+
+

मयंक यादव : भारतले खोजेजस्तो तीव्र गतिका बलर

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत १८ गते १९:३८

१८ चैत, काठमाडौं । भारतको घरेलु मैदानमा स्पिनर हाबी हुँदा विदेशमा गति र बाउन्सर बलमा तर्साउन सक्ने बलरको अभाव खड्किने गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा सनराइजर्स हैदराबादबाट जम्मु कश्मिरका उमरान मलिक तीब्र गतिको बलरमा नयाँ आशाको रुपमा उदाएका थिए ।

उमरान भारतीय क्रिकेटमा सर्वाधिक १५६.९ प्रतिघण्टा किलोमिटर गतिमा बलिङ गर्ने बलर हुन् । उनले उक्त स्पिड २०२२ मा दिल्ली क्यापिटल्सका रोभम्यान पावेलविरुद्ध गरेका थिए ।

त्यही वर्ष नै उमरानले १४ खेलमा २२ विकेट लिएपछि आयरल्यान्डविरुद्ध टी–२० र न्युजिल्यान्डविरुद्ध ओडीआईमा भारतबाट डेब्यूको अवसर पाए । उमरानको बलमा प्रतिघण्टा  १५०–१५५ किलोमिटरको गति नियमित हुने गर्दछ । तर उनको लाइन एण्ड लेन्थ भने राम्रो छैन । त्यसैको कारण वाइड वा बढी रन खर्चिने गर्छन् । ओडीआईमा १० र टी–२० आईमा ८ खेलपछि उनी त्यही समस्याको कारण भारतीय टोलीमा छैनन् ।

तर भारतीय क्रिकेटमा अर्का नयाँ तीव्र गतिका बलरको आगमन भएको छ । ती हुन् लखनउ सुपर जायन्ट्सका २१ वर्षीय तीव्र गतिका बलर मयंक यादव । शनिबार राति पञ्जाब किंग्सलाई लखनउले २१ रनले हराएको खेलमा उनले डेब्यू गर्दै तीन विकेट लिएर प्लेयर अफ द म्याच चुनिए ।

मंयकले परिवर्तन गरेको खेल

दशौं ओभरको पहिलो बलमा इंग्लयाण्डका अनुभवी आक्रामक ब्याटर जोनी बेयरस्टोलाई प्रतिघण्टा १४७ किलोमिटरको गतिको बल डट राख्दै आईपीएलमा उनले पदार्पण गरेका थिए । डेब्यू गर्दा धेरै खेलाडी नर्भस हुँदा आफ्नो क्षमता अनुसार खेल्न सक्दैनन् । तर उनमा फरक किसिमको जोश र जाँगर थियो ।

‘डेल स्टेन मेरो आइडल हुन् । डेब्यू गर्न म निकै उत्साहित थिएँ । पछिल्लो दुई वर्षदेखि धेरै दर्शकको सामु डेब्यूमा पहिलो बल खेल्दा कस्तो रहला भन्ने सोचाई र कौतहल थियो । सबैले डेब्यूमा थोरै नर्भसनेस र दबाब हुन्छ भनेका थिए । तर मलाई त्यो अनुभव भएन’, खेलपछि मयंकले भने ।

२०० रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबलाई ओपनर शिखर धवन र बेयरस्टोले ११.४ ओभरमा १०२ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए  । तर मयंक बलिङमा आएसँगै त्यो सुरुवात धेरै समय टिक्न सकेन ।

१२ औं ओभरको पहिलो बलमा धवनलाई प्रतिघण्टा १५५.८ किलोमिटरको गतिमा बल फाल्दै डट गरे । मयंकको डेब्यू खेलको गति र प्रदर्शनले विश्व क्रिकेटमा राम्रो चर्चा भएको छ । भारतका प्रमुख बलर जसप्रित बुमराह र मोहम्मद सामीको सर्वाधिक गति नै १५३ छ ।

१२ औं ओभरको चौथो बलमा बेयरस्टोलाई ४२ रनमा मार्कस स्टोइनिसबाट क्याच गराउँदै आफ्नो र टोली दुबैको पहिलो विकेट लिए । त्यो विकेट नै खेलको टर्निङ प्वाइन्ट बन्यो । उनको गति र बलिङ एक्सन बुझ्न विपक्षी ब्याटरलाई कठिन प¥यो ।

उनले ४ ओभरमा २७ रन खर्चेर बेयरस्टोसँगै प्रमुख ब्याटर जितेश शर्मा र प्रभश्रीमन सिंहलाई आउट गर्दै टोलीलाई जित दिलाए । अष्ट्रेलियाका पूर्वस्टार बलर ब्रेट लीले मयंकको खेल देखेपछि लेखेका छन्, ‘भारतले नयाँ गति भएको बलर भेटाएको छ ।’

दक्षिण अफ्रिकाका अर्का पूर्व तीव्रगतिका बलर स्टेन उनीबाट प्रभावित हुँदै अहिलेसम्म कहाँ लुकेका थियौं भनेर जिज्ञासा राखेका छन् । ‘मेरो सधैं लक्ष्य निरन्तर प्रदर्शन र टोलीको लागि जति सक्यो कम रन खर्चिने हुन्छ । गति मेरो अतिरिक्त फाइदा हो । त्यसको म राम्रोसँग सदुपयोग गर्न चाहन्छ’ु, मयंकले भने ।

उनले दिल्लीबाट घरेलु क्रिकेट खेल्ने गछएन् । विजय हजारे ट्रफी र शैद मुस्ताक अली ट्रफीमा प्रभाव छाडेपछि २०२२ को मेगा अक्सनमा उनलाई लखनउले २० लाख भारुमा किनेको थियो । चोटका कारण उनले सन् २०२३ को आईपीएल भने खेल्न पाएनन् ।

‘तीव्र गतिका बलरको लाइफमा चोट एउटा पार्ट हो । पछिल्लो डेढ वर्षमा मेरो दुई–तीन वटा मुख्य चोट भयो । त्यो मेरो लागि मनोबल घट्ने काम थियो । मेरो बढी ध्यान रिकभरीमा छ’ चोटबारे उनले भने ।

आईपीएल र विश्व क्रिकेटमा सर्वाधिक गति

सन् २०११ को आईपीएलमा अष्ट्रेलयाका सन टैटले राजस्थान रोयल्सबाट दिल्लीविरुद्ध प्रतिघण्टा १५७.७१  किलोमिटरको स्पिडमा बलिङ गरेका थिए ।

२०२२ मा दिल्लीबाट दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले १५७.३ स्पिडमा बलिङ गरेका थिए । टैट, उमरान र नोर्किया बाहेक अन्य बलरले आईपीएलमा १५५ माथिको गतिमा गर्न सकेका थिएनन् ।

पाकिस्तानका शोयब अख्तर विश्व क्रिकेट इतिहासकै सर्वाधिक गतिमा बलिङ गर्ने बलर हुन् । उनले सन् २००३ को विश्वकपमा अख्तरले इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटर गतिमा गरेका थिए ।

अष्ट्रेलियाका सन टैन र ब्रेट ली समान १६१.१ को गतिमा बलिङ गरेका थिए । त्यस्तै जेफ्री थोमसनले १६०.६ र मिचेल स्टार्कले १६०.४ स्पिडमा गरेका थिए । विश्व क्रिकेटमा स्पिड बलिङमा पाकिस्तान, अष्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाका बलर हाबी छन् ।

पाकिस्तानका हरिस रौफले २०२२ को टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा १५९ किलोमिटरको गतिमा बलिङ गरेका थिए । रौफ नै वर्तमान क्रिकेटमा सर्वाधिक गतिमा बलिङ गर्ने बलरमा पर्छन् ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?