+
+

गण्डकीमा कांग्रेस : महिना दिन सत्तामै रहौंला, सके बहुमत जुटाऔंला !

अमृत सुवेदी अमृत सुवेदी
२०८० चैत २० गते २०:०२

२० चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन् । अहिले राजीनामा दिने र अल्पमतको सरकार बनाएर कम्तीमा महिना दिन सत्तामै रहने कांग्रेस सांसदलाई जानकारी गराएका हुन् ।

मंगलबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले तत्काल विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति नरहे मार्गप्रश्स्त गरेर जानु उत्तम विकल्प भएको बताएका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए भने माओवादीले २३ गते समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पाण्डेले २२ गतेभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिनु दुई दिनअघि प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।

त्यसअनुसार मुख्यमन्त्री पाण्डेले मंगलबार दिउँसोम्म विश्वासको मत लिने जानकारी दिन प्रदेशसभालाई दिनुपर्ने थियो । तर विश्वासको मत प्राप्त गर्ने स्थिति नरहेकाले भोलि बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिने उनको तयारी छ ।

मुख्यमन्त्री पाण्डे सुरुमा त बहुमत जुटाउने प्रयासमा लागेका थिए । स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलाई दल त्याग गर्न लगाएर भौतिक पूर्वाधार मन्त्री बनाए ।

राप्रपाका २ र माओवादी केन्द्रको चुनाव चिह्न लिएर जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले समर्थन गर्न टुप्लुक्क बहुमत (३१) पुग्ने उनको विश्लेषण थियो । तर राप्रपाले तत्काल समर्थन नगर्ने भयो भने माओवादीको ह्वीप लाग्ने भएका कारण देवकोटाले समर्थन गर्ने सम्भावना पनि कमजोर भएको नेताहरु बताउँछन् ।

त्यसैले अब राजीनामा दिने र अल्पमतको सरकार बनाउने रणनीतिमा जुटेका छन् । आफूले राजीनामा दिएपछि (एमाले–माओवादी) गठबन्धनको सरकार बन्न नसक्ने उनको विश्लेषण छ । त्यसपछि ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा सरकार बन्नसक्ने भन्दै उनले सांसदहरुको राय मागेका थिए ।

कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापाका अनुसार सांसदहरुले पनि यही विकल्प उपयुक्त भएको सुझाएका छन् । ठूलो दलको हैसियतमा सरकार बनाउँदा कम्तीमा एक महिना समर्थन जुटाउन समय हुने भन्दै उनले भने, ‘कसैको स्पष्ट बहुमत नपुग्ने भएकाले संसदीय अभ्यासमा केके गर्नुपर्छ, त्यो गर्ने कुरा भइहाल्यो । अन्य दलसँग छलफल गर्ने, मनाउने कुरा त स्वभाविकै हो ।’

सांसदहरुले सबै अधिकार मुख्यमन्त्रीलाई दिएको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई भोलि बुधबार मुख्यमन्त्री पाण्डेले राजीनामा दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नेछन् । अहिलेसम्म भइरहेको अभ्यासअनुसार बढीमा ३ देखि ५ दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले समय दिनसक्ने अनुमान कांग्रेसको छ ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२ र माओवादीका ७ (सभामुख बाहेक) सांसदले मात्र गठबन्धनको सरकार नबन्ने कांग्रेसको विश्लेषण छ ।

२ सांसद भएको राप्रपाको समर्थन पाएमा एमाले–माओवादी गठबन्धनले सहजै सरकार बनाउन सक्छ । एमाले र माओवादीले त्यसका लागि पहल पनि गरेका छन् । तर २७ चैतमा काठमाडौंमा प्रदर्शनको तयारीमा जुटेको राप्रपाले गण्डकी प्रदेशमा सरकार बनाउन सघाउने सम्भावना छैन बराबरकै अवस्थामा छ ।

राप्रपा तटस्थ बस्नासाथ संविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउन एमाले–माओवादीले सक्दैनन् ।

त्यो अवस्थामा प्रदेश प्रमुखले १६८ (३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ । गण्डकीमा कांग्रेस २७ सांसदसहित सबभन्दा ठूलो दल हो ।

त्यसैले अल्पमतको सरकार बनाउने सबभन्दा उत्तम विकल्प देखिएको सांसदहरुले बताएका छन् ।

गण्डकीमा डिल्लीराज भट्ट प्रदेश प्रमुख छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेका भट्टले लामो समय दिएर सरकार गठन गर्न आह्वान गर्छन् कि भन्ने आशंका पनि कांग्रेस सांसदलाई थियो । तर अहिलेसम्मको अभ्यास हेर्दा त्यसो गर्नु उचित नदेखिने भएकाले कांग्रेस मुख्यमन्त्रीलाई राजीनामा गराउने तयारीमा जुटेको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?