+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
विचार :

नेता पनि बसाइँ नै जालान् !

पहाडी गाउँको जनजीवनमा वैराग्य चल्न अरू केही हुनुपर्दैन । बस् बसाइँ हिंडेपछिको छिमेकीको घर क्रमशः भग्नावशेष हुँदै गएको दृश्य हेरिरहे पुग्छ ।

सन्तोष पोखरेल सन्तोष पोखरेल
२०८१ वैशाख १२ गते १३:३५

भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकामा रहेको कटुञ्जे गाउँ पूर्व–दक्षिण फर्केर ढल्केको छ । यस गाउँमा खोला, कुलेसा र सीमसार क्षेत्र पर्याप्त छन् । गाउँ भए पनि घर धेरै पातला छैनन् । तर, मानिसको संख्या पातलिंदै गएको छ ।

जुन घर खाली छन्, ती घरका मानिस कोही शहरमा त कोही विदेशमा बस्छन् । अन्यत्रभन्दा फरक देखिएको दृश्य– धेरैजसो रित्ता घर पनि सफा र चिटिक्क देखिन्छन् । यस्तो कसरी भयो ?

स्थानीयहरू भन्छन्– ‘बसाइँ सरेर अन्यत्रै गएका धेरैले आफ्नो घरको र गाउँको माया मार्न सकेका छैनन् । त्यसैले प्रायः वर्षमा एकपटक परिवारका सदस्यहरू आएर सरसफाइ, लिपपोत, रङरोगन र आफ्नो परम्परा बमोजिम पूजाआजा गरेर जान्छन् ।’

स्थानीय सरकारले काम गर्न सुरु गरेको २०७४ सालदेखि हालसम्म रामप्रसाद राई गाउँपालिकाबाट १ हजार ९ परिवार बसाइँ हिंडेको पञ्जीकरण शाखाको अभिलेखले देखाउँछ । अभिलेखअनुसार २ हजार ९१५ जना यस पालिकाबाट बसाइँ सरे । बसाइँसराइको कागजात नबनाई गाउँ छोड्नेको परिवार संख्या कति हो कति ।

गाउँपालिकाका हालका अध्यक्षले ३ हजार ७७ मत ल्याएर चुनाव जितेका थिए । उनले ल्याएको भोट संख्याको हाराहारीका मानिस त पछिल्लो समयमा गाउँ नै छोडेर हिंडिसकेको तथ्यांकले देखाउँछ ।

कटुञ्जे गाउँकै लगभग पुछारमा सँगै दुईवटा दुईतले घर छन् । बीचमा फराकिलो आँगन छ । वरिपरि बार्दलीसहितको घरको संरचना हेर्दा घरधनीको सम्पन्नता अनुमान गर्न सकिन्छ । तर ती दुवै घर खाली छन् ।

घरका भित्तामा लिउन उप्किएको, आँगनमा झार उम्रेको, खाँबा र दलिन धमिराले खाएको देखिन्छ । छेउमै स्याहार नपाएको फूलबारीमा पनि केही फूल फुलिरहेका छन् ।

गाडी गुड्ने बाटो बनिसकेको हुनाले घर छेउको साबिकको गोरेटो बाटो र वरपिपल चौतारोलाई बाक्लो झाडीले ढपक्कै ढाकेको छ । घर छेउ उभिएर केहीबेर नियाल्दा नयाँ मानिसको मनमा स्वभाविक प्रश्न उठ्न सक्छ । यति राम्रो ठाउँको यस्ता राम्रा घर छाडेर हिंड्नु घरधनीको रहर होला कि बाध्यता ?

यसरी गाउँका मानिस बसाइँ हिंडेपछि रित्तिएका घर नभएको पालिकाको कुनै वडा छैन । कतिपय त सिंगो गाउँ नै बसाइँ हिंडेको छ ।

पहिलेका बारी, बगैंचामा हाल उत्तीस र चिलाउनेका रुखहरू हुर्किरहेका छन् । बारीका कान्लामा एक प्रकारको काँडे फूलको झाडी अनियन्त्रित रूपमा फैलिरहेको छ ।कतिपय गाउँ त सानोतिनो जंगलजस्तो देखिन थालेका छन् । वनको क्षेत्रफल बढ्दै गएर ४५ प्रतिशत पुग्नुमा बसाइँसराइकै योगदान हो कि !

पर्म, पूजा, रुद्री, बिहे र ब्रतबन्धमा सहयोगी पाउन छाडेको धेरै भइसक्यो । आफ्नो घरमा दुहुनो नहुँदा मोही माग्न जाने घर घट्दै गइरहेका छन् । कतै बाहिर जानुपरे घर र गोठका वस्तुभाउ छिमेकीलाई जिम्मा दिएर हिंड्ने दिन हराइसके ।

पहाडी गाउँको जनजीवनमा वैराग्य चल्न अरू केही हुनुपर्दैन । बस् बसाइँ हिंडेपछिको छिमेकीको घर क्रमशः भग्नावशेष हुँदै गएको दृश्य हेरिरहे पुग्छ । बसाइँसराइले गर्दा सँगै गट्टा खेल्ने र स्कुल जाने साथीको साथ घटिरहेको छ । विद्यार्थीको संख्या घटेर विद्यालयहरू उराठलाग्दा बनेका छन् ।

सरकारी बजेटले विद्यालय भवनहरू भव्य बन्दै जाँदा कक्षाकोठाहरू खाली हुने क्रममा छन् । बेलुकाबेलुका युवाहरू भेला भएर भलिबल खेल्न समेत टिम पुग्न छोडेको छ ।

पर्म, पूजा, रुद्री, बिहे र ब्रतबन्धमा सहयोगी पाउन छाडेको धेरै भइसक्यो । आफ्नो घरमा दुहुनो नहुँदा मोही माग्न जाने घर घट्दै गइरहेका छन् । कतै बाहिर जानुपरे घर र गोठका वस्तुभाउ छिमेकीलाई जिम्मा दिएर हिंड्ने दिन हराइसके ।

भलाकुसारी गर्नको लागि छिमेकी विनाको दैनिकी कति एक्लो र निरस हुन्छ भन्ने अरूले त अनुमान मात्र गर्ने हो । ‘मनको बह, कसैलाई नकह’ भन्छन् । भोग्नेले चुपचाप सहिरहेका होलान् । गाउँमा बस्नेहरू भन्छन्, ‘उनीहरू बसाइँ जाँदा हाम्रो मन पनि भरङ्ग भएको छ ।’

जेबी टुहुरेले एउटा गीतमा भनेका छन्, ‘बसाइँ हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ ।’ सायद गीतको यो पंक्तिले गाउँमा बस्नेलाई भित्रैसम्म छुँदो हो । बसाइँ जाने त गइहाले, बस्नेहरूको मन पनि कहाँ सम्हालिएको छ र ?

स्थानीय सरकारले गरेको विकास निर्माण र सेवा प्रवाहलाई स्थानीयबासीको बसाइँसराइको मनस्थितिले प्रत्यक्ष रूपमा असर पारेको छ । ‘ढिलो वा छिटो बसाइँ जाने नै हो’ भन्ने सोच बोकेका स्थानीयवासीले सरकारको काममा चासो कम राख्न थालेका छन् ।

केही प्रतिशत रकम व्यहोर्नुपर्ने लागत साझेदारीका योजना तथा कार्यक्रमहरू सञ्चालन गर्न झनै गाह्रो छ । सित्तैमा पाए बजेट र कार्यक्रम लिइहाल्ने तर, अलिकति मात्रै पनि लागत व्यहोर्नुपर्‍यो भने नाक खुम्च्याउने प्रवृत्ति देखिन थालेको छ ।

फलफूलका बिरुवा हुन् कि कुटानीपिसानी मिल अथवा कृषि औजार, जनताले लागत साझेदारीमा चासो नदेखाउनुको मूल कारणमा एक त उसमा व्यावसायिक सोचकै अभाव छ । अर्को उसको यस ठाउँमा लामो समय बस्ने मनस्थिति छैन ।

गाउँमा स्थायी रूपले बस्ने टुङ्गो छैन भने वर्षौंपछि फलेर अर्काले खानेगरी फलफूलका बिरुवा किनेर किन रोप्नु ? किन मिलका खुट्टा घरको आँगनमा गाड्नु !

भनिएको थियो– संघीयताले बसाइँसराइ रोक्छ । गाउँमै सिंहदरबार पुग्छ । ढोका खोल्दा सरकार भेटिन्छ । दुर्गम र कुनाकाप्चाका गाउँमा सरल र सहजपूर्वक आधारभूत सेवा प्राप्त गर्न सकिन्छ ।

यो धेरै हदसम्म भयो पनि । तीनै तहका सरकारमार्फत गाउँमा पर्याप्त बजेट पुगेको छ । ससाना बस्ती समेतमा धुले नै सही, सडक सञ्जाल फैलिएको छ । बर्थिङ सेन्टरसहित आधारभूत स्वास्थ्य उपचारको सेवा गाउँमै छ । कम्तीमा १२ कक्षासम्मको पढाइ गाउँमै हुन्छ । सानातिना बजार बसेका छन् ।

तरकारी र फलफूलले बजार पाएका छन् । खसी, बोका, सुँगुर र कुखुरा राम्रोसँग हुर्कन समेत नपाइ बिक्री भइसक्छन् । स्थानीय अर्थतन्त्र चलायमान भएको छ । कृषि उत्पादन पर्याप्त भए बेच्नको लागि टाढा गइराख्नु पर्दैन । व्यापारीहरू गाडी लिएर घरमै पुग्छन् ।

त्यसमाथि अझ बसोबासको लागि गाउँको हावापानी उत्तम छ । गोजीमा रुपैयाँ नहुँदा पनि कयौं दिन सरसापट र उधारोमै दैनिकी चल्छ । यस्तो अनुकूलताले बसाइँसराइको प्रवृत्ति कम हुनुपर्ने हो । तर यो मान्यताले नेपालका धेरै गाउँमा ‘फेल’ खाइरहेको छ ।

छिमेकी बसाइँ हिंडेपछि अरूको पनि गाउँमा मन अडिन छोड्यो । त्यस्तै पारिवारिक विखण्डन र जातीय छुवाछूतको कारण कसैको लागि गाउँ निरन्तरको सामाजिक अपमान र असुरक्षाको कारण बन्यो । कतिलाई छोरा, बुहारीले कर गरेपछि बाउआमा पनि नचाहँदा नचाहँदै उनीहरूकै पछि लाग्नुपर्ने बाध्यता आयो ।

किन हिंडे त बसाइँ ? यसमा केही स्वभाविक र केही मार्मिक कारणहरू छन् । मुख्य कुरा मानिसको क्रय शक्तिमा भएको वृद्धि नै हो । वैदशिक रोजगारी, व्यापार, ठेक्कापट्टा वा सरकारी नोकरी आदिबाट मानिसको आम्दानी वृद्धि हुँदै गएको छ ।

आम्दानीका रूपमा सुरक्षित महसुस गर्न थालेपछि मानिसले सन्तानको लागि गुणस्तरीय शिक्षा र समग्र परिवारको लागि गुणस्तरीय स्वास्थ्यको खोजी थाल्छ । त्यसपछि भौतिक सुख सुविधा सहितको सहज दैनिकी । गोजीभरि पैसा हुँदा पनि गाउँमा यी कुराको अभाव छ ।

बसाइँसराइका अन्य कारण पनि छन् । जस्तो– पानीका मुहान सुके, खानेपानी टाढा हुँदै गयो । बालीनालीमा बाँदर आतंक बढ्यो, मिहिनेतले फलाएको बाली घर भित्र्याउनै पाइएन ।

छिमेकी बसाइँ हिंडेपछि अरूको पनि गाउँमा मन अडिन छोड्यो । त्यस्तै पारिवारिक विखण्डन र जातीय छुवाछूतको कारण कसैको लागि गाउँ निरन्तरको सामाजिक अपमान र असुरक्षाको कारण बन्यो । कतिलाई छोरा, बुहारीले कर गरेपछि बाउआमा पनि नचाहँदा नचाहँदै उनीहरूकै पछि लाग्नुपर्ने बाध्यता आयो ।

गाउँमा अर्काथरी घर पनि क्रमशः भग्नावशेष भइरहेका छन् । ती हुन्, २०७२ सालको भूकम्प पीडितको सूचीमा परेबापत नयाँ घर बनाउन पाएको तीन लाख रुपैयाँको सरकारी सहयोगले बनाएकाहरू ।

भूकम्पपछि बनेका यस्ता कतिपय घरमा मानिस छन् । कतिपयले चाहिं अनुदानले घर बनाए तर बसेनन् । नबस्ने भए किन बनाए त ? धेरैले सरकारबाट पाएको अनुदान किन छोड्ने भनेर बनाए । कतिले गाउँमा आक्कलझुक्कल आउँदा बस्न हुन्छ भनेर बनाए । कतिले चाहिं अनुदान रकम बचाउन सकिन्छ भनेर बनाए । जसरी बने पनि घर बने, तर अधिकांश क्रमशः खाली हुँदै गए ।

राष्ट्रिय जनगणना अनुसार हिमाली र पहाडी गरी ३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ । ऋणात्मक वृद्धिदर धेरै भएका जिल्लामध्ये भोजपुर चौथो स्थानमा छ । जसको वार्षिक जनसंख्या वृद्धिदर १.३९ प्रतिशतले ऋणात्मक रहेको छ ।

यसको सोझो अर्थ हो– जिल्लाका मानव बस्तीहरू पातलिने क्रम छिटोछिटो छ । गाउँलेहरू भन्छन्, ‘यस्तै क्रम जारी रह्यो भने केही वर्षपछि हाम्रा नेताले भोट चाहिं कोसँग माग्ने हुन् ?’ यसको जवाफ पनि उनीहरूसँगै छ– ‘नेता पनि बसाइँ नै जालान् !’

(लेखक रामप्रसाद राई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?