+
+

विश्वासको मत लिनुअघि सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री महरालाई दबाब

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नगरी विश्वासको मत लिन थालेको भन्दै एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते ९:५७

३० चैत, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एकजना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन छ । प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

महराले विश्वास मत लिनु अगाडि एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मन्त्री बनाउने सहमति कार्यान्वयन गर्न दबाब दिएका छन् ।

सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने अर्थात एउटा मन्त्रालय दिने सहमति भएको थियो । तर, मुख्यमन्त्रीले सहमति कार्यान्वयन नहुँदै विश्वासको मत लिन थालेको भन्दै एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेको छ ।

लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी मात्रै प्रदेशसभा सदस्य छन् । उनलाई सामाजिक विकास मन्त्री बनाउने आश्वासन मुख्यमन्त्रीले दिएका दिएको पार्टीका प्रदेश सचिव सुदन खनालले बताए । ‘लिखित सहमतिमा एउटा मन्त्रालय दिने उल्लेख छ तर अहिले स्वतन्त्र सांसद बस्नेत र हाम्रो माननीयलाई एउटा मन्त्रालयमा आलोपालो मन्त्री बनाउने भन्ने कुरा गरिएको छ’ खनालले भने, ‘यो सहमतिको उल्लंघन र हामीलाई अल्मलाउने कुरा हो, हामी मान्दैनौं ।’

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले दुईवटा मन्त्रालय नदिए विश्वासको मत नदिने बताएको छ । ‘हामीलाई दुई मन्त्रालय दिने लिखित सहमति गर्नुपर्छ र मात्रै विश्वासको मत दिन सकिन्छ’ पार्टी संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले भने, ‘एउटा भौतिक पूर्वाधार मन्त्रालय र अर्को जुन भए पनि हुन्छ, मन्त्रालय दिने सहमति नगरे हामी विश्वासको मत दिंदैनौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?