+
+

जम्कट्टेललाई विश्वासको मत दिन एकीकृत समाजवादीले राख्यो आलोपालोको शर्त

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते २०:३८
एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल ।

१८ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीको शर्त अगाडि सारेको छ ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्रीमा अलोपालो नभए जम्कट्टेललाई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले यही अवस्थामा वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए । उनले भने, ‘अहिलेकै अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिंदैन । मुख्यमन्त्रीलगायत केही विषयमा थप छलफल र विश्वासको वातावरण आवश्यक छ ।’

गठबन्धनको सिद्धान्तअनुसार समान सहभागिता आफ्नो पार्टीको ‘बटमलाइन’ भएको खनालले बताए । उनले भने, ‘गठबन्धनको भावनाअनुसार अगाडि बढ्ने हो भने सबै संयुक्तमा हुनुपर्‍यो, हैन भने दुई वटा पार्टीले निर्णय गरेका छन्, त्यसमा हामी किन बस्ने ?’

मुख्यमन्त्री जम्कट्टेलले भोलि (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची छ । २५ पुस २०७९ मा सरकार गठन हुँदाको सहमतिअनुसार नेकपा एमाले र माओवादी केन्द्रले मात्रै मुख्यमन्त्रीमा आलोपालो गर्ने संकेत पाएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो ।

एक वर्षअघि सरकार गठन हुँदा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल र नेकपा एमालेका नेता जगन्नाथ थपलियाले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । त्यतिबेला एकीकृत समाजवादी सरकार बाहिरै थियो ।

२५ पुस ०७९ मा नेकपा एमाले र राप्रपाको समर्थनमा शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार बनेको थियो । उक्त सरकार दुई महिनामै ढलेर पुनः नयाँ सत्ता समीकरणअनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा जम्कट्टेलले सरकार गठन गरेका थिए ।

हाल एमालेले पुरानै सहमतिअनुसार अबको एक वर्षपछि जम्कट्टेलले नेतृत्व आफूलाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएको छ । एक एमाले नेताले भने, ‘जम्कट्टेलज्युले डेढ वर्ष चलाइसक्नु भयो । विगतमा केन्द्रमै भएको सहमतिअनुसार अबको एक वर्षमा हाम्रो पालो हो ।’

केन्द्रसँगै प्रदेशको सत्ता समीकरणमा पनि फेरबदल आएपछि बागमतीमा मुख्यमन्त्रीको भागबण्डा नटुंगिएकाले सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

गठबन्धनका तीन दल एमाले, माओवादी, एकीकृत समाजवादी मात्रै होइन, हाम्रो नेपाली पार्टीले पनि मुख्यमन्त्रीमा दाबी छोडेको छैन ।

हाम्रो नेपाली पार्टीको संसदीय दलका नेता एवम् नवनियुक्त संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमाज बज्राचार्यले १५ चैतमा मुख्यमन्त्री कार्यालय परिसरमा पत्रकारहरूलाई प्रतिक्रिया दिंदै मुख्यमन्त्रीमा आलोपालो सहमतिपछि सरकारमा सहभागी भएको बताएका थिए ।

१५ चैतमा सरकारमा सहभागी चार दलले गरेको सहमतिमा पनि सरकारको नेतृत्व आलोपालोमा गर्ने उल्लेख छ । आलोपालोमा सहमति भए पनि कसले, कति नेतृत्व गर्ने भन्ने टुंगो नलागेको माओवादी केन्द्र बागमतीका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । उनले भने ‘आलोपालो टुंगिएको छैन । माथि (केन्द्रमा) जे हुन्छ त्यसैअनुसार सहमति अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?