+
+
दिलै खोलेर :

‘लेखक नबनेको भए रेडियो बनाउने मिस्त्री हुन्थें होला ’

कि कपडा पसले हुन्थें कि रेडियो बनाउने मिस्त्री हुन्थें होला । किनभने, बुबाले कपडा पसल खोल्नुभएको थियो । मैले त्यही सम्हाल्थें होला । पछि मेरो दाइले कालिकोटमा रेडियो बनाउने पसल खोल्नुभएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १२ गते २०:२५
तस्वीर साभार : बुद्धिसागरको फेसबुकबाट ।

१२ जेठ, काठमाडौं । ‘कर्नाली ब्लुज’, ‘फिरफिरे’ र ‘एक्लो’ जस्ता उपन्यासपछि बुद्धिसागर अहिले नाटक र फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन् ।

माइकल हटको अनुवादमा उनको उपन्यास ‘कर्नाली ब्लुज’ अंग्रेजी भाषामा आएपछि नेपाल बाहिर पनि चर्चामा छ । उनले साहित्य, सिनेमा, समाज र लेखनबारे अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी :

हिजोआज

१. हिजोआज बढी समय केमा बितिरहेको छ ?

लेखनमै गइरहेको छ । एउटा नाटक र एउटा फिल्मको स्क्रिप्टको काम गर्दैछु । त्यसबाहेक हिंडाइमा पनि समय बितिरहेको छ । दिनमा सरदर १० किलोमिटर जति हिंडिरहेको छु । हिंड्दाखेरि धेरै नयाँ कुरा थाहा पनि पाइँदो रहेछ ।

त्योमध्ये एउटा हो– अहिले काठमाडौंका धेरै ठाउँमा सडक पेटीहरू राम्रो भएछन् । कतै बन्दैछन् । मेरो विचारमा अबको एक वर्षजतिमा काठमाडौं हिंड्नका लागि धेरै राम्रो हुनेछ ।

२. हिजोआजको कुन समाचारले वा घटनाले खुशी हुनुभयो ?

खुशी बनाउने केही छैन । सुनेर रोचक लागेको चाहिं चीनले फेरि धेरै नै स्टोरेज गर्न सकिने सिडी ल्याउन लागेछ । यसले हार्ड ड्राइभदेखि क्लाउडहरूलाई खाइदिने भयो । हामी सिडीमा निकै फिल्म हेरेका मानिस भएर पनि होला, मलाई यो समाचार रमाइलो लाग्यो ।

भूकम्पका बेला सबै मान्छे दार्शनिक भएका थिए । झगडा परेका छिमेकी सँगै चौरमा भात पकाएर खाइरहेका थिए । पैसा के हो र ! आत्मीयता ठूलो हो भन्ने भावना त्यतिबेला थियो । कोरोना र लकडाउनपछि मान्छे फेरि पैसाकेन्द्रित भए जस्तो लाग्छ ।

३. अहिले के कुराले दिक्क बनाइरहेको छ ?

हाम्रो समाज नैतिक पतनतिर गइरहेको देखेर, पैसा भन्ने चिज यति ठूलो भएर आएको देखेर दिक्क लाग्छ । भूकम्पका बेला सबै मान्छे दार्शनिक भएका थिए । झगडा परेका छिमेकी सँगै चौरमा भात पकाएर खाइरहेका थिए ।

काठमाडौंमा चोरी, लुटपाट फैलिन्छ भन्ने डर थियो तर त्यस्तो भएको थिएन । पैसा के हो र ! आत्मीयता ठूलो हो भन्ने भावना त्यतिबेला थियो । तर, कोरोना र लकडाउनपछि मान्छे फेरि पैसाकेन्द्रित भए जस्तो लाग्छ । आर्थिक मन्दीले पनि होला । समाजमा आदर्श नै हराइरहे जस्तो लाग्छ । समाज कस्तो हुनुपर्छ, कस्तो बनाउनुपर्छ भन्ने आदर्शकै पतन भइरहेको हो कि जस्तो लाग्छ । यो साँच्चिकै दिक्कलाग्दो अवस्था हो ।

४. अबका योजना के छन् ?

लेखन सम्बन्धी नै केही छन् । अहिले भट्याउँदै हिंड्ने कुरा भएन । फेरि यसअघि पनि योजना अनुसार खासै केही नभएकाले नभनेकै राम्रो ! भोलिका लागि बनाएको योजना आजै बदलिइरहेको हुन्छ । समयको बहावसँगै बग्नु नै बेस ।

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

मेरो छोरी । छोरीको भविष्य नै महत्वपूर्ण छ ।

६. अचेल तपाईंलाई रोचक लागेको विषय के छ ? के कुरातर्फ रुचि बढिरहेको छ ? कुनै कुराको पढाइ वा कुनै व्यक्तिको काम ?

अहिले भारतीय राजनीतिबारे रुचि बढिरहेको छ– खासगरी चुनावले गर्दा । यो चुनावले धेरै नयाँ कुरा स्थापित गर्छ भन्ने लाग्छ । रोचक लागेको चाहिं टेक्नोलोजीको जनस्तरमा बढेको प्रयोग र सचेतना हो । धार्मिक–साम्प्रदायिक कुराले मान्छेलाई कम प्रभाव पारेको हो कि जस्तो लागेको छ, जुन राम्रो कुरा हो ।

७. अहिलेको नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

राम्रोचाहिं मानवीय चेतना अलि फराकिलो छ । मान्छेमा सचेतता पनि छ । संसारभरि के भइरहेको छ भन्ने हेरेर मूल्यांकन गर्ने खुबी छ ।

मान्छेलाई सजिलै म्यानुुपुलेट गर्न सजिलो छैन । नराम्रोचाहिं देशको स्थिति र मन्दीले पनि होला, मान्छेलाई सबै कुरा तुरुन्तै चाहिएको छ । पहिले पहिले अहिले दुःख गर्‍यो भने पछिलाई हुन्छ भन्ने थियो । त्यो ‘पछि’ चाहिं अहिले नै आए जस्तो लाग्छ । तुरुन्त खोजिहाल्ने र निराश भइहाल्ने प्रवृत्ति नराम्रो लाग्छ ।

८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? आजको पत्रकारिता तपाईंलाई कस्तो लागिरहेको छ ?

पत्रपत्रिका नहेरेको वर्षौं भइसक्यो । समाचारका लागि अनलाइन हेर्छु । समाचार र सूचनाको ठूलो स्रोत सामाजिक सञ्जाल भइरहेको छ ।

समाचारको फर्म्याटमा नलेखिए पनि धेरै सूचना त्यहाँबाट प्रवाहित भइरहेको छ । टेलिभिजन युट्युबमा र पत्रिका सामाजिक सञ्जालमा गइरहे जस्तो लाग्छ ।

हालै रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको झन्डै दुई घण्टाको अन्तर्वार्ता ट्विटर (एक्स)मा आयो । मूलधारका मिडियाले नगरेका, नसकेका कुराको कभरेज सामाजिक सञ्जालले गरिरहेको छ । त्यसैले साफ सुथरा, इटिडेट भन्दा पनि जस्ताको तस्तै खाले समाचारतिर मान्छेको ध्यान तानिइरहेको छ । मूलधारको पत्रकारिताको त नेपाल–भारत सबैतिर बेहालै छ ।

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

सुधार्नै पर्ने भन्ने त केही पनि छैन । फर्केर सुधार्न थालेपछि त एउटा मात्रै सुधारेर पुग्दैन, त्यसले फेरि लहरो तान्दा पहरो घर्किने भने जस्तो हुन्छ । जीवनका धेरै उतारचढाव र गल्तीहरूले नै एउटा मान्छे बन्ने हो । अब गएर फेरि त्यसलाई चलाउनुको अर्थ छैन ।

एउटा लेखक हुनुको फाइदाचाहिं के छ भने जीवनका गल्तीहरू वा यस्तो भइदिएको भए कस्तो हुन्थ्यो होला ? भनेर मनमा आउने कुरा कथा–आख्यानमा लेख्न पाइन्छ । यसकारण पनि वास्तविकतामा पुगेरै सुधार्नुपर्ने आवश्यकता हुँदैन ।

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

हरेक पुस्ता आफ्नो छनक र आभा आफैं लिएर आउँछ । हामीले आउने पुस्ताका लागि सोचेका कुरा उनीहरूका लागि धेरै पुरानो भइसकेको हुन्छ ।

किनभने हामीले हाम्रो हैसियत र बुद्धि अनुसार मात्रै सोचिन्छ । हिजोको पुस्ताले हाम्रा लागि सोचेको कति कुरा हामीलाई मिल्दो भएन नि ! त्यसैले यो रिस्क नलिएकै राम्रो ।

किताब

१. पढ्ने बानी कसरी बस्यो ?

स्कुले जीवनमा म एउटा औसत विद्यार्थी थिएँ । तर, कोर्स बाहिरका कुराहरू, कथा–किस्साहरू सुन्न मन पराउने मान्छे थिएँ । बुढापाकाका गफ सुन्नै जान्थें । त्यसपछि कमिक्स र जासुसी उपन्यासहरू पढ्न थालियो । यसबाटै बानी बस्यो ।

मान्छेलाई सबै कुरा तुरुन्तै चाहिएको छ । पहिले पहिले अहिले दुःख गर्‍यो भने ‘पछि’लाई हुन्छ भन्ने थियो । त्यो ‘पछि’ चाहिं अहिले नै आए जस्तो लाग्छ । तुरुन्त खोजिहाल्ने र निराश भइहाल्ने प्रवृत्ति नराम्रो लाग्छ ।

२. पढ्न मनपर्ने विधा ?

कविता नै हो । कविता कहाँ पाइएला भनेर पसलमा खोज्दै जानेचाहिं गर्दिनँ । अचेल कहीं न कहीं कविताहरू पढ्न पाइहालिन्छ । जुनसुकै भाषामा अभिव्यक्तिको उच्चतम रूप कविता हो । आख्यान र यात्रा निबन्ध पनि पढ्छु । एकदम मजा आउने यात्रा निबन्ध हो । एकदमै सामान्य लेखन छ भने पनि यात्रा निबन्ध म पढ्छु । किनभने, यसमा डिटेल हुन्छ ।

३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?

धेरै छन् । एक समय नेपालमा धेरैले नाम लिएका कारण ‘क्लिसे’ जस्तै भयो तैपनि, गाब्रिएल गार्सिया मार्खेजको उपन्यास ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ सबभन्दा प्रभाव पारेको पुस्तक हो । यो किताब मैले पहिले अंग्रेजीमा पढें, छिचोल्न नसकेपछि हिन्दीमा खोजेर पढें ।

अनि फेरि अंग्रेजीमा पढें । अनि योसँग जोडिएका अरू किताबहरू पढें । यससँग जोडिएको ‘सोलिच्युड एन्ड कम्पनी’ भन्ने किताब पढें । राइटिङ प्रोगाममा जाँदा एउटा स्पेनिस लेखकसँग यसबाट निकै कुरा गरियो । उसले सजिलोसँग बुझ्न भनेर एउटा किताब सिफारिस गर्‍यो । त्यो पनि पढें ।

खासमा यो लेख्न मार्खेजलाई पे्ररित गर्ने यही १२० पेज जतिको किताब रहेछ । म्याजिक रियालिजम त्यसबाट लिएको हो भन्ने छ । पहिला अरूका कुरा सुन्दा यो एकदमै गम्भीर किताब भन्ने लागेको थियो । गम्भीर छ पनि, इतिहास छ । तर, यसको लेखनमा हास्य धेरै छ । नयाँ कुराचाहिं यो अब नेटफ्लिक्समा सिरिजका रूपमा पनि आउँदैछ ।

४. निकै चर्चा भए पनि तपाईंलाई निराश बनाएको पुस्तक ?

पुस्तक भन्दा पनि निराश बनाएका लेखक छन् । म प्रायः नोबेल पुरस्कार घोषणा भएपछि ती लेखकका किताब पढ्छु । त्यो किन पनि भने अहिलेसम्म मैले पढेर मन पराएका लेखकले नोबेल पाएका छैनन् ।

प्याट्रिक मोदियानो भन्ने फ्रेन्च लेखक छन् । तिनले पुरस्कार पाएपछि दुई–तीनोटा किताब ल्याएर पढें । यिनले चाहिं मलाई निराश बनाए । किताब राम्रो भएर म पाठकै खराब भएको पनि हुनसक्छ । तीन–चार चोटि प्रयास गर्दा पनि नसकेपछि नपढ्ने निर्णय गरेर छोडिदिएँ ।

५. पुस्तकहरू ज्ञानको प्रसारका लागि लेखिन्छन् कि ज्ञानमाथि नियन्त्रणका लागि ?

दाबीचाहिं सबैले प्रसारका लागि भन्छन् । तर, कलाका सबै विधामा नियन्त्रण पनि जोडिएको हुन्छ । इतिहासमा यस्ता प्रसंग छन्, जहाँ शासकहरूले आफ्नो कुरा भन्न र अरूका कुरा रोक्नलाई किताब, संगीत, सिनेमालाई प्रयोग गरेका छन् । कलाका सबै विधाको दुरुपयोग गर्ने प्रयास भएको छ, हुन्छ ।

यो नै आधिकारिक ज्ञान हो भनेर गलत कुरा लेखाउने पनि गरिन्छ । तर, साथै एकेडेमिक राइटिङ चाहिं ज्ञान प्रसारकै लागि हुन्छ । फिक्सनचाहिं अलि फरक छ । यसमा चाहिं फरक संसार सृजना गर्ने कुरा हुन्छ । त्यसमा चाहिं लेखकले आफ्ना पात्रहरू मार्फत कुनै समाजलाई कसरी प्रस्तुत गर्छ भन्ने कुराले निर्धारण गर्छ ।

६. नेपालमा के कस्तो विषयमा पुस्तक लेखिनुपर्छ ?

अहिले लेख्नुपर्ने त बच्चाहरूका लागि हो । बाल साहित्यमा धेरै काम गर्नुपर्छ जस्तो लाग्छ । आफू बालक हुँदा एकदमै थोरै पढ्न पाइयो । रमेश विकल लगायतका केही किताब मात्रै मैले पढ्न पाएँ ।

मैले हिन्दीका कमिक्स पढ्न थालेकै नेपालीमा नपाएर हो । पछिल्लो चरणमा छोरीका लागि किताबहरू किन्दा पनि मैले बाल साहित्यमा धेरै काम गर्नुपर्ने देखेको छु ।

१२–३ को शो सकेर बाहिर निस्किंदा त नयाँ फिल्म लागिसकेछ । अनि मैले ३–६ को शो पनि हेरें । एक्लै घर फर्किंदा अँध्यारो भयो । बाटोमा अरू नै अपरिचितको घरमा बास बसें । भोलिपल्ट घर पुग्दा मजाले कुटाइखाइयो ।

७. तपाईंका प्रिय लेखकहरू ?

धेरै छन् । मलाई ती लेखकहरू धेरै मनपर्छन्, जोसँग मेरो जीवनको कुनै क्षण जोडिएको होस् । किताब पढेर मात्रै लेखक प्रिय बन्दैनन् । किताब मन परे पनि लेखक मन नपर्न सक्छन् । मलाई पाउलो कोहेलो मनपर्छ । किनभने, अंग्रेजी साहित्यमा पढेको पहिलो किताब उनकै थियो ।

हारुकी मुराकामी पनि मन पर्छ । उनीहरूले मलाई अंग्रेजीमा लेखिएका कुरा पढ्न प्रेरित गरे । लेखनको हिसाबले चाहिं ओरान पामुक र भिएस नयपाल मन पर्छन् । नेपालीमा मलाई शंकर लामिछाने र लक्ष्मीप्रसाद देवकोटाका निबन्ध मनपर्छन् ।

समकालीन लेखकहरू त सबै राम्रा छन् । समकालमा एउटा लेखकले अर्कोको राम्ररी मूल्यांकन गर्न सक्दैन । हामीले अघिल्लो पुस्ताका लेखकलाई नियत नराखी मूल्यांकन गर्न सक्छौं, अहिलेकालाई सक्दैनौं । जस्तो, कवितामा रिमालले कस्तो लेखेका रहेछन् भन्ने म अहिले बुझ्दैछु । उनले त्यही बेला गजबको प्रोज पोयट्री लेखेका रहेछन् ।

८. लेखक/उपन्यासकार बन्न चाहनेले पढ्नुपर्ने पुस्तक ?

दुई–चारवटा किताब नपढी लेखक बन्न मन लाग्दैन । दुई चार फिल्म नहेरी फिल्म बनाउन मन लाग्दैन । तर, लेखकै बन्न चाहनेले लेखनसँग जोडिएका किताबहरू पढ्दा राम्रो । स्टिफन किंगको ‘अन राइटिङ’ भन्ने किताब छ । ‘लेटर्स टु अ योङ नोभलिस्ट’ भन्ने मारियो भर्गास लोसाको किताब छ । इटालियो क्यालभिनोको ‘ह्वाइ रिड द क्लासिक’ भन्ने छ । यी तीनोटा किताब सिफारिस गर्छु ।

यिनले लेखनका केही द्विविधाहरू हटाएर क्रियटिभ बन्न मद्दत गर्छन् । यसबाहेक संसारभरका राम्रा लेखकहरूका अन्तर्वार्ताहरू पढ्दा र हेर्दा फाइदा हुन्छ । उसले कुनै किताब कसरी लेखिएको थियो, त्यो लेख्दा लेखकको कुन मनोदशा थियो र त्यसबाट कसरी पार पाएछन् भन्ने कुरा बुझ्दा थाहा पाइन्छ । यस्ता कुराले प्रेरित गर्छन् ।

९. एक दिन बिताउन पाए कुन लेखक वा पात्रसँग बिताउनुहुन्थ्यो ?

पछिल्लो समयमा बढी मार्खेज पढे पनि मलाई उनका समकक्षी मारियो भर्गास लोसा पनि मनपर्छ । एउटा ऐतिहासिक घटना के छ भने लोसाले मार्खेजलाई मुक्का हाने । त्यो पनि आँखा मुन्तिर टाटो बस्ने गरी । तर, यस विषयमा यी दुवैले कहीं लेखे–बोलेका छैनन् ।

हरेकले आफ्नो भर्सनमा के भन्छन् भन्ने काल्पनिक कथाहरू बनेका छन् । मार्खेज त बितिगए, एक दिन लोसासँग बिताउन पाएँ भने वाइन–स्वाइन खाएर, माहोल मिलाएर मार्खेजलाई त्यो मुक्काचाहिं किन हानेको भनेर सोध्न मन छ ।

सिनेमा

१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

मैले कैलालीमा सानो भिडियोमा पहिलो पटक फिल्म हेरेको थिएँ । बुवाको मेडिकल पसल थियो, म सानै थिएँ । धेरै हल्ला गर्‍यो भनेर बुबाले मलाई भुलाउनलाई भिडियोमा लैजानुभएको थियो । त्यो फिल्मको एउटा दृश्यले मेरो हंसै उडेको थियो ।

त्यो दृश्यमा हिरो बच्चा बोकेर दुइटा घरका बीचमा टाँगिएको डोरीमा जाँदैछ, सर्पबाट बच्नलाई । तर डोरीको अर्कोतिरबाट सर्प उसैलाई डस्न आइरहेको छ । यो दृश्य मेरो दिमागमा यति गहिरोसँग बस्यो । पछि त्यही दृश्य खोज्दै गएर फिल्मको नाम पत्ता लगाएँ । त्यो ‘नागिन’ भन्ने फिल्म रहेछ । बच्चा बोकेर डोरीमा हिंड्ने हिरो सुनिल दत्त रहेछन् ।

२. कस्ता फिल्म हेर्न मन पर्छ ?

यस्तै भन्ने छैन । मूड अनुसार हुन्छ । मलाई बढी मन पर्ने चाहिं अन्तरिक्षबारे बनेका साइफाइ फिल्म हुन् । त्यस्ता फिल्मले पाँच मिनेटपछि यो धर्तीका दुःखबाट अर्कै संसारमा पुर्‍याउँछन् ।

३. साह्रै मन परेका फिल्म ?

यो लिस्ट त निकै लामो छ । तर, जीवनमा धेरै दोहोर्‍याएको, १३–१४ पटक हेरेको चाहिं उडी एलनको ‘मिड नाइट इन पेरिस’ । यसमा केही लेखकहरूको प्रसंग पनि छ । लेखनसँग जोडिएकाले पनि होला, कहिलेकाहीं लेख्दा दिक्क लाग्यो भने प्रेरणाका लागि पनि म यो फिल्म हेर्छु ।

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

धेरै सुनेर, धेरैको सिफारिसमा हालै हेरेको फिल्म थियो– दक्षिण भारतको ‘जिगरथन्डा डबल एक्स’ । मेरो मूडले गर्दा पनि हो कि कनेक्टै गर्न सकिनँ ।

५. फिल्म हेर्दाको कुनै विशेष स्मृति ?

कति छन्, छन् । मैले किताबमा पनि लेखेको छु– एकफेर स्कुलबाट भागेर कैलाली टीकापुरमा १२–३ को शो हेर्न गएको । तीन बजे फिल्म सकेर ४ बजे अरू साथीहरूसँगै घर पुग्नुपर्ने । १२–३ को शो सकेर बाहिर निस्किंदा त नयाँ फिल्म लागिसकेछ । अनि मैले ३–६ को शो पनि हेरें । एक्लै घर फर्किंदा अँध्यारो भयो । जंगलको बाटो, जाडो महिना थियो, डरले घरै पुग्न सकिनँ ।

मम जत्तिको केही पनि मन पर्दैन । २०५८ सालदेखि नियमित महाबौद्धको पिरो मम खाइरहेको छु । इन्डिया र अमेरिकामा पनि मम खोज्दै हिंडेको छु ।

बाटोमा अरू नै अपरिचितको घरमा बास बसें । भोलिपल्ट घर पुग्दा मजाले कुटाइखाइयो । स्कुलमा जुन साथीलाई किताब राख्न दिएको थिएँ, म नआएपछि उसले डरले हेडसरलाई किताब बुझाइदिएछ । दिउँसो फेरि स्कुलमा पनि कुटाइखाइयो ।

६. मन पर्ने कलाकार वा फिल्ममेकर ?

फिल्ममेकरमा उडी एलन । उनका प्रायः सबै फिल्म हेरेको छु । उनको फिल्मका स्क्रिप्टहरू पनि डाउनलोड गरेर पढेको छु । स–साना कुरालाई बुन्दै लैजाने, म्याजिकल रियालिज्मको टच भएको, सुन्दर संवाद लेख्ने उनको शैली मन पर्छ ।

७. नेपालमा कस्ता फिल्म बनुन् जस्तो लाग्छ ?

कल्चरल र अन्तर्राष्ट्रिय समुदायमा जाने खाले फिल्म पनि बन्नुपर्छ । बाहिर गएर आफ्नो कुरा भन्नलाई फिल्म र संगीत सबभन्दा बलियो विधा हुन् । अर्कोचाहिं प्रयोग पनि हुनुपर्छ । हाम्रो नाटकमा जुन खाले प्रयोग भएको छ, फिल्ममा त्यस रूपमा भएको छैन । ‘हरि’ जस्तो फिल्म पनि बन्नुपर्छ, ‘कालोपोथी’ जस्तो फिल्म पनि बन्नुपर्छ ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठीक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

राम्रो सिनेमाले तपाईं जहाँ हुनुहुन्छ, त्यहाँबाट उफार्छ, कल्पनाको उचाइमा लैजान्छ र फेरि अन्त्यमा यथार्थमा ल्याएर थचार्छ । तर, त्यसले थचार्दा तपाईंको नजरिया बदलिइसकेको हुन्छ ।

त्यस्तो फिल्म जीवनसँग जोडिएका दर्शनहरू सिकाउँछ । ‘२००१ स्पेस ओडिसी’ त्यसको उदाहरण हो । ‘अवतार’मा पनि अर्कै ग्रहको सेटिङ भए पनि कथा त यही समाजको हो नि ! त्यसरी भनेको मजा हुन्छ । सिनेमामा यथार्थभन्दा बढी कुरा हुनैपर्छ । भएका मात्रै भन्दा पनि यस्तो पनि हुनसक्छ भन्ने पनि हुन्छ ।

खाना

१. नियमित खानाको रुटिन कस्तो छ ? खानाको कत्तिको सौखिन हुनुहुन्छ ?

म भातचाहिं एकछाक मात्रै खान्छु, त्यो पनि साँझ । मेरो छोरी र श्रीमती बिहानै स्कुल जान्छन् । उनीहरू उतै खान्छन् । म सातुहरू, यताउता खान्छु । भात खाने बेलुका हो । खानेकुराको सौखिन त हुँ । नयाँ–नयाँ परिकारहरू खान मनपर्छ ।

युट्युबमा पनि फुड भ्लगहरू हेर्छु, खाना पकाएका भिडियो जति पनि हेर्न सक्छु । यसले कहिलेकाहीं आफैंलाई पनि पकाउन प्रेरित गर्छ ।

२. सबभन्दा मनपर्ने खाना ?

मम !

३. खाएको सबभन्दा मिठो परिकार ?

ममै हो । महाबौद्धको पिरो मम । २०५८ सालतिर होला । कलेजमा बेस्सरी भोक लागिरहेको थियो । साथीले मम खाने भन्यो । मसँग पैसा थिएन । एक प्लेटको ३० रुपैयाँ पथ्र्यो । उसँग त्यति नै रहेछ । गएर पाँच पाँच डल्ला खाइयो । त्यो मम यति मन पर्‍यो ! त्यस बेलादेखि आजसम्म त्यहाँ गएर खाइरहेको छु ।

मलाई पहिलेदेखि नै पिरो मन पर्ने । म इन्डिया र अमेरिकामा पनि मम खोज्दै हिंडेको छु । आइवोमा अनुवादको कक्षामा भएकी एक जना अमेरिकी केटीले हामी लेखकलाई खान बोलाइन् । उनको घरमा ‘स्वागतम्’ लेखे जस्तो हातले बुनेको तुलमा ‘मम’ लेखिएको थियो । त्यो देख्नासाथ मलाई त आँतै हरर्र भएर आयो ।

सबभन्दा पहिला उनको किचनमा गएर सुटुक्क हेरें, साँच्चिकै मम पकाउने भाँडो रहेछ । ती नेपाल–भारत आएर मम मन पराएर बनाउन सिकेर गएकी रहिछन् । उनले लोकल अचार बनाएर खुवाइन् । साह्रै मिठो थियो । उनलाई मम यति मनपर्ने रहेछ कि कुकुरको नाम पनि मम राखेकी रहिछन् ।

४. खाएको सबभन्दा नमिठो परिकार ?

सुसी । युट्युबमा हेरेर छोरीले सुसी खाने भनिन् । अनि ठमेलको छायाँ सेन्टरमा खान गइयो । मैले पनि पहिले खाएको थिइनँ । एक पिस खाएपछि उनले नमिठोसँग मुख बिगारिन् र भनिन्– ‘अरू केही खानेकुरा छ, ड्याडी ?’ अनि बाँकी मै खाइदिन्छु भनेर खाएँ, मलाई पनि मन परेन । अर्कोचाहिं खानुपर्ने कुरा भए पनि मैले ठूलो भएपछि आजसम्म १०–१२ ग्लासभन्दा बढी दूध खाएको छैन होला ।

मलाई दूधभात पनि मन पर्दैन । किन हो थाहा छैन । बच्चा हुँदा करेला कत्ति पनि मन पर्थेन, थालै फालेर हिंड्थें । एकफेर सारै भोक लागेको बेला एकजना साथीले दाल, भात र करेला बनाएको रहेछ । त्यो दिनदेखि करेला सारै मन पर्‍यो । चिज पनि पहिले कत्ति मनपर्थेन, अहिले सारै मनपर्छ । एक दिन त बिहान उठ्ने बित्तिकै डेरीमा पुगेर ल्याएर खाएँ । दूधमा चाहिं यस्तो परिवर्तन हुनसकेको छैन ।

५. संसारमा लडाईं खानाका लागि छ कि लड्नका लागि खाना जम्मा गर्नलाई छ ?

लडाईंचाहिं खाएपछि नै हुन्छ होला । खानका लागि पनि लडाईं त हुन्छ तर त्यो एकदमै कम । साहित्यमा पनि कुकुर र मगन्ते खानाका लागि लडे भन्ने खाले त पढिन्छ । खानका लागि मान्छे बलवान् बन्दैन बरु चोर बन्छ जस्तो लाग्छ । पेट भरिएपछि बल्ल लडाईंको बारे सोच्न थाल्छ । भोको मान्छे लड्न सक्दैन । कति भोकाले त चोर्न पनि सक्दैनन् ।

६. तपाईंलाई मिठो पकाउन आउने परिकार ?

म धेरै चिजमा त दाबी गर्दिनँ, खसीको ग्रेभीचाहिं मिठै पकाउँछु जस्तो लाग्छ । तर, मेरो शर्त के छ भने पिरो खाने हुनुपर्छ । पिरो नखानेका लागि चाहिं मैले पकाएको काम छैन । पकाउन कत्ति गर्दा पनि नजानेको चाहिं माछा । धेरै युट्युब हेरेर ट्राइ गरेको काँडा एकातिर, मासु एकातिर डल्लो भयो । अनि माछा पकाउन छोडिदिएँ ।

७. भान्साबाट कुनै समाजबारे कत्तिको थाहा पाउन सकिन्छ ?

भान्साबाट थाहा पाउन सकिन्छ । नेपालभित्र हो भने कुनै किचनमा राखेका सामान हेरेर यो मधेशको मान्छे हो कि, पहाडको हो कि, पूर्व, पश्चिम कताको हो भन्ने थाहा हुन्छ । अझै बाहिर जाने हो भने युरोपको हो कि, एशियन, अफ्रिकन हो भन्ने थाहा हुन्छ । कसैको भान्सामा छिर्दा टिम्मुरको वासना आयो भने मलाई ठिक ठाउँमा आइयो भन्ने लाग्छ । खाना पकाउँदा मान्छेको पोजेटिभ माइन्डले काम गर्छ जस्तो लाग्छ । कहिलेकाहीं पकाउने भएर मलाई त्यस्तो लागेको पनि हुनसक्छ !

एक दिन बिताउन पाए उत्तरकोरियाका शासक किम जोङ उनसँग बिताउँथें । उत्तरकोरियाबारे धेरै कुरा थाहा छैन । त्यहाँभित्र के छ, किमले के सोच्छन्, कसरी शासन चलाइरहेका छन् भन्ने बारे २४ घण्टामा जान्न पाइन्थ्यो । अरूको त देखिएकै छ ।

राजनीति

१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

दाम्लोमा बाँधेको गोरु फनफनी घुमे जस्तो !

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

प्रमुख समस्या त नैतिकता नै हो । नैतिकताको राजनीति छैन । अर्कोचाहिं उदारता पनि छैन । स्वीकारोक्ति पनि छैन ।

३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

बजेट घरबाट ल्याउने त होइन, त्यही काम राम्रोसँग किन गर्दैनन् भन्ने लाग्छ । अलिकति राम्रो काम गर्‍यो भने तीन वर्ष अगाडिदेखि विपक्षीलाई गाली गर्नुपर्दैन नि ! चुनावमा बेसरी खर्च गर्न पनि पर्दैन । भएको बजेट ठीक ठाउँमा लगाउन केले रोक्छ कुन्नि ? मैले सकें भने तिनलाई काम गर्ने बनाइदिन्थें ।

४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ? सबभन्दा कमसल लागेका नेता ?

व्यक्तिगत रूपमा यही भन्ने छैन । सबल र दुर्बल पक्ष सबैका हुन्छन् ।

५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

बडो आनन्दले सुत्थें, दुई–तीन दिन । त्यसपछि राजीनामा दिन्थें ।

६. एक दिन बिताउनुपर्‍यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?

एक दिन बिताउन पाए उत्तरकोरियाका शासक किम जोङ उनसँग बिताउँथे । उत्तरकोरियाबारे मलाई रुचि पनि छ । केही डकुमेन्ट्रीहरू हेरेको छु ।

उत्तरकोरियाबारे धेरै कुरा थाहा छैन । त्यहाँ भित्र के छ, किमले के सोच्छन्, कसरी शासन चलाइरहेका छन् भन्ने बारे २४ घण्टामा जान्न पाइन्थ्यो । अरूको त देखिएकै छ ।

सामाजिक सञ्जाल

१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

मोबाइल मेरो राम्रै चल्छ । म अधिकांश युट्युब भिडियो र पढ्ने कुराहरू यसमै चलाउँछु । ट््िवटर हेर्न छोडिसकें, फेसबुकमा पनि धेरै समय बिताउँदिनँ । सामाजिक सञ्जाल भनेर सबै जोड्ने हो भने दिनभरिको एक घण्टा जति होला ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

फोन त हेर्छु । बिहान कति बजे उठियो भनेर पनि फोन हेर्छु । नेट कनेक्ट भएपछि आएका म्यासेज पनि हेर्छु । तर, दुनियाँमा के–के न बितेछ भनेर खोजिहाल्दिनँ । किनभने, बिहान म सकुशलै उठेको छु भने दुनियाँमा खास केही खतरनाक कुरा भएको छैन भन्ने लाग्छ । डराउनुपर्ने भूकम्प हो, त्यसले हल्लाएरै थाहा दिन्छ । सुनामी हाम्रोमा आउँदैन ।

३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

राम्रो चाहिं इन्फरमेसन । नराम्रो मिस–इन्फरमेसन । जीवनमा कति सूचना चाहिन्छ भन्ने छुट्याउन नसक्दा त्यो नै समस्या हुन जान्छ । मानसिक स्वास्थ्यलाई कति आवश्यक छ भन्ने छुट्याउनुपर्छ जस्तो लाग्छ । धेरैलाई गाह्रो भएको देख्छु ।

४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना फैलाउने र मान्छेलाई भुलाउने काम बढी गरिरहेको छ ?

तराजुमा बराबर छ । कहिले एउटा माथि, कहिले अर्को माथि जाने होला । प्रयोगकर्ताले आफू नै छुट्याउन सक्ने बन्नु आवश्यक हुन्छ ।

ओरिजिनल एक घण्टाको भिडियोबाट तानेको १ मिनेटको क्लिप दिनभरि हेरेर मान्छे बस्छन् । ओरिजिनल कुरा खोजेर हेर्दैनन् । जुन मिस इन्फरमेसन फैलिएको हुन्छ, त्यसको सही सूचना पनि इन्टरनेटमै हुन्छ तर मान्छेले खोजेर हेर्दैनन् । एक दुइटा पोस्ट हेरेकै भरमा कुनै पनि कुरा पत्याइहाल्नु हुँदैन । उपभोक्ताका रूपमा भेरिफाई गर्नुपर्छ ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

समाचारलाई प्रभाव पार्दैन । त्यसको फर्म्याटलाई फरक पार्ने हो । पत्रिकाको सट्टा अनलाइन हेरे पनि समाचार त हेरिरहेको छ । किताब पनि त्यस्तै हो । मेरो सम्पर्कमा आएका मान्छेहरू त सञ्जालले किताब पढ्न प्रेरणा दिएको नै बताउँछन् ।

सञ्जालले लामो चिज नपढ्ने बनाइरहेको छ भन्ने पनि मलाई लाग्दैन । रुचिकर लागेका कुरा पढ्छन् । पछिल्लो समयमा युवाहरूले धेरै पढेको ‘अ लिटल लाइफ’ किताब हजार पृष्ठ जतिको छ । त्यसैले विस्थापित गर्छ जस्तो लाग्दैन ।

पेशा/व्यवसाय

१. लेखक हुनुको कामको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

राम्रोचाहिं म यो समयको साक्षी थिएँ भन्ने हिसाबले आफूलाई व्यक्त गर्न पाउनुहुन्छ । लेखनमा क्वालिटी छ भने एकपटक लेखेको कुरा, गरेको श्रम लामो समयसम्म कम्युनिकेट भइरहन्छ । आनन्द आउँछ ।

नराम्रो भन्दा पनि अलिकति खतराचाहिं लेखक वा कुनै पनि सर्जक त्यतिबेला मात्र अभिव्यक्त हुन्छ, जतिबेला उसले अरूभन्दा बढी सोच्छ । बढी सोच्ने मान्छे चाँडै फ्रस्टेड हुने सम्भावना हुन्छ । यिनको तह सँगसँगै हुन्छ । त्यसलाई सन्तुलन गर्न सकेन भने अर्को खतरा पैदा हुन्छ ।

२. कुन समयमा तपाईंलाई लेखक बन्छु भन्ने लाग्यो ?

साहित्य र लेखनमा पहिलेदेखि नै रुचि थियो । स्कुल पढ्दा रेडियोमा कविताहरू पठाउँदा नै यो मजा लाग्ने कुरा हो भन्ने लाग्थ्यो । तर, यही नै पेशा हुन्छ भन्ने त थिएन । पत्रिकामा लेख्न थालेर ‘कर्नाली ब्लुज’ले पाठकको माया पाएपछि चाहिं यही काम गर्ने भन्ने भयो ।

३. लेखक नबनेको भए के बन्नुहुन्थ्यो होला ?

कि कपडा पसले हुन्थें कि रेडियो बनाउने मिस्त्री हुन्थें होला । किनभने, बुबाले कपडा पसल खोल्नुभएको थियो । मैले त्यही सम्हाल्थें होला । पछि मेरो दाइले कालिकोटमा रेडियो बनाउने पसल खोल्नुभाथ्यो । मलाई रेडियो बनाउने काम खुब रमाइलो लागेको थियो । मैले बनाउन सिकेको पनि थिएँ । त्यही काम गर्थें होला ।

४. तपाईंको कोही रोलमोडल छ ?

मेरो रोलमोडल भनेको पाउलो कोहेलो र हारुकी मुराकामी । यी दुवै मेरो आदर्श हुनुको कारण के हो भने यी दुवै अंग्रेजीमा लेख्दैनन् । एउटाले पोर्चुगिजमा र अर्काले जापानिजमा लेख्छन् । तर, अनुवादले संसारभर फैलिएका छन् ।

यिनको जीवन र कुरा सुन्दा मलाई एकदमै प्रेरणा हुन्छ । इन्टरनेटमा जहाँ पनि देखिने पाउलो, दुनियाँमा कहीं नदेखिने मुराकामी । लेखकलाई दुवै शैली हुँदोरहेछ भनेर म यिनको जीवनशैली पनि हेर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?