
१८ चैत, काठमाडौं । इलाम २ उपचुनावमा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुबीच इलाम बजारको अस्पताल लाइनमा आइतबार जम्काभेट भयो ।
घरदैलो गर्दै चोकतिर उक्लिरहेका सुहाङ र अस्पताल लाइनबाट ओर्लिरहेका मिलन यसअघि प्रत्यक्ष भेटिएका थिएनन् । चुनावको यात्राले उनीहरूलाई भेट गराएको हो ।
पाँच मिनेटजति बात मारेका उस्तै उमेरका यी दुई युवा यतिखेर उपचुनावका प्रत्याशी छन् । कांग्रेसले उम्मेदवार उठाउन ढिलाइ गर्दा सबैको चासो उनीहरूतर्फ केन्द्रित छ । उनीहरूसहित अरू उम्मेदवारहरूले घरदैलो जारी राखेका छन् ।
‘मलाई भोट दिनुहोला है, यहींको उम्मेदवार हुँ,’ सुहाङसँग ठट्टा गर्दै मिलनले भने ।
‘ल खुसी लाग्यो यहाँ भेट भएकोमा,’ सुहाङले भोट दिन्छु भन्ने कुरै थिएन । बरू औपचारिक शिष्टाचार साटे । उनले मित्रवत् स्वस्थ प्रतिष्पर्धाका लागि शुभकामना पनि दिए ।
मिलनले इभाङ पुग्दा आफ्नो घर पुगेर आमाले पकाएको खाना खाइदिन प्रस्ताव राखे । सुहाङले फर्काए, ‘अवश्य, म तपाईंको घरमा पुग्ने छु । आमालाई भेट्ने छु ।’
१५ वैशाखको उपचुनावका लागि दुवै उम्मेदवार घरदैलोमा छन् । रास्वपा सभापति रवि लामिछाने शनिबार मिलनको उम्मेदवारी घोषणा गर्न इलाम पुगेका थिए । एमाले नेता रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायत नेताहरू इलाम आउजाउ गरिरहेका छन् ।
तस्वीर स्रोत : मिलन लिम्बुको टिम
प्रतिक्रिया 4