News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालगञ्जमा कात्तिक १४ र १५ गते दोस्रो राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप २०२५ आयोजना हुने भएको छ।
- प्रतियोगितामा सातै प्रदेशका करिब २०० खेलाडी ५६ वटा इभेन्टमा अन्डर ८ देखि खुला उमेर समूहसम्म प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगितामा सहभागी खेलाडीले १,५०० रुपैयाँ आवेदन शुल्क तिर्नुपर्नेछ ।
१२ कात्तिक, काठमाडौं । नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप २०२५ आयोजना हुने भएको छ। नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते हुने प्रतियोगितामा देशभरका करिब २०० खेलाडी सहभागी हुनेछन्।
विद्यालयस्तरका अन्डर ८, १०, १२, १४, १७ र खुला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा अन्डर ८ समूहले २५ मिटर, अन्डर १० समूहले ५० मिटर, अन्डर १२ र १४ समूहले ५० तथा १०० मिटर, र खुला समूहले २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ।
क्लबका अध्यक्ष केशवराज न्यौपानेका अनुसार सातै प्रदेशका खेलाडीहरू सहभागी हुनेछन्। उनले प्रतियोगितामा ५६ वटा इभेन्ट सञ्चालन हुने जानकारी दिए।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले क्लबले उपलब्ध गराएको गूगल फर्ममार्फत आवेदन दिन सक्नेछन्। आवेदन शुल्क १,५०० रुपैयाँ तोकिएको छ। बाँकेबाहेक अन्य जिल्लाबाट आउने खेलाडीका लागि खाजा, खाना र बसोबास निःशुल्क व्यवस्था हुनेछ।
करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता नेपाल पौडी संघको वार्षिक क्यालेन्डरमा समावेश भएको पहिलो राष्ट्रिय संस्करण हो। तर, नेपालगञ्ज स्वीमिङ क्लबका लागि भने यो दोस्रो संस्करण हो ।
गत वर्ष क्लबले प्रदेशस्तरीय च्याम्पियनसिप आयोजना गरेको थियो। यस पटक राष्ट्रिय स्तरमा रूपान्तरण गर्न क्लबले प्रदेश सरकारसँग सहकार्यको पहल गरेको क्लबका सदस्य कृष्ण अधिकारीले जानकारी दिए।

प्रतिक्रिया 4