काठमाडौं । ११ जेठदेखि १३ सम्म नेपाल फेसन फेस्टिभल आयोजना हुने भएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने फेस्टिभलको हरेक साँझमा फेसन रनवे समेत हुनेछ ।
स्थापित डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गर्दै आयोजक संस्थाले पहिलोपटक र्याम्पमा नयाँ मोडललाई प्रस्तुत गर्नेछ । फेसन शोका लागि शनिबार मोडल कास्टिङ कल अर्थात् अडिसन आयोजना गरिएको छ ।
१८ वर्षभन्दा माथिका युवायुवतीले शोमा क्याटवाक गर्न अडिसन दिन सक्नेछन् । ‘नेपाल फेसन फेस्टिभलको मोडल्स स्क्वाडमा आवद्ध हुँदै मोडलिङ क्षेत्रमा करियर बनाउन चाहने युवायुवतीलाई हामीले प्लाटफर्म दिने योजना बनाएका हौं,’ आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले भने ।
‘तीनदिने फेसन महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको रनवेलाई हामीले स्टाइल, ब्युटी तथा सिर्जनात्मकताको शो–केसको रुपमा आयोजना गरेका छौं,’ उनले भने ।
फेसन उद्योगसम्बद्ध बुटिक, डिजाइनर, फोटो स्टुडियो, इभेन्ट म्यानेजर, सौन्दर्य सामग्री उत्पादक कम्पनीसहित दर्जनौं प्रतिष्ठानले फेस्टिभलमा सहभागिता जनाउने भएका छन् ।
अडिसनको निर्णायकमा कोरियोग्राफर तथा अभिनेता समेत रहेका ताम्राकार, फेसन फोटोग्राफर राजभाइ सुवाल, सौन्दर्य उद्यमी दीपा गुरुङ, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ, फेसन डिजाइनर युबी थापा छन् ।
प्रतिक्रिया 4