
काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा यतिबेला अन्तिम सातौं स्थानको प्रतिस्पर्धा भइरहेको छ । बिहीबारको एपिसोडमा धादिङका प्रतिस्पर्धी प्रेम विश्वकर्माले दिएको प्रस्तुतिको यतिबेला चर्चा छ ।
गएरातिको एपिसोडमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको हुलिया र संवादको नक्कल गर्दै जजदेखि दलका नेताहरुलाई व्यंग्य गरेका थिए ।
दुबोको माला, ढाकाटोपी र सुटमा सजिएका उनले जज सन्तोष पन्तदेखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मको उछितो काढे ।
‘म फर्किएँ । अलि अगाडि नै फर्किन्थें होला, ज्योतिष गतिलो परेनछ,’ भन्दै उनले कमेडीको सुरुवात गरे । ‘अहिले भण्डारी (निर्देशक विशाल भण्डारी)ले सातमा फर्काउनुभयो । मलाई सात भनेपछि डर लाग्छ । सात भनेको सात दल हो कि दिल्ली सम्झौता । म बाहिरिएपछि धेरैले गुनासो गर्नुभयो– तपाईं फर्किनुपर्छ भनेर । जनताले चाहेर मात्र नहुने, बाहिरको शक्ति पनि चाहिने रहेछ,’ उनको प्रस्तुति थियो ।
अतिथि बनेर शोमा पुगेकी अभिनेत्री मिरुना मगरले प्रेमको प्रस्तुतिको प्रशंसा गरिन् । सरल शैलीमा सन्देश पस्किएको भन्दै उनले आफूले ‘इन्जोय’ गरेको बताइन् । ‘एउटा ठाउँमा उभिएर यति धेरै दर्शकलाई हँसाउनु कठिन हो,’ उनले भनिन्, ‘यति मजाले सन्देश दिनुभयो ।’
अभिनेता प्रवीण खतिवडाले पनि उनको प्रशंसा गरे । ‘हामी जुनसुकै कलामा जोडिएपनि राजनीतिक सचेतना महत्वपूर्ण कुरा हो । तपाईंसँग प्रचुर रहेछ । शुभकामना,’ उनले भने ।
प्रेमले भनेको एउटा पन्चलाइन ‘म देशको राजा कि चेसको राजा’ संवादको जज सन्तोष पन्तले तारिफ गरे । ‘आज तिमीले एउटा पात्रमा बसेर एउटा सन्दर्भ व्यक्त गर्यौ । एकदमै मनपर्यो मलाई,’ पन्तले भने ।
जज तथा हास्य कलाकार मनोज गजुरेलले पात्रकै तहबाट विषयवस्तु पस्किएर क्षमता प्रदर्शन गरेको बताए । जज तथा अभिनेत्री ऋचा शर्माले प्रेमको उक्त प्रस्तुतिले शोलाई एक कदम अघि लैजाने बताइन् ।
धादिङका प्रेम डिजिटल अडिसनबाट अन्तिम ३० मा छनोट भएका थिए । यो उत्कृष्ट प्रस्तुतिसँगै उनी आगामी राउण्डमा पनि प्रवेश गरेका छन् । अहिले यो शोमा अन्तिम सातको प्रतिस्पर्धा चलिरहेको छ । यसअघि बाहिरिएका पनि वाइल्ड कार्डबाट फर्किन सक्ने जनाइएको छ ।
प्रतिक्रिया 4