+
+

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १४:३७

२० चैत, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ र ६ अप्रिलमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ ।

महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम हुनेछन् ।

म्याराथनमा नेपाल, चीन, पाकिस्तान, श्रीलंका, केन्यालगायत देशका धावकहरूको सहभागिता हुने जनाइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा थप परिचित गराउने बताए । उनले भने, ‘लुम्बिनीको प्रचारका साथै नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन कार्यक्रमले भूमिका खेल्नेछ ।’

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीको महत्त्वलाई विश्वमाझ परिचित बनाउन कार्यक्रम गर्दै आइरहेको बताए । उनले भने, ‘तीन वर्षअघि लुम्बिनीमा म्याराथन प्रतियोगिता शुरुवात गरिएको थियो । यसपटक धेरै संस्थाको सहभागितामा अन्य कार्यक्रम समेत जोडेर महोत्सवकै रूपमा आयोजना गरिएको छ ।’ लुम्बिनीसँग जोडिएको बुद्धका सन्देश र शान्तिभूमि ब्राण्डलाई विश्वमाझ प्रचार गर्न सके नेपालको आर्थिक विकास र समृद्धिमा ठूलो योगदान पुग्ने श्रेष्ठले बताए । आगामी दिनमा लुम्बिनीमा बौद्धकालीन खेलहरूलाई पनि समावेश गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रम अन्तर्गत ५ अप्रिल बिहान लुम्बिनी पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान र साँझ संवाद कार्यक्रम राखिएको छ । भोलिपल्ट लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरमा हुने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराम लामिछानेले जानकारी दिए । ६ अप्रिल साँझ लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । जसमा आनी छोइङ डोल्मा, चिनियाँ गायक उलान तुया, लु निङ लगायतको प्रस्तुति हुनेछ ।

त्यस्तै पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ । महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड गरिने छ । म्याराथन प्रतियोगिताको विजेताले ५ लाख पाउनेछन् । कुल पुरस्कारमा २० लाख रुपैयाँ छुट्याइएको छ ।

५ किलोमिटरको रोड रेस र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन लगायतका खेलकुद कार्यक्रम पनि समावेश गरिएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्वभर शान्ति र बौद्ध धर्मको मुहान भनेर चिनाउन महोत्सव कोशेढुंगा सावित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?