
२० वैशाख, काठमाडौं । पोखरा मुख्यालय रहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’ स्थापना गरेको छ ।
२१ वैशाख शुक्रबारबाट औपचारिक सञ्चालनमा आउने सेल्सबेरी सुपरस्टोरमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्गले जानकारी दिए ।
नौ रोपनी क्षेत्रफल ओगटेको १६ तला अग्लो सेल्सबेरी सुपरस्टोर २१ वैशाखमा ‘ग्रान्ड ओपनिङ’ हुँदैछ । सुपरस्टोरको ‘सफ्ट ओपनिङ’ यसअघि नै भइसकेको छ ।
युरोपेली मापदण्ड अनुसार बनेको सुपरस्टोरलाई नेपालकै ‘सुपर सपिङ डेस्टिनेसन’ बनाउने उद्देश्य लिएर पाँच वर्षदेखि काम गरेको अनुभव सीईओ प्रधानाङ्गले सुनाए ।
‘रियल डिपार्टमेन्टल स्टोर कस्तो हुन्छ भन्ने अनुभव गर्न सेल्सबेरी सुपरस्टोर महाराजगन्ज जानैपर्ने गरी तयार पारेका छौं,’ तीन दशकदेखि सेल्सबेरी डिपार्टमेन्ट स्टोर सञ्चालन गरिरहेका सीईओ प्रधानाङ्गले बिहीबार सुपरस्टोरको १३औं तलामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यहाँ पाइने सामान सितिमिति अन्य डिपार्टमेन्टल स्टोरमा पाइँदैन । यो प्रिमियम सुपरस्टोर बन्ने विश्वास छ ।’
उनका अनुसार महाराजगञ्ज सेल्सबेरी सुपरस्टोरको पहिलो चार तलामा सवारीसाधनका लागि बेसमेन्ट पार्किङ छ । भुइँ तलादेखि छेटौं तलासम्म डिपार्टमेन्टल स्टोर, सात र आठ तलामा विभिन्न कर्पोरेट कार्यालय, नवौं, १०औं र ११औं तलामा जिम, फिटनेस सेन्टर, स्पा, रेस्टुरेन्ट तथा बार, १२औं तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर रहने छ ।
सुपरस्टोरको १३औं तलामा भ्यु टावर रहेको छ जहाँबाट काठमाडौं उपत्यकालाई ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।
‘हाम्रो स्टोरमा सामानमात्र किन्ने होइन, अन्य सेवा सुविधा पनि खरिद गर्न पाइन्छ,’ सीईओ प्रधानाङ्गले भने, ‘उपभोक्तालाई यसले पनि भिन्नै स्वाद दिनेमा हामी ढुक्क छौं । काठमाडौं आइपुगेका विदेशी पर्यटकले पनि सेल्सबेरी सुपरस्टोर जाऔं न त भन्ने गरी पूर्वाधार बनाएका छौं ।’
कालीमाटीमा सेल्सबेरीको अर्को शाखा
त्यसैगरी सेल्सबेरीको अर्को शाखा काठमाडौं कालीमाटीमा पनि २१ वैशाख शुक्रबारदेखि नै ग्रान्ड ओपनिङ हुँदैछ । कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टरमा सेल्सबेरी रहने छ ।
दुवै शाखा सञ्चालनका अवसरमा कम्पनीले ग्राहकका लागि लक्की ड्रमार्फत इलेक्ट्रिक कार, सेगवे इलेक्ट्रिक स्कुटर लगायत पुरस्कार दिने जनाएको छ ।
हाल सेल्सबेरी ब्रान्डमा ३२ शाखा सञ्चालनमा छ । कम्पनीले चालू आर्थिक वर्ष अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ शाखा सञ्चालन गर्ने जनाएको छ ।
‘हरेक वर्ष सानो, मध्यम र ठूलो गरी १० देखि १५ वटासम्म शाखा सञ्जाल विस्तार गर्दै जाने लक्ष्य छ,’ सेल्सबेरीका सीईओ प्रधानाङ्गले भने, ‘सन् २०२६ सम्म १ सय शाखा विस्तार गरी २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ ।’
प्रतिक्रिया 4