+
+

माओवादी संकट देखाउने उपनिर्वाचन

उपनिर्वाचनबारे माओवादीभित्र परेको अप्ठ्यारोलाई प्रचण्डका पछिल्लो अभिव्यक्तिसँग जोडेर हेर्न सकिन्छ । किनकि सत्ता टिकाउन प्रचण्ड एमालेलाई चिढ्याएर जाने अवस्थामा छैनन् भने इलाम–२ मा माओवादीको शक्ति निरन्तर खस्किँदै गइरहेको छ ।

सइन्द्र राई सइन्द्र राई
२०८० चैत १७ गते २०:५७
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

१७ चैत, काठमाडौं । नयाँ राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलामको लाकुरी चौतारामा सभा गरेरै उम्मेदवार घोषणा गरेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि आगामी १५ वैशाखमा हुने इलाम–२ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरु त्यहाँ पुगेका थिए ।

४ मंसिर २०७९ मा सम्पन्न आमचुनावको नतिजा हेर्दा यो क्षेत्रमा रास्वपाको प्रभाव कमजोर छ । नेकपा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर लगातार पाँचौपटक प्रतिनिधिसभा सदस्य जित्दा रास्वपाका प्रकाश सापकोटाले जम्मा १३ सय ८० मत ल्याएका थिए । नेम्वाङसँग झिनो अन्तरले पराजित नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

अर्थात् क्रम संख्यामा तेस्रो भएपनि रास्वपाका उम्मेदवारले जमानत जोगाउन सकेन । तर रास्वपाको पार्टी मत यो क्षेत्रमा तीन गुणा बढी देखिन्छ । रास्वपाले समानुपातिकतर्फ इलाम–२ मा ४ हजार ६८६ मत पाएको छ, जुन माओवादी केन्द्र (५ हजार १५३ मत) हाराहारी हो । यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले सबभन्दा धेरै २६ हजार ५६३ मत पाउँदा कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो ।

यो उपनिर्वाचनलाई त रास्वपाले प्रतिष्ठाकै विषय बनाएको छ । माओवादी पृष्ठभूमिका मिलन लिम्बुलाई ठूलै प्रयासबाट घण्टी चिह्नको उम्मेदवार बनाउनु, पार्टीभित्रका अरु आकांक्षी रोक्न सक्नु र मनोनयन दर्ता नहुँदै शीर्ष नेताहरु दोस्रोपटक इलाम पुग्नुले रास्वपाले लगाइरहेको जोडबल बुझ्न सकिन्छ ।

इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु ।

यो क्षेत्रको बलियो शक्ति एमालेले सुवास नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । सुवासको निधनपछि रिक्त उपनिर्वाचनमा उनकै युवक छोरा सुहाङ उम्मेदवार बनाउँदा पार्टी मतबाहेकका मत पनि तान्न सकिने एमालेको बुझाइ छ ।

त्यही बुझाइका कारण अरु पार्टीलाई उछिन्दै गत ११ चैतमै सुहाङलाई टिकट दिएको एमाले पंक्ति उपनिर्वाचनमा होमिसकेको छ । अहिले सुहाङसहित एमाले नेताहरु घरदैलो, सानासभा र छलफलमा केन्द्रित देखिन्छ ।

विगतमा एमालेसँग मुख्य प्रतिस्पर्धी रहँदै आएको कांग्रेसभित्र टिकटको लडाइँ चलिरहेको छ । कांग्रेस नेताहरुका अनुसार, आजभोलि नै उम्मेदवार टुंग्याउने गरी शीर्ष नेताहरु छलफलमा छन् । एमालेका सुवास नेम्वाङसँग पालैपालो चुनाव लडेका डम्बरबहादुर खड्का, केशव थापासहित भेषराज आचार्य, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ टिकटका आकांक्षी छन् ।

उम्मेदवार टुंग्याउन ढिलै भएपनि प्रमुख प्रतिपक्षी दल भएकाले कांग्रेस आफ्नो शक्तिसहित उपनिर्वाचनमा होमिने निश्चित छ ।

राप्रपा, नेकपा एकीकृत समाजवादी र पहिचानवादीहरु उम्मेदवार टुंग्याएरै मैदानमा उत्रिइसकेको छ । राप्रपाले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई र पहिचान पक्षधरहरुले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाएको छ ।

उपनिर्वाचनको यो प्रतिस्पर्धामा सरकारकै नेतृत्व गरिरहेको माओवादी केन्द्र भने अहिलेसम्म अलमलमै देखिन्छ । स्थानीय र प्रदेश तहका नेताहरू पार्टीको उम्मेदवारी रहन्छ वा रहँदैन भन्नेमा प्रष्ट छैनन् ।

यस्तो अलमलको कारण भने विगतका चुनावहरुमा माओवादीले सत्ता साझेदार दलसँग सहकार्यमा उम्मेदवार टुंग्याउने गरेको नजीर हो । गत वर्ष १० वैशाखमा सम्पन्न तनहुँ–१, चितवन–२ र बारा–२ मा माओवादीले उम्मेदवारी दिएको थिएन ।

त्यसबेला कांग्रेस सहितको गठबन्धनमा रहेको माओवादीले तनहुँ र चितवनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको थियो भने बारामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई समर्थन गरेको थियो ।

त्यसअघि २०७४ र २०७९ मा सम्पन्न तीनै तहको चुनावमा माओवादीले सत्ता साझेदार दलहरुसँग संयुक्त उम्मेदवारी दिएको थियो । त्यही बुझाइ यसपटक पनि माओवादी नेता तथा कार्यकर्तामा थियो ।

‘विगतका चुनाव गठबन्धनबाट लड्ने अवस्था बन्यो । त्यसैले यसपटक पनि साझा उम्मेदवार हुँदा हाम्रो पार्टीले पाउँदैन कि भन्ने नेता–कार्यकर्तामा परेको थियो’, माओवादी केन्द्रका एक नेता भन्छन्, ‘तर अहिले आफ्नै उम्मेदवार हुने सम्भावना छ ।’ ती नेताका अनुसार, इलाम–२ मा सुवास नेम्वाङले जितेको क्षेत्र भएकाले एमालेले नै टिकट पाउने बुझाइमा माओवादी नेताहरु पनि प्रष्ट थियो ।

तर गत २१ फागुनपछि सत्ता समीकरण फेरेर सरकारमा सहभागी एमालेले उपनिर्वाचनबारे एकलौटी निर्णय लिएपछि माओवादीभित्र थप अलमल बढेको अर्का एक नेता बताउँछन् ।

‘इलाममा एमालेलाई सहयोग गर्नु स्वभाविक थियो, तर एमालेले एक्लै निर्णय गरेर अगाडि बढेपछि सत्ता साझेदार अरु दललाई राजनीतिक प्रश्न त उठ्ने नै भयो’, ती नेता भन्छन् ।

एमालेले सल्लाह नै नगरी उम्मेदवारबारे निर्णय लिएको भन्दै एकीकृत समाजवादीले १४ चैतमा दुवै क्षेत्रमा (इलाम–२ र बझाङ क) उम्मेदवार टुंग्यायो । इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेर सत्तारुढभित्र समेत प्रतिस्पर्धाको सन्देश दियो ।

‘एउटा राजनीतिक शक्ति भएपछि हामीले उम्मेदवार बनाउनैपथ्र्यो । सत्ता गठबन्धनभित्र एमालेले अलग्गै उम्मेदवार बनाएपछि हामी बाध्य भयौं’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् । यद्यपि इलाम–२ मा एकीकृत समाजवादीको मत असाध्यै कमजोर छ ।

गएको चुनावमा इलाम–२ मा प्रत्यक्षतर्फ कांग्रेसकै उम्मेदवारलाई मत दिएको एकीकृत समाजवादीले समानुपातिक मत जम्मा ५८६ ल्याएको छ । तर बझाङ (क) मा एकीकृत समाजवादीको मत उल्लेख्य छ । त्यसैले सत्तारुढ दलहरुको बैठकमा समेत इलाम–२ छोड्ने, तर बझाङमा आफूले पाउनुपर्ने दाबी गरेको थियो ।

२०७९ को चुनावमा बझाङ (क) मा माओवादी र एकीकृत समाजवादीले कांग्रेसकै उम्मेदवारलाई मत दिएपनि समानुपातिकतर्फ एकीकृत समाजवादीले ७ हजार ८३३ मत ल्याएको थियो भने माओवादीको समानुपातिक मत ८ हजार १५ छ ।

समानुपातिकतर्फ एकीकृत समाजवादीले पाएको यो मत देशैभरमै राम्रो मध्ये एक हो । त्यसैले दाबी स्वभाविक देखिन्छ । तर यो क्षेत्रमा २२ हजार २०४ समानुपातिक मतसहित सबभन्दा ठूलो शक्ति रहेको एमाले छोड्न तयार छैन ।

दुवै ठाउँमा उम्मेदवार टुंग्याएर एमाले चुनावमा होमिने, अनि एकीकृत समाजवादीले बझाङ पाउनुपर्ने अडान लिँदा अप्ठ्यारोमा भने माओवादी नै परेको छ ।

उल्टै एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले माओवादी सहितका दलहरुसँग गठबन्धन नभएर सत्ता समीकरण मात्र बनेको टिप्पणी गरिरहेका छन् । अर्थात् गठबन्धनभित्रै आपसी प्रतिस्पर्धा गर्न पनि एमाले तयार देखिन्छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले माओवादीले साथ दिनुपर्ने सार्वजनिक अपिल गरे । ओलीको भनाइ थियो, ‘मलाई विश्वास छ, माओवादीले अन्तिममा हामीलाई समर्थन गर्छ, किनभने कांग्रेसलाई जिताउन मिल्दैन ।’

इलाम-२ का एमाले उम्मेदवार सुहाङ नेम्वाङ ।

शीर्ष सहमति नगरेर सार्वजनिक रुपमा यतिको हलुका टिप्पणी गर्नुको अर्थ अध्यक्ष ओली माओवादीबाट इलाम र बझाङमा रहनु भन्नेमा प्रष्ट देखिनु हो ।

यद्यपि सचिव गोकर्ण विष्ट चाहिँ सत्तारुढको एउटै उम्मेदवार बनाउनेबारे छलफल चलिरहेको बताउँछन् । ‘छलफल भएर अथवा नभई उम्मेदवारबारे हामीले निर्णय गर्यौं भन्नेलाई ईश्यू बनाउनु राम्रो हुँदैन’, उनी भन्छन्, ‘सत्ता साझेदारबाट एउटै उम्मेदवार हुँदा विश्वास बलियो हुन्छ, त्यसबारे छलफल चलिरहेकै छ ।’

नलुकेको संकट

सरकारको नेतृत्व गरिरहेको माओवादीभित्र उपनिर्वाचनबारे अलमल रहेको बुझ्न भने उसले उम्मेदवार छनोटमा अपनाइरहेको प्रक्रिया र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आफैंमा पर्याप्त हुन्छ ।

सत्ता साझेदार दलहरुले उम्मेदवार टुंग्याइसकेपछि बल्ल (गत १२ चैतमा) माओवादी सचिवालय बैठकले उम्मेदवारी दिने निर्णय गरेको थियो । यस्तो निर्णय भएको भोलिपल्टै माओवादी प्रदेश कमिटीले धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गर्‍यो ।

तर माओवादीको केन्द्रीय नेतृत्वले उल्टै यो नामबारे छलफल गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ । ‘एक जनाको नाममा सर्वसहमत गर्ने गरी छलफल गर्नू भनेर पार्टी केन्द्रले प्रदेश कमिटीलाई भनेको छ’, माओवादी प्रदेश अध्यक्ष हर्क लिम्बु (मिक्सो) ले भने ।

उनका अनुसार, प्रदेश कमिटीमा उम्मेदवारबारे छलफल भइरहेको छ । ‘को उम्मेदवार हुने भनेर छलफल गरिरहेका छौं । चाँडै सर्वसम्मति गर्छौं’, उनले भने । यदि माओवादीले उम्मेदवार टुंग्याएर अगाडि बढे भने सत्ता साझेदारबीच समेत प्रतिस्पर्धा हुनेछ ।

तर माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड स्वयं अलग्गै प्रतिस्पर्धा गर्ने मनोविज्ञानमा देखिँदैनन् । दलहरुमा प्रचलित अभ्यास बमोजिम उम्मेदवारी नुटंग्याएर प्रदेश कमिटीलाई छलफल गर्ने समय दिनु मात्र नभएर प्रधानमन्त्री प्रचण्डको सार्वजनिक अभिव्यक्ति सुन्दा पनि उनी साझा उम्मेदवारकै पक्षमा छन् ।

गत १५ चैतमा राजधानीमै आयोजित एक कार्यक्रममा प्रचण्डले फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने बताएका थिए । ‘…मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो मैले अरुलाई भनेको होइन, है । त्यो मेरै लागि भनेको हो’, प्रचण्डले भनेका थिए ।

विगतमा उनले उथलपुथल शब्द सत्ता फेर्न प्रयोग गरेकाले प्रचण्ड एमालेसँग पनि सजिलो परिस्थितिमा नरहेको अनुमान लगाउन सकिन्छ ।

सँगै, उपनिर्वाचनबारे माओवादीभित्र परेको अप्ठ्यारोलाई पनि प्रचण्डको अभिव्यक्तिसँग जोडेर हेर्न सकिन्छ । किनकि सत्ता टिकाउन प्रचण्ड एमालेलाई चिढ्याएर जाने अवस्थामा छैनन् भने इलाम–२ मा माओवादीको शक्ति निरन्तर ओरालो लागिरहेको छ ।

यो क्षेत्रबाट प्रतिनिधिसभामा अहिलेसम्म कुनै पनि चुनाव जित्न नसकेको माओवादीले दश वर्षयता उम्मेदवारी नै दिएको छैन । २०७४ मा सुवास नेम्वाङ र २०७९ को चुनावमा कांग्रेसका डम्बर खड्कालाई समर्थन गरेको थियो ।

गत वर्षको आमचुनावमा प्रदेशसभातर्फ भने इलाम–२ (ख) मा हर्क लावती माओवादीका उम्मेदवार थिए । तर कांग्रेससहित पाँच दलीय गठबन्धनको उम्मेदवार हुँदा पनि उनले ११ हजार १६७ मत मात्रै ल्याए । एक्लै चुनाव लडेका एमालेका राम रानाले १३ हजार ७५४ मत ल्याएर लावतीलाई हराएका थिए ।

जबकी इलाम–२ (क) बाट कांग्रेसका उम्मेदवारले जिते । कांग्रेसका गोविन्द गिरीले गठबन्धनकै बलमा १६ हजार ६५८ मत ल्याएर जित्दा एमालेका गणेश बरालले १५ हजार ४४७ मतमा सीमित भएका थिए ।

इलामको यो क्षेत्रबाट माओवादीले एकपटक प्रदेशसभा सदस्य जित्नु नै अहिलेसम्मको ठूलो उपलब्धि हो । २०७४ मा एमालेसँग गठबन्धन हुँदा इलाम–२ (ख) बाट माओवादीका धिरेन्द्र शर्माले प्रदेशसभा सदस्य जितेका थिए । शर्माले १४ हजार ७१६ मत ल्याएर जित्दा कांग्रेसका खगेन्द्र देवान ११ हजार ०६५ मत ल्याएर पराजित भएका थिए ।

तर २०७९ को तीनै तहको चुनावमा माओवादी फेरि कांग्रेससँगै गठबन्धन गर्न पुग्यो, निराशाजनक नतिजा खेप्नु प¥यो । कांग्रेस सहितको साझा उम्मेदवार हुँदा पनि प्रदेशसभादेखि स्थानीय पालिकाको नेतृत्वमा समेत माओवादीले जित्न सकेन ।

चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम र देउमाई गाउँपालिका, इलाम नगरपालिका (१० नम्बर वडा बाहेक) अनि माई नगरपालिकाको वडा नम्बर ६ देखि ८ सम्म पर्ने यो क्षेत्रमा माओवादीको कुनै पनि पालिकामा नेतृत्व छैन ।

इलाम नगरपालिका र चुलाचुली गाउँपालिकाको प्रमुख कांग्रेसले जितेको छ भने माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाइ नगरपालिका र माइ नगरपालिकाको प्रमुख एमालेले जितेको छ ।

यो निर्वाचन क्षेत्रमा ४१ वटा वडा छ, जसमध्ये माओवादीले एउटा मात्रै वडाध्यक्ष जितेको छ । माङसेबुङ गाउँपालिका–३ का लक्षुमन राई मात्रै माओवादीबाट जितेका एक्ला वडाध्यक्ष हुन् ।

यतिको उपलब्धि त राष्ट्रिय राजनीतिले नसुनेको दलहरुबाट यहाँ सम्भव भएको थियो । चुलाचुली गाउँपालिका–१ का वडाध्यक्ष पूर्ण लावतीले लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितेका हुन् भने माङसेबुङ गाउँपालिका–५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले राष्ट्रिय जनमुक्ति पार्टीबाट चुनाव जितेका थिए ।

२०७९ वैशाखको स्थानीय चुनावमा माओवादीका उम्मेदवारले पाएको मत हेर्दा पनि माओवादीको शक्ति कति कमजोर छ भन्ने थप प्रष्ट हुन्छ । यो क्षेत्रको २२ वडाध्यक्ष जितेको कांग्रेसका वडाध्यक्षहरुले पाएको मत जोड्दा ३२ हजार ७०७ हुन्छ ।

१६ वडाध्यक्ष जिते पनि एमालेका वडाध्यक्षहरुले पाएको मत जोड्दा २८ हजार ९७७ पुग्छ । तर सबै वडामा उम्मेदवारी दिनसमेत नसकेको माओवादीका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत जम्मा दुई हजार ५३२ हुन्छ ।

अर्थात् इलाम–२ मा माओवादी निकै पछि रहेको तेस्रो शक्ति हो । माओवादी प्रदेश अध्यक्ष लिम्बु भने तेस्रो शक्ति भन्ने मनोविज्ञानले पार्टी नबन्ने तर्क गर्छन् ।

‘हाम्रो साथीहरुलाई हामी तेस्रो हो, एक्लै जितिदैन भन्ने लागेको हुन सक्छ’ उनी भन्छन्, ‘यसरी पार्टी बन्दैन, गठबन्धनको कारणले घट्दै गएको मतलाई बढाउने अवसर पनि हो, यो ।’

पार्टी बनाउन र चुनाव जित्न आवश्यक माहोल बनाउनुपर्ने उनको तर्क छ । ‘अस्तिको चुनावमा ५ हजार मत हाम्रो देखियो । तर हाम्रो मत ७ हजार हो भन्ने आँकलन छ, पार्टीको पक्षमा माहोल सिर्जना गर्न सक्दा अहिले पनि प्रतिस्पर्धामा पुग्छौं’, लिम्बु भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?