+
+

धनगढीमै घर भएका सुदूरपश्चिमका सांसदले लिए सरकारी आवास सुविधा

जनक विष्ट जनक विष्ट
२०८० चैत २२ गते ७:००

२२ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानीमै घर भएका प्रदेश सभा सदस्यहरुले समेत ऐनविपरीत सरकारी आवास सुविधा लिंदै आएको पाइएको छ ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ ले प्रदेश राजधानीमा घर भएका प्रदेश सभा सदस्यलाई आवास सुविधा नहुने व्यवस्था गरेको छ ।

ऐनको दफा ५ को उपदफा (३) मा प्रदेश राजधानीमा आफ्नो घर भएको सभामुख र उपसभामुखले अनुसूची-१ मा उल्लेख भए बमोजिमको रकम आवास सुविधा पाउने छैनन् भनेर उल्लेख गरेको छ ।

सोही दफाको उपदफा (७) मा निजी घरमा बस्ने पदाधिकारी तथा सदस्यलाई आवास सुविधा दिइने छैन तर निजी घर मर्मत सम्भार वापतको रकम अनुसूची–१ मा उल्लेख भएअनुसार उपलब्ध गराइने व्यवस्था गरेको छ । उपदफा (८) ले राजधानीमा आफ्नो घर नभएमा आवास सुविधा र फर्निचर वापतको रकम दिने उल्लेख गरिएको छ ।

ऐनमा भएको व्यवस्थाअनुसार प्रदेश सभा सदस्यहरुले आवास सुविधा वापत मासिक रुपमा १७ हजार रुपैयाँ दिने गरिएको छ । तर, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा भएको व्यवस्थाविपरीत सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आवास सुविधा बुझिरहेको पाइएको छ । प्रदेश अस्थायी राजधानी धनगढीमा ५३ जना प्रदेश सभा सदस्य मध्ये ७ जनाको घर छ ।

नेपाली कांग्रेसका प्रकाशबहादुर बम, डम्मरी महरा, नेकपा एमालेका धर्मराज पाठक, सन्तोषकुमारी शर्मा थापा, माओवादी केन्द्रका रमेश धामी, नागरिक उन्मुक्ति पार्टीकी इन्दिरा गिरी र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीको धनगढीमा घर छ ।

प्रदेश सभा सचिवालयकाअनुसार उनीहरु मध्ये कांग्रेसका प्रकाशबहादुर बम, डम्मरी महरा, नाउपाकी इन्दिरा गिरीले नियमित रुपमा सरकारी आवास सुविधा लिँदै आएका छन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले १५ पुस २०७९ देखि राजधानीमा घर नभएको भनी घोषणा गरेका प्रदेश सभा सदस्यहरुलाई नियमानुसार दिइने आवास सुविधा प्रदान गरिदै आएको जानकारी दिए ।

‘प्रदेश राजधानीमा को–को माननीय ज्यूको घर छ, छैन ? भनेर हामीले थाहा पाउने कुरा भएन । त्यसैले सचिवालयले ऐनको व्यवस्था जानकारी दिएर उहाँहरुलाई एउटा फारम भराएर स्वघोषणा गर्न लगाएको थियो,’ जैशीले अनलाइनखबरसँग भने, ‘सोहीअनुसार उहाँहरुको खातामा आवास सुविधा वापतको रकम जाने गरेको छ ।’

तर धनगढीमै घर भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी, एमाले उपनेता सन्तोष शर्मा थापा र धर्मराज पाठकले भने आवास सुविधा नलिएको जैशीले बताए ।

प्रदेशका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले समेत २०८० वैशाखसम्म सरकारी आवास सुविधा लिएको पाइएको छ ।

प्रदेश राजधानीमै घर भएर पनि सरकारी आवास सुविधा लिइरहेका प्रदेश सभा सदस्यले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । तर कांग्रेसकी प्रदेश सभा सदस्य डम्मरी महराले भने स्वास्थ्य उपचारका क्रममा काठमाडौँमा कोठा लिएर बस्दै आएकाले आवास सुविधा लिइरहेको बताइन् ।

‘मेरो घर धनगढीमै हो तर स्वास्थ्य समस्याले लामो समयदेखि काठमाडौंमा नियमित चेकजाँच गराइरहेकी छु । त्यसैले आवास सुविधा वापतको रकम लिएको हो,’ महराले अनलाइनखबरसँग भनिन्, ‘अब काठमाडौंको डेरा छोड्दैछु । त्यसपछि त्यो सुविधा लिन्नँ ।’

अघिल्लो कार्यकालमा समेत राजधानीमै घर भएका केही प्रदेश सभा सदस्यहरुले प्रदेश सभाबाट सरकारी आवास सुविधा लिएका थिए तर उक्त कुरा सञ्चार माध्यममा सार्वजनिक भएपछि कानुनी व्यवस्थाबारे थाहा नभएको भन्दै प्रदेश सभाबाट बुझेको रकम एकुमष्ट फिर्ता गरेका थिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?