+

विश्वकपअघि नेपालले ध्यान दिनुपर्ने ७ पक्ष

२०८१ जेठ  १२ गते १६:५४ २०८१ जेठ १२ गते १६:५४
विश्वकपअघि नेपालले ध्यान दिनुपर्ने ७ पक्ष

ह्युस्टन । अमेरिका र वेष्टइण्डिजमा एक सातापछि हुने टी–२० विश्वकप नेपालले १० वर्षपछि खेल्दैछ । तीव्र गतिका बलर सोमपाल कामीबाहेक अन्य सबै खेलाडीले पहिलो पटक टी–२० विश्वकप खेल्नेछन् ।

विश्वकपमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । विश्व क्रिकेटका पावर हाउस देशसँग सिरिज खेल्न, विश्वका चर्चित विदेशी फ्रेन्चाइज लिगहरुमा पुग्न र टेस्ट मान्यता पाउने लक्ष्य हासिल गर्न नेपालले विश्वकपमा शानदार प्रदर्शन गर्नुपर्छ । यस पटकको विश्वकपमा नेपालले कम्तीमा नेदरल्यान्ड्ससहित एक टेस्ट टोलीलाई हराउँदै सुपर–८ खेल्ने लक्ष्य राखेको छ ।

टी–२० क्रिकेटको कुनै पनि भर हुँदैन । एकै ओभर वा बलले पूरा खेल मोड्न सक्छ । तर सुपर–८ मा पुग्न सामान्य प्रदर्शन भने पर्याप्त हुँदैन ।

१. बलिङमा लाइन एण्ड लेन्थ

नेपालका तीव्र गतिका बलरमा विश्वस्तरीय ब्याटरलाई जित्न सक्ने गति छैन । नेपालका प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको नियमित बलिङ गति १३०/१३५ किलोमिटर प्रतिघण्टा छ ।

नेपालबाट सर्वाधिक गतिमा हालसम्म सोमपाल कामीले १४१ किलोमिटर प्रतिघण्टा बलिङ गरेका छन् । प्रतिश जिसी, गुल्शन झा र कमलसिंह ऐरी र अविनाश बोहराको बलमा पनि उल्लेख्य गति छैन ।

तर टेष्ट मान्यता पाएका टोलीहरु नियमित १४० देखि १५५ किलोमिटर प्रतिघण्टाको गतिको बलसँग खेल्ने गर्दछन् । त्यसैले नेपालविरुद्ध सहजै रन बनाउन सक्छन् । नेपाली बलरले बलिङमा भेरिएसन, अनुशासित लाइन एण्ड लेन्थ र योर्करमा ध्यान दिनुपर्छ ।

२. मध्यक्रम र तल्लोक्रमका ब्याटरबाट राम्रो प्रदर्शन आवश्यक

नेपालको १५ खेलाडीमा सागर ढकाल, अभिनाश बोहरा र ललित राजवंशी बाहेक अन्य सबैले राम्रो ब्याटिङ गर्न सक्छन् । तर जित शीर्ष तीन ब्याटरको रनमा बढी निर्भर देखिन्छ ।

सधैं शीर्षक्रम चल्छ भन्ने हुँदैन । शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसकेको दिन मध्यक्रम र तल्लोक्रमका खेलाडीले उक्त जिम्मेवारी लिनुपर्छ । वेष्टइण्डिज ए सँग पहिलो टी–२० खेलमा नेपालले २०५ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्दा नेपालका शीर्षक्रमका ब्याटरले ६७.८५ र बाँकीले ३२.१५ प्रतिशत योगदान दिएका थिए ।

पाँचौं खेलमा वेष्टइण्डिज एलाई ६ विकेटले पराजित गर्दा शीर्ष तीन नेपाली ब्याटरको योगदान ७४.३९ प्रतिशत थियो । दोस्रो खेलमा नेपालले वेष्टइण्डिज ए सँग १६१ रनको लक्ष्य पछ्याउनेक्रममा २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो । शीर्ष तीन ब्याटरले १४.०८ प्रतिशत र अन्यले ८५.९१ प्रतिशत थियो ।

गत वैशाखमा एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित हुँदै एसिया कपको अवसर गुमाएको थियो । नेपालले २० ओभरमा ११९ रन जोड्दा शीर्षक्रमका तीन ब्याटरले औसतमा १३ रन बनाएका थिए । शीर्ष तीन नेपाली ब्याटरको योगदान ११.५० प्रतिशत र बाँकीको ८८.४९ प्रतिशत थियो । यी केही उदाहरण हुन् ।

‘सिनारियो त्यस्तै बनेको छ । कुशल भुर्तेल र रोहित पौडेलले रन बनाएको खेलमा जित निकाल्न सहज भएको छ । मध्यक्रममा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल छन् । कुशल भुर्तेल १० ओभर सम्म टिकेमा खेल जित्ने सिनारियो बन्दै आएको छ’, क्रिकेट विश्लेषक रवि तिमिल्सिनाले भने ।

३. डेथ ओभरमा राम्रो बलिङ

टी–२० फर्म्याटमा नेपालको प्रमुख कमजोरी नै डेथ ओभर (१५–२० ओभर) बलिङ हो । डेथ ओभर स्पेलिष्ट अभिनाश बोहराले वेष्टइण्डिज ए विरुद्ध सिरिजमा योर्करका साथ केही सुधारको संकेत दिएका थिए । त्यसअघि उनको प्रदर्शन खासै सम्झनलायक थिएन ।

यसपटक डेथ ओभरमा उनको विकल्प तयार नहुँदा विश्वकपमा जान पाए । विश्वकपमा अभिनाशले खराब प्रदर्शन गर्दा प्रतिश जिसी विकल्पमा छन् । तर उनले निकै कम खेल खेल्ने अवसर पाएका छन् ।

नेपालसँग दोस्रो डेथ ओभर स्पेलिष्ट बलर भने छैन । नेपालले डेथ ओभरमा दीपेन्द्रसिंह ऐरीलाई प्रयोग गर्दै आएको छ । करण केसीले पनि राम्रो गर्दै आएका छन् ।

दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशमा राम्रो फिनिसर छन् । डेथ ओभरमा कमजोर बलिङले मनोबल र मोमेन्ट्स दुबै गुमाउँछ । डेथ ओभर सम्बन्धि विशेष योजना आवश्यक देखिन्छ ।

४. जिम्मेवारी र सही सट छनोट

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटरको खराब ब्याटिङको मुख्य कारण नै गलत सट छनोट र गैर जिम्मेवारीपन हो । उनीहरु विपक्षी बलर भन्दापनि आफ्नै कारण बढी आउट हुने गरेका छन् ।

ठूलो सट खेल्न खोज्दा सही सट छनोट गर्न नसक्नु, डट बलपछि दबाबमा आएर ब्याट घुमाउनु, क्रिजमा जिम्मेवारी र धैयर्ता देखाउन नसक्नु कमजोरीको रुपमा रहँदै आएका छन् ।

५. पहिला ब्याटिङ गर्दा विशेष ध्यान

ठूला टोलीविरुद्ध पहिला ब्याटिङ गर्दा नेपालको नतिजा त्यति राम्रो छैन । वेष्टइण्डिज ए विरुद्ध नेपालले पाँच खेलको सिरिजमा दुई खेल जितेको थियो । दुबै खेल लक्ष्य पछ्याउँदा थियो ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग र तेस्रो स्थानमा हङकङसँग नेपाल पहिला ब्याटिङ गर्दै हारेको थियो । मार्चमा त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सँग १८४ रन बचाउन सकेको थिएन ।

लक्ष्य पछ्याउँदा एउटा निश्चित लक्ष्य हुन्छ । तर पहिला ब्याटिङ गर्दा विशाल योगफलको सोच हुन्छ । त्यही विशाल योगफलमा पुग्न ठूला सट खेल्ने धुनमा विकेट गएपछि टोली समस्यामा पर्ने गर्दछ । यो कमजोरीमा नेपालले ध्यान दिनुपर्ने हुन्छ ।

‘टस हाम्रो हातमा हुँदैन । लक्ष्य हेरेर खेल्दा हामी जितिराखेका छौं । सुरुमा ब्याटिङ गर्न पर्‍यो भने हाम्रो बलिङ अनुसार २०० रन माथि आवश्यक छ । स्पिनले राम्रो गर्न सके १८० पनि बचाउन सकिन्छ’, विश्लेषक तिमिल्सिना बताउँछन् ।

६. उच्च मनोबल आवश्यक

क्रिकेटमा विपक्षी टोली कस्तो र कस्ता खेलाडी छन् त्यसले फरक पार्दैन । खेल अवधिमा राम्रो बल र ब्याटिङ गर्न सक्नेले नै जित्ने हो । नेदरल्यान्ड्सले २०२२ मा टी–२० र २०२३ मा एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको थियो ।

गत नोभेम्बरमा युगान्डाले टेस्ट टोली जिम्बावेलाई हराएर विश्वकप खेल्दैछ । २०२२ कै विश्वकपमा नामिवियाले श्रीलंकालाई हराएको थियो । साना देशले ठूलालाई स्तब्ध बनाएका विश्व क्रिकेटमा थुपै्र उदाहरण छन् ।

त्यसको लागि खेलाडीको मनोबल उच्च हुनुपर्छ । नेपाल पछिल्लो समय ४० भन्दा बढी अन्तर्राष्ट्रिय खेलका साथ विश्वकप खेल्दैछ । खेलमा कुनै कमी छैन । मनोबलमा कमी नभए नतिजा राम्रो आउन सक्छ ।

७. कन्डिसन अनुसार प्रदर्शन

देश बाहिर कमजोर प्रदर्शन नेपालको सधैंको समस्या हो । त्यसको मुख्य कारण कन्डिसन अनुसार खेल्न नसक्नु हो । तर खेलाडी भएपछि हरेक कन्डिसन तुरुन्दै बुझ्दै त्यसै अनुसार खेल्न सक्नुपर्छ । त्यसले कन्डिसन बुझ्न सजिलो हुनेछ ।

विश्वकप सुरु हुनु भन्दा एक महिनाअघि नै नेपाल अमेरिका र वेष्टइण्डिज आएर अभ्यास गरेको छ । नेपालका कप्तान रोहित पौडेल कन्डिसन बारे भन्छन्, ‘हामीलाई मुख्य त वेष्टइण्डिजको कन्डिसन हेर्नु थियो । किनभने हाम्रो दुई खेल त्यहाँ छ । हामी यहाँको कन्डिसनबारे जानकार भइसक्यौं । विश्वकपलाई एकदमै उत्साहित छौं ।’

क्रिकेट टी-२० विश्वकप
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय