+
+

कालिबहादुर खाम मनाङ घटनाका पनि फरार अभियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते ७:३२

२१ चैत, काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कालिबहादुर खाम मनाङ प्रहरीको समेत खोजी सूचीमा रहेका व्यक्ति रहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार ठमेलबाट पक्राउ गरेका खामको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा मनाङ प्रहरीको समेत खोजी सूचीमा रहेका व्यक्ति खुलेको हो ।

१ साउन २०७१ मा मनाङको साविक धारापानी गाविस ५ स्थित सडकमा ग२च ३०१ नम्बरको बोलेरो जिपलाई प्रहरीले जाँच गरेको थियो । जाँचको क्रममा उक्त गाडीमा एके४७ सेभेन राइफलल १ थान, त्यसमा लाग्ने ७ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने ७ राउण्ड गोली र १ थान खोका बरामद भएको थियो ।

त्यतिबेला मनाङ प्रहरीले विकल्प भनिने संगम रोकालाई पक्राउ गरेको थियो । तर, उक्त मुद्दामा कालिबहादुर खामसहित ८ जना भने फरार रहेका थिए ।

मनाङ प्रहरीको रेकर्डमा खाम फरार देखिएकाले उनलाई चितवनपछि मनाङ समेत पठाउने प्रहरीले तयारी गरेको छ ।

मनाङ घटनाभन्दा अघि काठमाडौंमै अर्को कसुर खामलाई १० हजार जरिवाना सुनाइएको पनि सीआरएसमा देखिएको छ ।

१६ साउन २०६७ मा काठमाडौं महानगरपालिका २६ गोंगबुमा रहेको खामको कोठाबाट काठमाडौं प्रहरीले १० राउण्ड गोली बरामद गरेको थियो।

त्यतिबेला काठमाडौंका एसएसपी रमेश खरेल थिए । खामलाई त्यतिबेला खोजी गरिए पनि भेटिएका थिएनन् । गोली भेटिएको कसुरमा भने खामलाई काठमाडौं जिल्ला अदालतले १० हजार जरिवाना सुनाएको पाइएको छ ।

उनै खाम कोटेश्वरबाट व्यापारी रामहरिलाई अपहरण गरेर चितवनको तत्कालीन माओवादी लडाकुको शक्तिखोरस्थित डिभिजन लगेर कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

खामलाई काठमाडौंबाट चितवन पठाइसकिएको काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?