+
+

बाजुराको स्वास्थ्य बीमा कागजमै सीमित

प्रकाश सिंह प्रकाश सिंह
२०८१ वैशाख ३ गते १४:२५

३ वैशाख, बाजुरा । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ४ वर्षअघि स्वास्थ्य बीमा कार्यक्रम सुरू भएको थियो । स्वास्थ्य बीमा बोर्डको तथ्यांकमा २०७६ जेठ १ गतेबाट बाजुराका स्थानीय तहका नागरिकलाई लक्षित स्वास्थ्य बीमा कार्यक्रम सुरू भएको रेकर्ड छ ।

बीमा बोर्डको तथ्यांकमा कार्यक्रम सुरू भएको उल्लेख भए पनि नागरिकहरूले स्वास्थ्य बीमाको सेवा उपयोग गर्न पाएका छैनन् । स्वास्थ्य चौकीमा सरकारले तोकेको उपचार सेवा नुहुनुलगायत कारण बीमा सेवा नागरिकले पाउन सकेका छैनन् ।

बाजुराका ५ स्थानीय तहका लागि सदरमुकाम मार्तडीमा रहेको अस्पताल तथा उत्तरपूर्वी क्षेत्रका ४ स्थानीय तहका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु तोकिएको छ ।

स्वास्थ्य बीमा गरेपछि अस्पतालका बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, शल्यक्रिया र सूचीकृत औषधि निःशुल्क पाउने व्यवस्था छ । तर स्वास्थ्य बीमा कार्यक्रम लागू भएका बाजुराका स्वास्थ्य संस्थामा यीमध्ये अधिकांश सुविधा छैनन् ।

उपचारमा सजिलो हुने ठानेर यहाँका अधिकांश नागरिक बीमा कार्यक्रममा सहभागी भएका थिए । तिनैमध्येका एक हुन् बूढीनन्दा नगरपालिका–१ का गंगाराम लुहार । गाउँमै आएका कर्मचारीबाट दुई वर्ष पहिले स्वास्थ्य बीमा गराएका लुहारले कुनै सुविधा पाउन सकेनन् । सामान्य उपचारका लागि पनि उनी निजी स्वास्थ्य संस्था वा जिल्ला बाहिर पुग्नुपर्‍यो । यसरी लाभ नपाएपछि उनले बीमा नवीकरण गरेका छैनन् ।

गंगाराम अति गरिबको सूचीमा सूचीकृत परिवारका सदस्य हुन् । अति गरिब परिवारका सदस्यहरूलाई स्वास्थ्य बीमाको शुल्क लाग्दैन । तर पनि सुविधा नपाउने भएपछि किन झन्झन्ट गर्नु भनेर नवीकरण नगरेको उनी बताउँछन् ।

बाजुराको बूढीनन्दा नगरपालिका, जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकाका १८ हजार ६ सय ८० जनाले स्वास्थ्य बीमा गरेको तथ्यांक छ । तर स्वास्थ्य बीमाअनुसारको उपचार र औषधिको सुविधा नपाउँदा नवीकरण गर्नेहरूको संख्या न्यून छ ।

स्वास्थ्य बीमा कार्यक्रम बाजुराकी संयोजक तारा रोकायाका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी नहुँदा बीमितहरू सेवा नपाएका हुन् । उनले भनिन्, ‘निःशुल्क दिनुपर्ने औषधिका लागि स्वास्थ्य संस्थाको आफ्नै फार्मेसी हुनुपर्छ । कोल्टिमा नहुँदा समस्या भएको हो ।’

बूढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहोराका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य केन्द्रमा सेवा र उपकरण थप्नुका साथै फार्मेसी सञ्चालनको तयारी भएको छ । उनले भने, ‘बीमा सेवा सञ्चालनका लागि फार्मेसी, स्वास्थ्य चौकीमा उपकरण र सुविधाका साथै इन्टरनेटको पनि व्यवस्थापन भइरहेको छ । यही महिनाभित्र बीमाको सेवा सुरू गर्नेछौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?