+
+

पर्यटन बोर्ड सीईओ बन्न ‘विवादित’ रेग्मीको पुनः आवेदन

डा. धनञ्जय रेग्मीले यसअघि सीईओ हुनसाथै बोर्ड सहभागी अन्तर्राष्ट्रिय पर्यटन मेला ‘डब्लूटीएम’ मा सहभागिता जनाएर फर्कने क्रममा नियमविपरीत ६ बोतल मदिरा ल्याएपछि त्रिभुवन विमानस्थल भन्सार कर्मचारीले रोक्दा हातपात गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १९:४९

६ वैशाख, काठमाडौं । विवादित छवि बनाएर नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट बाहिरिएका डा. धनञ्जय रेग्मीले फेरि सीईओ बन्न आवेदन दिएका छन् ।

१४ माघ २०८० मा चार वर्षे कार्यकाल सकेर पर्यटन बोर्डबाट बाहिरिएका रेग्मी सुरुदेखि नै विवादमा परेका थिए । रेग्मीले कार्यकाल सकिन बेला पर्यटन बोर्ड सञ्चालक समितिलाई ‘बाइपास’ गरी विनाअनुमति १ करोड रुपैयाँबराबरको प्रवर्द्धनको काम गर्न एकल निर्णय गरेर थप विवादित भएका थिए ।

उनले चीनको नयाँ वर्ष मनाउने भन्दै स्वविवेकमा १ करोड रुपैयाँ छुट्ट्याएर कार्यक्रम कार्यान्वयन समितिसमेत बनाएका थिए । रेग्मीले काठमाडौंस्थित चिनियाँ दूतावासको आवश्यक समन्वय तथा सहकार्यमा गर्ने भनिएको ‘ज्वाइन्ट प्रमोसन/डेस्टिनेसन प्रमोसन’ कार्यक्रमको बजेट नै हुरेलधुरेल गरेका थिए ।

‘यसअघि खुला प्रतिस्पर्धाबाट सीईओ बनेका रेग्मीले कार्यकालभरि विवादमुक्त रहन सकेका थिएनन्, तर फेरि सीईओको प्रतिस्पर्धामा उत्रिएका छन्,’ पर्यटन बोर्डका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘यदि यो पटक पनि रेग्मीले नै सीईओको बाजी मारे भने अचम्म नमाने हुन्छ ।’

रेग्मी यसअघि सीईओ नियुक्त भएदेखि नै विवादमा पर्दै आएका थिए । यसअघि बोर्ड सहभागी अन्तर्राष्ट्रिय पर्यटन मेला ‘डब्लूटीएम’ मा सहभागिता जनाएर फर्कने क्रममा नियमविपरीत ६ बोतल मदिरा ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कर्मचारीले रोक्दा हातपात गरेका थिए ।

उक्त घटनामा बोर्ड र सरकारले गठन गरेको छानबिन समितिबाट रेग्मी दोषी ठहर भए पनि लगत्तै सरकार र पर्यटनमन्त्री परिवर्तन हुन पुग्दा उनी जोगिएका थिए ।

रेग्मीले पर्यटन मन्त्रालयका कर्मचारीदेखि बोर्ड सञ्चालक समितिमा निजी क्षेत्रबाट सहभागी सदस्यस्यहरूलाई बोर्डको खर्चमा विदेश भ्रमण गराएर आफूविरुद्धका छानबिन प्रतिवेदन गुपचुप पार्न सफल भएको स्रोतको दाबी छ ।

पर्यटन बोर्डमा कसरी हुन्छ सीईओ नियुक्ति ?

पर्यटन बोर्डमा सीईओ ‘नेपाल पर्यटन बोर्ड ऐन, २०५३’ को दफा १४ अनुसार नियुक्त हुने गर्छ । यो दफाअनुसार सीईओ बोर्डको प्रशासकीय प्रमुखका रूपमा रहने र उसको नियुक्ति तोकिएको प्रक्रियाअनुसार हुन्छ ।

स्नातकोत्तर उत्तीर्ण गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको व्यक्ति सीईओ पदमा नियुक्त हुने र पुनः एकपटकका लागि प्रक्रियाअनुसार चार वर्षका लागि नियुक्त हुने व्यवस्था ऐनमा छ ।

पर्यटन बोर्ड सिईओ नियुक्त व्यक्तिले पर्यटन विकास र प्रवर्द्धनका काममा दत्तचित्त भएर लागोस् र बोर्डको सार्वजनिक सम्पत्ति प्रयोग आफ्नो निजी स्वार्थमा गर्न नसकोस् भन्ने कानुनी मनसाय स्पष्ट छ ।

‘नेपाल पर्यटन बोर्ड नियमावली, २०५५’ को नियम ९ (२) मा ‘बोर्डको कार्यकारी प्रमुख (सीईओ) मा नियुक्त भएको व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए निजले त्यस्तो सेवा वा व्यवसायबाट अवकास लिनुपर्ने छ र यसरी अवकास नलिए त्यस्तो नियुक्ति स्वतः बदर हुनेछ’ भन्ने उल्लेख छ ।

कर्मचारी संगठनको आपत्ति

यसैबीच नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले सीईओ पदपूर्ति तथा सिफारिस कार्यविधि कानुनसम्मत नरहेको भन्दै बोर्ड सञ्चालक समिति अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएको छ ।

२८ माघ २०८० मा बसेको बोर्ड सञ्चालक समितिको ३६३औं बैठकले सीईओ छनोट तथा सिफारिस गर्न गठन गरेको उपसमितिले २४ चैतमा सीईओ छनोट गर्ने सम्बन्धमा सूचना जारी गरेको थियो । सीईओ बन्न आवश्यक योग्यतातर्फ सूचनामा उल्लेख भएका कतिपय बुँदामा आपत्ति जनाउँदै कर्मचारी संगठनले लिखित ध्यानाकर्षण गराएको हो ।

सीईओका अन्य प्रतिस्पर्धी

यसैगरी पर्यटन बोर्ड सीईओको प्रतिस्पर्धामा दीपकराज जोशी, राजाराम गिरी, श्रद्धा श्रेष्ठ र लक्ष्मण गौतम छन् । तीमध्ये जोशी बोर्डको पूर्वसीईओ हुन् । गिरी तत्कालीन पर्यटन पुनरुत्थान समितिका संयोजक, श्रेष्ठ पर्यटन बोर्डकी प्रबन्धक र गौतम कार्यवाहक निर्देशक हुन् ।

त्यसैगरी अन्य प्रतिस्पर्धीमा ठाकुरप्रसाद देवकोटा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, विजय नेपाल, पदम बम, राजाराम केसी, नवीन पोखरेल, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, सन्तोष थापा, ज्ञानेन्द्र अधिकारी, चक्शुविक्रम मल्ल, दीपक बस्ताकोटी, कमल ढोडारी र रामचन्द्र सेढाईं छन् ।

सीईओका लागि आवेदन दिने अन्तिम म्याद आज बिहीबारसम्म छ ।

हेर्नुहोस् कर्मचारी संगठनको ध्यानाकर्षण पत्र :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?