+
+

पाँच दिनमै बढ्यो अन्डाको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १९:५१

२३ वैशाख,काठमाडौं । पाँच दिनअघि भाउ घटेर उपभोक्ताले राहत पाए पनि अन्डाको भाउ बढेको छ । १९ वैशाखमा घटाएको कुखुराको अन्डाको भाउ नेपाल लेयर्स कुखुरापालक संघले बढाएको हो ।

संघ अध्यक्ष विनोद पोखरेलले अहिले बजार बिस्तारै बढेकाले किसानलाई राहत दिन भाउ बढाएको दाबी गरे । ‘अघिल्लो वर्ष योभन्दा धेरै बढी थियो, तर बीचमा लामो समय लागत मूल्यमै बेच्नुपर्‍यो । तर, अब फेरि मार्केट बढ्दा हाम्रो भेलाले तोकेर नै बढाएको हो ।’

संघले अन्डाको नयाँ समर्थन मूल्य १९ वैशाख बिहीबार अनुसार मिडियम साइजको प्रतिक्रेट ३ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ३ सय ७५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३ सय ९५ रुपैयाँ तोकेको थियो ।

२४ वैशाख सोमबारबाट मिडियम अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ५०, ठूलो अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ९५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट १५ बढाएर प्रतिक्रेटको ४ सय १० पुगेको छ ।

हप्तैपिच्छे अन्डाको मूल्य थपघट गर्नुमा किसानको लगानी र बजारको अवस्था हेर्नुपर्ने संघ अध्यक्ष पोखरेल बताउँछन् ।

‘अहिले अन्डाको बजार बढेको छ । माग बढ्दा किसानका लागि थोरै मूल्य बढाउनु ठूलो कुरा होइन’ पोखरेलले अनलाइनखबरसँग भने, ‘यही समयमा पोहोर अहिलेभन्दा धेरै मूल्य थियो । तर, त्यसपछि लगातार घटेकाले फेरि बिस्तारै बढाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?