+
+

सुदूरपश्चिममा सरकार बनाउन नाउपाको निर्णय पर्खिंदै गठबन्धन

जनक विष्ट जनक विष्ट
२०८० चैत २७ गते ८:३९

२७ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । ९ दिनको समय दिंदै संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि मियाँले २३ चैतमा आह्वान गरेका थिए ।

सरकार गठनका लागि आह्वान भएको तीन दिनसम्म मुख्यमन्त्रीमा अहिलेसम्म कसैले दाबी पेश गरेका छैनन् । मुख्यमन्त्री कमलबहादुर शाहले पद जोगाउन सरकार निर्माणमा निर्णायक नाउपाका पाँच जनालाई मन्त्री बनाउँदा समेत नाउपाको आन्तरिक विवादका कारण उनी राजीनामा दिन बाध्य भएका थिए ।

उनले राजीनामा दिइसकेको अवस्थामा समेत एमाले-माओवादी-नेकपा एकीकृत समाजवादीसहितको नयाँ गठबन्धनले समेत सरकार बनाउन सक्ने अवस्था छैन । सोहीकारण नागरिक उन्मुक्ति पार्टीलाई समेत सँगै लिएर जानुपर्ने उनीहरुको बाध्यता छ ।

नेताहरुकाअनुसार सुदूरपश्चिममा नयाँ गठबन्धनमा आवद्ध सबै दलले बाँकी अवधी आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भइसकेको छ तर आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टीले लिने निर्णयमा धेरै कुरा भर पर्ने भएकाले अहिले नै छलफलले मूर्त रुप लिइसकेको छैन ।

माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामी केन्द्रमा भएको सहमतीका आधारमा पहिलो चरणमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने बताउँछन् । ‘यो विषयमा हामी सबै दलहरु सहमत छौं तर नागरिक उन्मुक्ति पार्टीको आन्तरिक समस्याका कारण केही ढिलो हुनसक्ने देखिन्छ,’ धामीले अनलाइनखबरसँग भने, ‘एक/दुई दिनमा बहुमतसहित सरकारमा दाबी पेश गर्छौं ।’

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल समेत प्रदेश सरकार गठनका विषयमा छलफलमै रहेको बताउँछन् । धामीले जस्तै रावलले पनि गठबन्धनमा हुने सहमतीका आधारमा अघि बढ्ने बताउँदै नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बनाउन पहल जारी रहेको सुनाए । ‘नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा ल्याउनेगरि छलफल भइरहेको छ तर अहिलेसम्म निष्कर्ष केही निस्किएको छैन,’ रावलले अनलाइनखबरसँग भने, ‘प्रदेश प्रमुख ज्यूले दिनुभएको समय बाँकी नै छ । नाउपाबाहेक हामी अरु दलमा समस्या छैन ।’

रावलले सत्तारुढ गठबन्धनमा आवद्ध जुनसुकै दलले पनि सरकारको नेतृत्व गरेमा सहमतीमै हुने बताए ।

सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वमा सहमती भइसकेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टी भने सहमतीअनुसार आफ्नो नेतृत्वमा सरकार बन्नेमा ढुक्क देखिएको छ । ‘केन्द्रमा शीर्ष नेताबीच सुदूरपश्चिममा पहिलो चरणमा हामीलाई नेतृत्व दिने सहमती भइसकेको छ । सोहीअनुसार प्रक्रिया अघि बढ्छ,’ प्रमुख सचेतक प्रकाश रावलले भने, ‘गठबन्धनमा आवद्ध सहमतीमा आएका दलको समर्थन जुटाएर चाँडै मुख्यमन्त्रीमा दाबी पेश गर्छौँ ।’

तर नाउपाभित्रको विवादका कारण कांग्रेस नेतृत्वको सरकार ढलेको पृष्ठभूमिमा उसले नयाँ गठबन्धनलाई समेत समर्थन नगरे अर्को सरकार बन्ने अवस्था छैन । तर नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवाद सांसद हटाउने तहसम्म पुगेको छ ।

अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेर कैलाश चौधरीलाई जिम्मेवारी दिइएको पत्र सभामुख भीमबहादुर भण्डारीलाई बुझाएकी छन् ।

यसैगरी अध्यक्ष श्रेष्ठले कारवाही गरेकी समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले सोमबार सूचना जारी गर्दैै पदमुक्त गरिसकेको छ ।

तर नाउपाको संसदीय दलले भने पार्टीको निर्णयलाई प्रदेशसभाले वैधता दिएपछि प्रक्रियागत रुपमा नमिल्ने दाबी गरेको छ ।

नाउपाका प्रमुख सचेतक खुसीराम डगौरा थारुले संसदीय दलको बहुमतको सिफारिसका आधारमा मात्र प्रदेश सभा सदस्यलाई कारवाही हुने बताए । ‘यो कारबाही कसरी प्रक्रियागत भयो ? संसदीय दलको बहुमतले कारबाहीका लागि पार्टीलाई सिफारिस गर्ने होला,’ डगौराले भने, ‘केन्द्रीय कमिटिले पनि बहुमतको निर्णय गरेर सिफारिस गर्ने होइन र ? प्रक्रिया नपुगाएर कारबाही गरेमा कानुनी ढोकाहरु छन् नि ।’ सरकार गठनका बारेमा भने विभिन्न कोणबाट छलफल भइरहेको उनको भनाइ छ ।

नाउपामा रञ्जिता पक्षले गिरीलाई कारबाही गरेपछि ५३ सदस्यीय प्रदेश सभामा सांसदको संख्या ५१ मा झरेको छ । यो अवस्थामा नयाँ गठबन्धनलाई बहुमत पुगाउन २६ जनाको समर्थन चाहिन्छ ।

नाउपा बाहेक नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १० जना, नेकपा एमालेका १० र एकीकृत समाजवादीका ४ गरेर नयाँ गठबन्धनसँग २४ जना प्रदेशसभा सदस्य छन् । यो अवस्थामा उसलाई सरकार बनाउन अझै दुई जनाको समर्थन चाहिन्छ । नाउपाका सबै सांसदले समर्थन गर्ने अवस्था नभएमा रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापाको समर्थन जुटाएर सरकार बनाउने रणनीति गठबन्धनको छ ।

‘सकभर नाउपाका सबै सांसदले हामीलाई समर्थन गर्नुहुन्छ होला । त्यो सम्भव भएन भने बहुमत पुग्ने गरी उहाँहरुमध्येबाट केहीले समर्थन गर्ने हुनसक्छ,’ माओवादीका एक प्रदेशसभा सदस्य भने, ‘नयाँ गठबन्धनको सरकार बन्ने कुरामा कुनै शंका छैन ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?