चर्चित पत्रकार प्रतीक प्रधानसँग मेरो भेट उनकै कार्यालय बाह्रखरी मिडियाको कार्यकक्षमा भएको थियो। मैले त्यतिबेला उनीसँग प्रस्ताव गरेको थिएँ– ‘परशु दाइ मेरा आदरणीय अग्रज कथाकार हुनुहुन्छ । नेपाली कथा साहित्यको एक शिखर। उहाँले एक सय बढी कथा लेख्नुभएको छ। पहिले प्रकाशित कतिपय कथा सङ्ग्रहहरू बजारमा अप्राप्य छन् । अब त उहाँले लगभग लेख्न छाड्नुभएको अवस्था छ। उहाँका पुस्तकाकारमा आएका र छुटेका सबैको यौटा समग्र कथाको पुस्तक निकालौं न ।’ यो नेपाली साहित्यका लागि, कथाका पाठकका लागि त उपयोगी हुन्छ नै, उहाँलाई पनि सम्मान नै हुन्छ। तपाईंहरू मान्नुहुन्छ भने, त्यसको लागि म सहयोग गर्न तयार छु।

प्रतीकजीलाई मेरो सुझाव मन पर्‍यो। उनले भने,  ‘यो त राम्रो कुरा हो। म बुवासँग सल्लाह गरेर भन्छु है !’

त्यसै दिनको साँझ परशु दाइको फोन आयो– ‘गोविन्द भाइ, तपाईंले प्रतीकसँग मेरो समग्र कथा सम्पादन गर्ने कुरा गर्नुभएछ। हुन्छ नि, तपाईंले गर्ने भनेपछि म ढुक्क भएँ ।’

तर त्यसपछि प्रतीकजीसँग मेरो थप भेट भएन । परशु दाइसँग पनि भेट भएन । म अमेरिका फर्किहालें। परशु दाइसँग त्यो नै मसँगको अन्तिम संवाद भयो ।

खासमा कोरोना महामारीपछि उनी प्रत्यक्ष भेटघाटबाट सबैसँग टाढिएका थिए। कोरोना महामारीमा त त्यो स्वाभाविक नै थियो, तर कोरोना महामारी सकिएर लामो समय बित्दा पनि उनी भने घरमै बस्ने गरेका थिए र आगन्तुकहरूसँग भेटघाट सुरु गरेका थिएनन्।

तर २०७८ सालमा मोमिलाले दिने ुराष्ट्रिय कलाश्री सम्मानु ग्रहण गर्न उनी नेपाल पर्यटन बोर्डको सभाकक्षमा उपस्थित थिए। त्यतिबेला उनले कवि तुलसी दिवसको हातबाट सम्मान ग्रहण गरेपछि छोटो लिखित मन्तव्य समेत दिएका थिए र कार्यक्रम नसकिंदै उनी हलबाहिर निस्केका थिए। उनी निस्केपछि उनलाई भेट्न म पनि हल बाहिर निस्किएँ।

उनी गेट छेउमा यौटा गाडीको अघिल्लो सिटमा केही साहित्यकार र साहित्यप्रेमीहरूले घेरिएका थिए। मैले उनलाई अभिवादन गरें।

०००

२०३४ सालदेखि साहित्यमा कलम चलाउन, त्यसअघिदेखि नै साहित्यिक पत्रपत्रिका र पुस्तक पढ्न थाले पनि र कथाकार, उपन्यासकारको रूपमा परशु प्रधानको नामसँग चिरपरिचित भए पनि प्रत्यक्ष भेटघाटका लागि भने २०४२ साल साउनसम्म कुर्नुपर्‍यो ।

खासमा उनको ुप्रतिनिधि कथाहरूुको प्रकाशन र विमोचन काठमाडौंको साहित्यिक वृत्तमा चर्चाको विषय बनेको थियो । पहिलोपल्ट कुनै साहित्यिक पुस्तक पाँचतारे होटल याक एण्ड यतीमा विमोचन भएको त्यो पहिलो अवसर थियो । त्यो पुस्तक परशु प्रधानको प्रतिनिधि कथाहरू थियो। काठमाडौंका अनेकन् साहित्यकारहरू विमोचन समारोहमा याक एण्ड यती पुगेका थिए र त्यसको गफले नयाँ सडकको पीपलबोटमुनि जम्मा हुने साहित्यकारहरूको माहोल तातेको थियो। समारोहमा जानेहरू र जान नपाउनेहरूको जुहारी चलेको थियो । म जान नपाउनेहरूमध्ये थिएँ ।

जानेहरूले पाँचतारे होटलको मेजमानी खान पाएका थिए र हार्ड बाउण्ड आकर्षक ‘प्रतिनिधि कथाहरू’ समेत निःशुल्क पाएका थिए । म ती दुवैबाट वञ्चित भएको थिएँ । त्यसको कारण एउटै थियो, म परशु प्रधानसँग परिचित थिइनँ । उनको सम्पर्कमा थिइनँ । अनि मैले मेरो साहित्यिक सोख अन्तर्वार्ता लिने कामलाई निरन्तरता दिन रूपरेखामा सम्पर्क गर्न पुगें ।

रूपरेखामा मेरा कथा कविताहरू त प्रकाशित भएका थिए। मैले अन्तर्वार्ता स्तम्भ चलाउन मन गरें। रूपरेखाका सम्पादक उत्तम कुँवरको निधन भैसकेको थियो । किशोर कुँवर पनि रूपरेखाबाट अलग भै ‘परिवेश’ नामको पत्रिका निकालिरहेका थिए। शान्ति कुँवरले रुपायन प्रेस बेचिसकेकी थिइन् र पत्रिका मुद्रणका लागि मामा तथा रूपरेखाका पूर्व साझेदार र सम्पादक बालमुकुन्ददेव पाण्डेको चारु प्रेस कमलादी मोड पुर्‍याइसकेकी थिइन् र अघोषित रूपमा सम्पादक झैं भएर बालमुकुन्ददेव पाण्डेले रूपरेखालाई निरन्तरता दिन मद्दत गरिरहेका थिए । रचनाहरू उनैलाई दिंदा हुन्थ्यो, शान्ति कुँवरलाई भेट्न जरूरी थिएन। अन्तर्वार्ता स्तम्भका लागि मैले बालमुकुन्ददेव पाण्डेसँग कुरा गरें। उनले सहर्ष मेरो प्रस्ताव स्वीकारे ।

यही मेसोमा, सिलसिला मिलाएर मैले परशु प्रधानसँग अन्तर्वार्ताको लागि फोनबाट समय लिएर उनको निवास बानेश्वरमा गएको थिएँ। उनको कोठामा नुन खुर्सानीसँग तातोतातो पोलेको मकै खाँदै अन्तर्वार्ता लिएँ र रूपरेखामा प्रकाशित भयो। त्यसै बेला मैले उनको ुप्रतिनिधि कथाहरूु पनि उपहार पाएँ।

खासमा नेपाली साहित्यमा २०३४ सालमा पुस्तक विमोचनको संस्कृति नेपालमा भित्र्याउन पनि परशु प्रधानको हात थियो। उनकै संलग्नतामा ऋषिराज बरालको पहिलो उपन्यास ुभावनाु को विमोचन बागबजारको तत्कालीन समयमा साहित्यकारहरूमाझ निकै चर्चित राम दाइको भट्टीमा भएको थियो। अब राम दाइको भट्टीबाट सुरु भएको विमोचन पाँचतारे होटलसम्म पुगेको थियो र दुवैमा परशु प्रधान संलग्न थिए। पाँचतारे होटलको विमोचनमा त उनी मूल व्यक्ति नै भए। यो निकै चाखलाग्दो प्रसङ्ग हो नेपाली साहित्यमा विमोचन संस्कृतिको सन्दर्भमा।

सरकारी जागिर भएकाले उनी काठमाडौं आउने–जाने हुन्थ्यो। उनी सरुवा भएर काठमाडौं बाहिर गइरहन्थे। यसै क्रममा पूर्वी नेपालमा सिडियो भएर जाँदा प्रत्यक्ष अनुभूत गरेको यथार्थलाई ुडल्ले खोलाु कथामा चित्रण गरे। पञ्चायती शासनकालमा त्यस्तो कथा लेखिनु सामर्थ्य र साहसकै कुरा थियो। उनको त्यो कथा साहित्यिक वृत्तमा चर्चाको विषय बनिरह्यो निकै लामो समयसम्म। आज पनि त्यस कथालाई उनको प्रतिनिधि कथाको रूपमा लिन सकिन्छ। त्यस्तै ‘टोकियोमा लिटिल बुद्ध’ पनि उनको बेजोडको कथा मानिन्छ।

उनी सरकारी तालिमको सिलसिलामा एकपल्ट अमेरिका पुगे। अमेरिका पुगेपछि त्यहाँ अनुभव र अनुभूत गरेका घटना, परिवेश र पात्रहरूलाई लिएर उनले थुप्रै कथा लेखे। ती कथाहरू सबै अमेरिकी पृष्ठभूमिका थिए। विभिन्न पत्रपत्रिकामा फुटकर प्रकाशनपछि ‘समुद्रमा अस्ताउने सूर्य’ शीर्षकमा २०३५ सालमा साझा प्रकाशनबाट प्रकाशित भयो। यस्तो किसिमको सिङ्गो सङ्ग्रह नेपाली साहित्यमा त्यो नै पहिलो थियो ।

२०४६ सालको आन्दोलन पश्चात् गठन भएको सरकारको मातहतमा परशु प्रधानलाई आफ्नो पदमा काम गरिरहन सहज भएन । भोजपुरकै तत्कालीन मन्त्री साहित्यकार प्रदीप नेपालले पनि सहयोग नगरेपछि उनले उमेरले अवकाश हुनुभन्दा अघि नै स्वेच्छिक अवकाश लिए ।

साहित्यिक गतिविधिमा रमाउने स्वभावका उनी युगकवि सिद्धिचरण प्रतिष्ठानमा आबद्ध भए । २०४९ सालमा कवि वासु शशीको निधनपछि वासुशशी स्मृति प्रतिष्ठान उनकै अध्यक्षतामा गठन भयो र उनकै नेतृत्वमा स्मृति ग्रन्थ प्रकाशन भयो । वासुशशी स्मृति प्रतिष्ठानको उनले लामै समय नेतृत्व गरे । विभिन्न साहित्यिक गतिविधि गराए। पहिलो कार्य समितिमा कार्यकारी सदस्यको रुपमा म पनि सँगै साहित्यिक सक्रियतामा सहभागी भएँ । वासुशशी स्मृति प्रतिष्ठानको तर्फबाट विराटनगर, धरान, हेटौंडा आदि स्थानका साहित्यिक भ्रमणमा हामी साथै रह्यौं ।

के कारणले हो कुन्नि एकपल्ट उनले अवकाशप्राप्त जीवन अब विराटनगरमै बिताउने हो भनेर स्थायी रूपले बस्न जाने घोषणा गरे। त्यहाँ उनले लेखक ग्रामको अवधारणा बनाएर केही जग्गा साहित्यकारहरूलाई किनाएका थिए। उनले पनि घर बनाएर भाउजूका साथमा रमाएर बस्न थालेका थिए। वाणी प्रकाशन खोलेर सारा पूर्वेली साहित्यकारहरूलाई आकर्षित गरेका थिए। कैयन् पुरस्कारहरू वाणी प्रकाशन मार्फत स्थापित भएका थिए। वार्षिक रूपमा वाणी प्रकाशनकै ब्यानरमा निकै ठूलो साहित्यिक गतिविधि विराटनगरमा हुन थालेको थियो। उनी विराटनगरका साहित्यिक रानो बनेका थिए। ‘नेपाल भारत साहित्य संस्कृति अध्ययन भ्रमण’को सिलसिलामा नकुल सिलवाल र म विराटनगर पुग्दा उनको निवासमा एक रमाइलो साँझ बिताएका थियौं। त्यो प्रस्तावित लेखक ग्रामको घडेरीमा लगाइएको तरकारी खेती हेरेका थियौं र विराटनगरबाट आरम्भ हाम्रो त्यस भ्रमणका लागि आशीर्वचन औपचारिक कार्यक्रममै पाएका थियौं ।

पछि तराई आन्दोलन चर्कियो । उनले विराटनगर बसाइ अन्त्य गर्ने निधो गरे र फेरि स्थायी रुपमा बस्ने गरी काठमाडौं फर्किए। उनले वाणी प्रकाशनबाट अवकाश लिए । उनले छाडेपछि वाणी प्रकाशन पनि सेलाएको सेलायै भयो ।

परशु दाइको बङ्गलादेशका र केही जापानी साहित्यकारहरूसँग पनि राम्रो सम्बन्ध थियो। उमेरले युवा नभए पनि गतिविधिले सधैं युवा हुने चाहना भएको लाग्दथ्यो मलाई । साहित्यकारहरूलाई बोलाउने खुवाउने, रसरंग गर्ने र निम्तो पाउँदा अरूकहाँ पनि रमाएर जाने, खाने पिउने उनको सरल तरिका थियो । म विदेशबाट फर्केर आएपछि एकपल्ट भने, ‘गोविन्द बाव, ब्ल्याकलेवल ल्याउनु भाको होला नि  कहिले बोलाउने रुु

परशु दाइ, हरि अधिकारी, कृष्ण जोशी आदि ५ र ७ जना साहित्यकारहरू मेरो कुलेश्वर चोकमा भएको साँघुरो डेरामा रमाई–रमाई रसपान सहित साहित्यिक भलाकुसारी गरेका थियौं ।

त्यस्तै एकदिन उनले फोन गरेर भने, ‘आज राममान तृषितकहाँ जाउँ। यसो खानपान, रमाइलो गरेर फर्किउँ । तपाईं चाहिं उनीसँग अन्तर्वार्ता लिनुहोस्।’

राममान तृषितलाई उनैले फोन गरेर कुराकानी गरे । हामी दुई उनको मैजुवहाल, चाबहिलको निवासमा गयौं । मैले अतर्वार्ता टेप गरें । केही बेर खानपान गरेर थप साहित्यिक भलाकुसारी गर्‍यौं र फर्कियौं ।

परशु दाइ साहित्यकार वा कलम चलाउने सबैलाई उत्साहित गर्दथे । उनको अफिसको एक निम्नस्तरको कर्मचारीको कविताको उनी तारिफ गर्दथे र त्यो तारिफबापत तिनले घरमा नेवारी खाजा र ऐलाको लागि निम्तो दिन्थे । एकपल्ट उनले मलाई पनि तिनको घर लगेका थिए । उनको जीवनकालमा त तिनको पुस्तक निस्केन, तर उनको देहान्तपछि उनकी श्रीमतीले परशु दाइकै प्रेरणाले किताब निकालिन्।

परशु दाइ समेतको सक्रियतामा नेपालमा पहिलो सहयोगी उपन्यास ‘आकाश विभाजित छ’ लेखियो १० साहित्यकारद्वारा र रूपरेखाको दुई अङ्कमा त्यो प्रकाशित भयो। त्यस उपन्यासको पहिलो अध्याय उनले नै लेखेर सो सहयोगी उपन्यासको सुरुवात भएको थियो । पछि त्यो उपन्यास रत्न पुस्तक भण्डारबाट पुस्तकको रूपमा प्रकाशित भयो। त्यस उपन्यासको सहसंयोजकहरूमध्ये उनी पनि एक थिए।

हुन त उनले ‘सबै बिर्सिएका अनुहारहरू’ २०३२ सालमा प्रकाशित गरेका थिए । तर त्यसअघि २०२१ सालमै उनको ‘रात जो पग्लन्छ’ धारावाहिक रूपमा ‘तुवाँलो’ साहित्यिक पत्रिकामा केही अंश प्रकाशित भएको थियो।  त्यसको पूरै अंश त्यस पत्रिकामा प्रकाशित भएन र यस विषयमा परशु दाइले फरक–फरक पल्ट फरक–फरक कारण बताए ।

उनले भने, मैले त्यो उपन्यास सहयोगी प्रकाशनलाई दिएको थिएँ अमूक रकम लेखकस्व लिएर तर प्रकाशकले हराइदियो । अर्को भनाइमा उनले शंकर लामिछाने हस्ते त्यो उपन्यास प्रकाशककहाँ पठाए। तर उपन्यास छापिएन । पैसा पनि पाएनन् । उपन्यास पनि बेपत्ता भो। सत्य जे भए पनि त्यो उपन्यास धारावाहिक रूपमा अधूरो प्रकाशित भयो र त्यसको पूर्ण अंश कतै शेष रहेन ।

उनले अर्को पनि उपन्यास सुरु गरे । नाम राखे विसर्ग  । कथाभन्दा अलिक लामो अंश लेखिसकेपछि अघि बढेन । उनले केही दौंतरी साहित्यकारहरूसँग त्यसलाई पूर्णता दिन आग्रह गरे । तर कसैले उनको आग्रह स्वीकारेनन् र अन्त्यमा एकदिन मलाई उनले त्यो उपन्यास पूरा गर्न आग्रह गरे। मैले सहर्ष स्वीकार गरें र उपन्यास पूरा भयो । उनी खुशी भए । प्रकाशनका लागि मैले एक–दुई प्रकाशकसँग कुरा गरें, तर अन्त्यमा रत्न पुस्तकबाट प्रकाशित गर्न गोविन्द श्रेष्ठ राजी भए । उनले पहिलो सहयोगी उपन्यास ‘आकाश विभाजित छ’  रत्न पुस्तकले प्रकाशित गरेको सम्झना गर्दै परशु दाइ समेतको सहभागितामा लिखित ताजा सहयोगी उपन्यास प्रकाशित गर्दा खुशी हुने तथ्य बताए । अनि गोविन्द श्रेष्ठको सुझाव अनुसार सो उपन्यासमा ध्रुव सापकोटाले भूमिका लेखे र परशु दाइले पनि लेखकको तर्फबाट आफ्नो भनाइ लेखे । पुस्तक प्रकाशित भयो । यद्यपि त्यो पुस्तकले जति पाठकीय न्याय पाउनुपर्थ्यो, पाउन सकेन । त्यो पुस्तकको पहिलोदेखि सातौं अध्यायसम्म परशु दाइको लेखन थियो जसमा कथा अगाडि बढाउन एक प्रसङ्गलाई ट्वीस्ट दिनु बाहेक उनका सबै लेखनलाई अक्षरशस् यथावत् राखेर मैले उपन्यास पूरा गरेको थिएँ । यो सब तथ्यसहित यौटा लेख लेखेर उनको जीवनकालमै प्रकाशित पनि गरेको थिएँ ।

उनले नेपाली साहित्यमा केही अरू पनि उदाहरणीय लेखनसम्बद्ध कार्य गरेका थिए । जस्तो उनले आफ्ना कथाहरूको रचना गर्भ लेखे । स्तम्भको रुपमा गरिमामा केही प्रकाशित भए, उनका र अरूका पनि । तर उनले यसलाई निरन्तरता दिए र प्रशस्त रचना गर्भ लेखेर विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्दै रहे। अनि ती सब रचनागर्भहरूलाई मूल कथाको साथमा पुस्तक नै प्रकाशित गरे। यस किसिमको पुस्तक नेपाली साहित्यमा नौलो हो ।

उनले ‘सीताहरू’ शीर्षकमा कथाहरू शृङ्खलाबद्ध रूपमा लेखे र पुस्तक तयार गरे। त्यतिमा उनी रोकिएनन्, उनले ‘घरहरू’ शीर्षकमा अर्को शृङ्खलाबद्ध कथाहरू लेखे । त्यसको पनि उनले पुस्तक प्रकाशित गरे । यसलाई उनले ‘कथोपन्यास’  नाम दिए । विदेशमा यस्तो कथोपन्यास लेख्ने प्रचलन भए पनि नेपाली साहित्यमा भने त्यति आम होइन । त्यसो त पारिजातले बोनीलाई सम्बोधन गरेका फरक–फरक कथाहरू प्रकाशित गरेर पछि उपन्यासको रूपमा प्रकाशित गरेकी थिइन् । तर पारिजातले सुरुमा ती कथाहरूलाई स्वतन्त्र कथाहरूकै रुपमा प्रकाशित गरिन् । केही कथाहरूलाई कथा सङ्ग्रहमा कथाकै रूपमा सङ्कलित गरिन् र पछि उपन्यासको रुपमा प्रकाशित गर्दा त्यसबारे कुनै तथ्य खुलाइनन्। खासमा ‘बोनी’ कथोपन्यास नै थियो। तर परशु प्रधानले भने शृङ्खलाबद्ध रुपमा सीताहरू एक, दुई, तीन गर्दै प्रकाशित गरे र कथोपन्यासको उपमा दिए । घरहरू एक, दुई, तीन गर्दै कथोपन्यासको उपमा दिए। यसरी दुई वटा कथोपन्यास नेपाली साहित्यमा भित्र्याउने श्रेय परशु प्रधानलाई नै जान्छ ।

त्यसो त काठमाडौंमा जीविकोपार्जनलाई सहज बनाउन उनले गैर–साहित्यका किताबहरू पनि लेखे। ती किताबहरू उनले आफ्नो साहित्यिक नाम परशु प्रधानका नाममा लेखेका थिएनन्। तर उनले लेखेका गैर–साहित्यिक कृतिहरूमा ‘सामान्य ज्ञान’ पुस्तकले कीर्तिमानै कायम गरेको थियो। लोकसेवा आयोगको परीक्षाका लागि उपयोगी हुने सो पुस्तकको २९ संस्करणसम्म प्रकाशित भएको थियो ।

उनले बाल साहित्यमा पनि कलम चलाए । आफ्नी पत्नी कल्पना प्रधानलाई बाल साहित्यको क्षेत्रमा अघि बढाउन पनि उनको निस्सन्देह अहम् भूमिका रह्यो ।

कोरोना महामारीले विश्वलाई एउटा अत्यन्त नाजुक स्थितिमा पुर्‍यायो। मानिसहरू मानिसबाटै टाढा हुन बाध्य भए । विशेषगरी उमेर बढी हुनेहरूलाई बढी सतर्कता अपनाउनुपर्ने भएर परशु दाइ पनि लामो समय जनसम्पर्क र प्रत्यक्ष भेटघाटबाट टाढा रहे । त्यसले लामै निरन्तरता लियो । यसबीच उनको कलमले पनि विश्राम लिएको थियो। स्वास्थ्य पनि त्यति ठिक रहेन ।

अब त उनको देहावसानले उनको जीवन र लेखकीय जीवन दुवैले एकसाथ विश्राम लिए। तर उनी आफ्ना सिर्जनाहरूमा बाँचिरहनेछन्, युगौंयुगसम्म। कथामा परशु शैली जीवन्त रहनेछ, युगयुगसम्म !

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?